विश्वजित भण्डारी
वीरगन्ज
‘मिसन २०८४’ को लक्ष्य लिएर हिडेको नेकपा एमालेको ध्यान जनघनत्वको चाप रहेको मधेश तर्फ सोझिएको छ । राजनीतिक स्थायित्व विना मुलुकमा अवाञ्छित गतिविधि बढिरहेको समयमा एमालेको ध्यान भने मधेशतर्फ सोझिएको हो ।
दीर्घकालिन लक्ष्य सहितको नीति बोकेर हिडेको राष्ट्रिय पार्टीले मुलुक हाक्न नपाएपछि एमाले आगामी २०८४ सालको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्ना गतिविधि भूँईंतहसम्म पु¥याइरहेको छ । त्यसका लागि अन्य पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउनेदेखि निष्कृय नेता कार्यकर्तालाई पनि परिभाषित काममा खटाउँदैछ एमाले अगाडी बढिरहेको छ । त्यसैको ताजा उदाहरण हो एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् १८ दिनको अन्तरालमा पुनः पर्सा आउने कार्यक्रम पनि । उनी आगामी मंसिर ५ गते पर्सामा बृहत पार्टी प्रवेश र बृहत आमसभालाई सम्बोधन गर्न आउने पक्का भइसकेको एमालेले जनाएको छ । यो कुरा एमाले पर्साका इन्चार्ज तथा पार्टीका पोलिटव्यूरो सदस्य अच्युत मैनाली सहितका जिम्मेवार नेताहरुले शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरी आधिकारिक रुपमा पुष्टि गरे ।
पत्रकार सम्मेलनमा एमाले पोलिटव्यूरो सदस्य सुमन प्याकुरेल, केन्द्रिय सदस्य तथा सांसद प्रभु हजारा, मधेश प्रदेश सदस्य शम्भु गुप्ता, पर्सा संयोजक डा.विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको छ । जिम्मेवार उक्त नेताहरु उपस्थित कार्यक्रममा आगामी मंसिर ५ गते पर्साको पोखरियामा हुने बृहत पार्टी प्रवेश र बृहत आमसभामा पार्टी अध्यक्ष ओली नै सहभागी हुने उनीहरुले बताए । अध्यक्ष ओलीले यहाँ वृहत पार्टी प्रवेश गराई बिशाल आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पर्सा इन्चार्ज तथा पोलिटव्यूरो सदस्य अच्युत मैनालीले पर्सेली संचारकर्मी सामु बताए ।
नेपालकै चर्चित पूर्व ठेकदार रौनियार एमाले छिर्ने
एमाले पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व सांसद तथा कालो सूचिमा दर्ज भई दण्डित भएका नेपालकै चर्चित पूर्व ठेकदार हरिनारायण रौनियार लगायत अन्य पार्टीका पनि नेता कार्यकर्ता लाइनमा रहेको एमाले नेताहरुले जनाएको छ ।
पर्साको पोखरियामा कुल २५ हजार जति नेता कार्यकर्ता र सर्वसाधारण सहभागी कार्यक्रममा करिब २ हजार जति मानिसलाई पार्टी प्रवेश गराइने एमालेका नेताहरुको दावी छ । राष्ट्रियस्तरका अन्य दलका पनि नेता कार्यकर्ता प्रवेश गराइने एमाले पर्साका नेताहरुले बताए । पूर्व सांसद रौनियार वाहेक अरुको भने नाम उनीहरुले गोप्य नै राखे ।
१८ दिन पछि एमाले अध्यक्ष पर्सा आउँदै
मधेश केन्द्रित गतिविधि बढाइरहेको एमालेका अध्यक्ष केपी शर्मा ओली गएको कार्तिक १८ गते पनि पर्साको वीरगन्जमा भएको कार्यक्रममा सहभागी भएर फर्किएका थिए । सो दिन एमालेका मधेशस्थित नेता कार्यकर्तालाई पार्टीको परिभाषित काम बाहेक बाहिर गएर हिरो नपल्टिन भन्दै उनले कडा निर्देशन दिएका थिए । यसको १८ दिन नवित्दै पुनः पर्सामा नै पुगी ठूलो संख्यामा अरु दलका नेता कार्यकर्ता पार्टी प्रवेश गराई वृहत आमसभालाई उनले संबोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टी नीति विपरित जनताका काम वाहेक गफ र आफैं ठालु पल्टिने नेता कार्यकर्ता तर्फ संकेत गर्दै उनले गएको कार्तिक १८ गते मधेशका नेता कार्यकर्तालाई जनहितमा काम गर्न निर्देशन दिएका थिए । पोखरिया बजारमा रहेको विद्यालय परिषरमा हुने कार्यक्रममा अध्यक्ष ओलीले फेरि के भन्छन् ? सो थाहा पाउन अझ ४ दिन कुर्नै पर्ने भएको छ ।
राष्ट्रियता र जनजिबीकाका पक्षमा एमाले वाहेक अरु कुनै पार्टीले राम्रो काम गर्न नसक्ने निष्कर्ष एमालेको छ । त्यसैले आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमतको सरकार बन्ने गरी हरेक वडामा ५१ प्रतिशत मत ल्याउने गरी खट्न एमालेले पार्टीका सबै नेता कार्यकर्तालार्ई सुझाव पनि दिदै आएको छ । सो अभियानमा जाँदा एमालेले विगतमा गरेको विकास तथा समृद्धिका एजेण्डा र राष्ट्रियताको मुद्दालाई केन्द्रविन्दुमा राखेर अगाडी बढ्न एमालेले संकेत नै गरेको छ । एमालेको सुदृढ छविबाट अतालिएकाहरुले नेपाली जनतालाई विभिन्न कोणबाट भ्रम छर्न सक्ने कुरालाई मध्यनजर गर्दै जनताको हितमा काम गर्न एमालेले आफ्ना नेता कार्यकर्तालाई सजग पनि गराएको छ ।