काबिल सम्वाददाता
वीरगन्ज
हतारका साहित्यकार भनी उपमा पाउने पत्रकारहरुको जमघट हुने थलो नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा पुस्तकालय खुलेको छ । सामाजिक कार्यमा सकृय महिलाहरुको संस्था लेडिज सर्कल वीरगन्जको सहयोगमा पर्सेली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको कार्यालयमा पनि पुस्तकालय खुलेको हो ।
पर्सेली पत्रकारहरुलाई बद्लिदो परिवेशमा अध्ययनशिल बनी स्तरीय लेख रचनामा सहयोग पुगोस् भन्ने लक्ष्य सहित सामाजिक कार्य गर्दै आएको लेडिज सर्कल वीरगन्जले साथ दिएको सर्कलकी पूर्व अध्यक्ष बिप्रा क्यालले बताइन् । आगामी दिनमा संचारसँग सम्बन्धित पुस्तकहरु पनि उपलब्ध गराई थप सहयोग गरिने लेडिज सर्कल वीरगन्जकी अध्यक्ष प्रिती खेतानको भनाइ छ ।
पुस्तकालयमा पढ्न जाने युवा, तन्नेरी र प्रौढको संख्या घटेको कारण ९ वटा पुस्ताकालयसम्म पुगेको वीरगन्जमा पछिल्लो समय नाम चलेका पुस्तकालय प्रायः सबै बन्द छन् । केही नीजि कलेज र स्कूलहरुमा नामका लागि खुलेका पुस्तकालय वाहेक सार्वजनिक रुपमा पढ्न मिल्ने गरी खुलेका प्रायः सबै पुस्तकालय बन्द छन् । आर्थिक नगरी भनी चित्रित गरिने वीरगन्जमा शिक्षा आर्जनका लागि पुस्तकालय नै नभएका भने होइनन् । तर बढ्दो प्रविधि र व्यक्तिमा पनि किताब पढ्ने बानीको ह्राससँगै पछिल्ला वर्ष वीरगन्जका पुस्तकालय अस्तित्वमा नरहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले पनि स्वीकारे । वीरगन्जको माईस्थान पुस्तकालय, अलख पुस्तकालय, वीरगन्ज उद्योग बाणिज्य संघको पुस्तकालय, वीरगन्ज महानगरपालिकाको पुस्तकालय, विजामद्वारा संचालित पुस्तकालय र ठाकुर राम बहुमुखी क्याम्पसको पुस्तकालय जस्ता ८–९ वटा सर्वसाधारणको उपस्थितिमा अध्ययन गर्न मिल्ने पुस्तकालय मध्ये अहिले प्रायः सबै इतिहास बनेका छन् ।
निकै चर्चित पुस्तकालयका रुपमा रहेको वीरगन्ज उद्योग बाणिज्य संघले संचालन गरेको सार्वजनिक पुस्तकालय समेत सात–आठ बर्ष यता बन्द भएको संघका अध्यक्ष अग्रवालले बताए । प्रविधिको बढ्दो क्रेज र किताब पढ्ने व्यक्तिको गिर्दो अवस्थाले संघले संचालन गरेको पुस्तकालय बन्द गरिएको अग्रजहरुको भनाई उदृत गर्दै उनले खुलासा गरे ।
वीरगन्ज महानगरपालिकाले संचालन गरेको महानगरको पुस्तकालय वाहेक अहिले अरु यहाँका पुस्तकालय अस्तित्वमा नरहेको वीरगन्ज १० का वडासचिव पवन प्रधानले बताए । आफू वडा सचिवका रुपमा आएपछि आफ्नै वडामा रहेको पुस्तकालयलाई अझ व्यवस्थित गर्ने प्रयास गरिएको उनको भनाइ छ । पहिले १०–५ मात्र खुल्ने पुस्तकालय अहिले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म खुल्ला गर्न थालिएको वडासचिव प्रधानले बताए । चीसोका कारण केही पाठक खटे पनि यो पुस्तकालयमा पाठकहरु अझै राम्रै तरिकाले आउने गरेको उनको तर्क छ । यो बाहेक शैक्षिक संस्थाहरुमा रहेका वाहेक सर्वसाधारणका लागि पहुँच हुने गरी अन्य पुस्तकालय भने अहिले यहाँ अस्तित्वमा नरहेको भेटिएको छ ।
यता पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा खुलेको पुस्तकालयमा भने ई–लाइव्ररी समेतको व्यवस्था गरी समय सापेक्ष पुस्तकहरु राख्न सक्नु पर्ने वीरगन्जका विद्वानहरुको सुझाव छ । पुुस्तकालय खुल्नु भन्दा पनि दीर्घकालसम्म संचालन गर्न सक्नु चाही वर्तमानका लागि चुनौती हो उनीहरुले भने ।