काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले मधेश झरेर दुर्गा प्रसाईले गरेको आन्दोलनलाई खुलेर समर्थन गरेका छन् । शुक्रबार वीरगन्जबाट प्रसाईंको नाम नलिई उनले खुलेर उनको आन्दोलन प्रति समर्थन गरेका हुन् ।
‘जहाँ जस्ले जनताका मुद्दाका सवाल उठाइएका छन् ती आवाज दविनु हुन्न’ । ‘हामी चाहन्छौं जनताका मुद्दा उठाउने जो कोहीलाई दवाइनु गलत हो’ उनले भने । लामिछानेले दुर्गा प्रसाईंको आन्दोलन प्रति ईंगित गर्दै सरकारले गरेको निषेधपूर्ण व्यवहारको विरोध गरे । तीन दिने मधेस यात्रामा झरेका अध्यक्ष लामिछाने सहित सांसद मनिष झा पर्सामा देखा परे । पहिलो दिन बारा र पर्सामा लामिछानेले कार्यकर्ता र सहयोगीहरुसँग भेटघाट गर्दै रास्वपाका नेता कार्यकर्ता र समर्थकलाई सम्बोधन गरे । संबोधनका क्रममा नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस झरेको उनको भनाइ छ । प्रदेश संरचना नमान्ने भन्दै निर्वाचनमा प्रदेश सभा सदस्यका उमेद्वार समेत नउठाएका रास्वपाका अध्यक्ष लामिछानेले मधेस प्रदेशका एक से एक सक्षम युवा लिएर अबचाही अगाडि बढ्ने दावी गरे ।
दरिलो खुट्टा टेक्न मधेश झरें ः अध्यक्ष लामिछाने
‘रास्वपाले मधेश प्रति चासो देखाउँदैन, असहिष्णु छ’ भन्ने आरोपको खण्डन गर्दै उनले आफू बोलेर नभई मधेशको पक्षमा काम गरेर देखाउने जिकिर गरे । मधेशलाई चिल्ला गाडी चढ्ने नेता उत्पादन गर्ने कारखाना बनाउनेभन्दा कृषि औजार कारखाना जस्ता उद्योग चलाउने दक्ष युवा शक्ति उत्पादनमा रास्वपाले जोड दिने उनले तर्क गरे । टेलिभिजनका कार्यक्रम चलाउँदा पनि मधेशलाई नै बढि प्राथमिकता दिने गरेको विगत कोट्याउँदै उनले राजनीतिमा दरिलो खुट्टा टेक्न मधेश झरेको दलिल पेश गरे ।
स्थापित पुराना राजनीतिक दलहरुले यति धेरै भ्रष्टाचार गरेर देशलाई धुजाधुजा बनाएका रहेछन् कि त्यसलाई ट्रयाकमा ल्याउन रास्वपाको उदय भएको अध्यक्ष लामिछानेको दावी छ । पुरानो विरासतलाई हल्लाइदिन्छौं भन्ने विश्वासका साथ आएको स्वतन्त्र पार्टीको बहुमत आए जहाँ ज–जस्ले भ्रष्टाचार गरी सम्पति लुकाएको छ, त्यो विश्वको कुनै कुनामा भए पनि खोजी ल्याएरै छाड्ने उनको थप दावी छ ।
मधेशी जनताले अरु पार्टीलाई मत दिने छुट छैन
मधेशका जनताले झुक्याएर फुट्दै टुट्दै जानेलाई रोज्ने कि अब परिस्थितिले जन्माएको पार्टी, जनताको निभेको चुलो बाल्ने उद्देश्यका साथ उदाएको पार्टीलाई जिताउने ? मधेशी जनताको पालो आएको छ भन्दै मधेशी जनतालाई पनि अरु पार्टी रोज्ने छुट नभएको अध्यक्ष लामिछानेको तर्क छ । बच्चाले पढ्न नपाएको, अस्पतालमा औषधी र उपचार नपाएको, ढुंगा–गिटीमा नमिलेको हिसाब मिलाउने लगायत अनेक विकृतिको हिसाब अब रास्वपाले मिलाउने पनि उनको निरन्तर दावी छ । मधेशमा पार्टीको जरा गाड्न विविध दावी गर्दै अध्यक्ष लामिछानेले ‘अब मधेशमा घण्टी बज्यो’ भन्न भ्याए ।
सदनमा जति रास्वपाका योग्य युवाहरु देखिएका छन्, त्यो भन्दा एक से एक योग्य युवा मधेशमा छन् उनीहरुलाई पनि साथमा लिएर अब रास्वपा हिड्छ अध्यक्ष लामिछानेको आश्वासन छ । रास्वपाका अध्यक्ष लामिछानेको दोस्रो दिन (शनिबार) को कार्यक्रम रौतहट र सर्लाही थियो । रास्वपाले तेस्रो दिन सिराहा, सप्तरी र महोत्तरीमा सभा गर्ने रास्वपाका नेता तथा सांसद मनिष झाले बताए । मधेस यात्राका क्रममा मधेस प्रदेशकै राजधानी जनकपुर तथा धनुषा जिल्लामा भने मंसिर १४ गते बिहान धनुषामा रास्वपाको प्रदेश कार्यालय उद्घाटनको मात्र कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
रास्वपाका अध्यक्षले मधेस यात्रापछि महोत्तरीको जलेश्वरमा मंसिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने कार्यक्रम तय गरेको स्थानीय नेताहरुले बताए । सो बैठकमा पार्टीको महाधिवेशन विधि सम्बन्धी थप छलफल हुने पनि खुलेको छ । रास्वपाको मधेश प्रदेशमा लक्षित कार्यक्रम भने पहिलो हो ।