काबिल सम्वाददाता
वीरगन्ज
पर्साका अग्रज पत्रकार तथा वीरगन्जका तत्कालिन नगरप्रमुख स्व.गोपाल गिरीको स्मृतिमा स्थापित कृयाशिल पत्रकारिता पुरस्कारबाट यो बर्ष वृजलाल पासवान सम्मानित भएका छन् । स्व.गिरीको स्मृतिमा स्थापित क्रियाशिल पत्रकारिता पुरस्कारबाट यो बर्ष सहारा दैनिकका कार्यकारी सम्पादक पासवान सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले २० वर्ष अगाडी स्व.गिरीको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी यस वर्षबाट ५० हजारको बनाइएको छ । यो राशी सहति पासवान सोमबार सम्मानित भएका छन् । २०६० साल माघ १ गते तत्कालिन माओवादीले हिउँदको बाक्लो हुस्से लागेको समयमा वीरगन्जकै सुनसान बाईपास सडकखण्डमा केन्द्रियस्तरका नेता भेट्न जाउँ भनी बोलाएर लगी गोली हानी हत्या गरेको थियो । पत्रकारितामा राम्रो दख्खल राखेका स्व.गिरी पछिल्लो समयमा वीरगन्ज उपमहानगरपालिका प्रमुख थिए । माओवादीले ५ लाख चन्दा माग गर्दा नदिएको भनी केन्द्रका नेता भेट्न जाउँ भनी बहाना बनाएर सुनसान ठाउँमा लगी निधारमा गोली हानी हत्या गरेको वास्तविकता पछि सतहमा आयो ।
उनैको सम्झनामा २० बर्ष अगाडीबाट नेपाल पत्रकार महासंघ पर्सा शाखाले नगद राशी सहित क्रियाशिल पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । बीचमा केही बर्ष स्थगित भई पुन वितरण सुरु भएको पुरस्कार वितरण कार्यक्रमलाई वर्तमान महासंघ पर्सा शाखाले माघ १ गते कै दिन पारेर पुरस्कार वितरण गर्दै आएको छ ।
घटना भएको समयमा पत्रकारितामा नरहे पनि महासंघ पर्सा शाखाले बुबाको योगदान मूल्याँकन गरी हरेक वर्ष उहाँलाई सम्झने कार्यक्रम गरिरहेकोमा स्व. गिरीका सुपुत्र तथा पत्रकार गिरिश गिरीले धन्यवाद दिए । सो समयमा जुन क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो, सो संस्थाबाट भने अझै उहाँलाई सम्झने कुनै काम नभएकोमा भने उनले दुःख व्यक्त गरे । हत्यामा संलग्न मध्ये केहीलाई राज्यले समेत वास्ता नगरेकोमा अझै पीडित रहेको परिवारजनको गुनासो छ ।
पुरस्कार वितरण कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया लगायतले पासवानलाई नगद ५० हजार राशी सहित सम्मान गरे । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले राजनीतिक बाहेक पत्रकारिता क्षेत्रमा स्वर्गीय गोपाल गिरीको उच्च योगदान रहेको चर्चा गरे । स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष रहेका थिए ।
पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, पर्सा महासंघका पुर्व अध्यक्ष अशोक तिवारी, स्व. गिरीका सुपुत्र गिरिश गिरी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्सा अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतले पुराना पत्रकार स्व.गिरीको योगदानको बारेमा बताए । शालिन स्वभाव र पत्रकारिताको आचरणमा अब्बल मानिने स्व.गिरीको स्मृतिमा ओयोजित कार्यक्रममा पर्सा प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायत यहाँका वरिष्ठ पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो पुरस्कारबाट यसअघि वीरगन्जका पत्रकारहरु शत्रुघन नेपाल, गया यादव, महेशचन्द्र गौतम, कन्हैयालाल केसरी, केसी लामिछाने, ओमप्रकाश खनाल, महेश दास, श्याम बन्जारा, शीतल महतो, तुलसी भण्डारी, प्रताप श्रेष्ठ र ध्रुव साह लगायत सम्मानित भइसकेका छन् ।