spot_img

अझ झाँगिदै छठ ‘पर्व’ को रौनकता

काबिल सम्वाददाता

वीरगन्ज

षष्ठीको दिन विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्व खासमा त्यसको तीन दिन अगाडीदेखि नै निष्ठापूर्वक मनाउने चलन छ । पर्व मनाउनुभन्दा पनि केही दिन अगाडीदेखि नै गाउँ घरमा छठ पर्वका गीत गुन्जिदै छन् । ती गीतले सूर्यषष्टी अर्थात् छठपर्व प्रारम्भ भएको संकेत गरिरहेको हो ।
छठको पहिलो दिन बर्तालुहरु नहायखाय गरी छठपर्व सु–भारम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरी राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठो पानीमा मिलाई भूईं शुद्ध बनाई बर्तालु उपवास बस्ने गरेका छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर–रोटी बनाई त्यो केराको पातमा राखेर छठिमातालाई प्रसाद चढाउने चलन छ । अनि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गरिएको पाइन्छ । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने र अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई ब्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व समाप्त हुन्छ । यो बर्ष आगामी मंसिर ३ गते सँझिया घाट परेको धार्मिक ज्ञाताहरुले बताएको छन् । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा गर्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्व मध्य तराईको महान् पर्वका रुपमा स्थापित छ ।
पौराणिकताको जग
पौराणिक कालदेखि सुरुवात भएको छठ पर्व धार्मिक ग्रन्थ महापुराणका पाँच पाण्डवकी पत्नी दौपतीले सुरुवात गरेको पाइन्छ । कलियुगसम्म आइपुग्दा पनि छठ पर्वको रौनकता अझ झाँगिदै आएको छ । पाँच पाण्डव वनवास गएपछि साथमा गएकी उनीहरुकी एकल पत्नी द्रौपतीले समेत अनेक कष्ट, दुःख सहनु परेपछि त्यो दुःख, कष्टबाट पार पाउन उनले विधिपूर्वक गरेको भेटिएको हो । राज्यको रजगजमा फर्कने उपाय खोज्दै उनले विद्वान ऋषिलाई कुनै व्रत विधि बताउन आग्रह गरेपछि ऋषिले सुनाएको व्रत विधि अनुसार उनले ब्रत गरेपछि सबै दुःख नाश भएको कुरा ग्रन्थमा उल्लेख छ । द्रौपतीका जिज्ञासा समाधान गर्ने सुझाव दिने धोम्य ऋषिले बताएको व्रत विधि कलियुगसम्म आइपुग्दा झन महत्व बढेको धर्मका ज्ञाता नरेन्द्र तिवारीले विस्तारमा बताए ।
सत्य युगमा सर्याति नामक राजाका एक हजार रानी बीच एकल सुकन्याले एक दिन पूजा गर्न फूल लिनको लागि जंगलमा जाँदा नजिकको वनमा चमन मुनिको शरिरमा माटोको धुलो लागेको मध्य भागमा आँखा चम्किरहेको देखेपछि उनले आँखाको चमक देखेर डराइ मुनिको आँखा फुटाई दिंदाको कारण पनि भेटिएको छ । तत्पश्चात चमन मुनिको आँखाबाट रगतको धारा बग्न थालेपछि उनै ऋषिको पीडाको कारण देशको राजा, सिपाही, मन्त्रीहरु सबैको दिसा–पिसाब नै बन्द भएको । अनि राजाले व्याकुल भएर देशमा यस्तो समस्या उत्पन्न हुनुको कारण पण्डितलाई सोधेको । राजालाई भार्गववंशी चमन ऋषी यसै त्यसै वनमा तपस्या गरिरहेको पण्डितले बताएको पनि ग्रन्थमा वर्णित छ । उनै ऋषिको क्रोधले नै समस्या उत्पन्न भएको उनले सुध्याएछन् ।
कन्याबाट अन्जान भएको कुरा सर्याति राजाले नेत्रहिन ऋषिलाई भेटी हे प्रभु यो अपराध हुन गएको रहेछ भनी छोरी सुकन्याको कन्यादान उनै चमन ऋषिलाई नै दिएछन् । कन्या पाएर ऋषि प्रशन्न भए र क्रोध पनि शान्त गरेछन् । एक दिन सुकन्या नदीमा नुहाउन गइछन् । श्री काश्यप महाराजको यज्ञ मण्डपमा नागकन्याहरुले भगवान सूर्यको पूजा गर्दै गरेको देखिछन् । जगतको पालन पोषण गर्ने त्रिगुण रुपा, त्रिगुण प्रमात्मा ब्रम्हा, विष्णु, महेश्वर रुप सूर्य नारायणको नमस्कार छ । यो व्रत गर्नेलाई सूर्य नारायणले महाकष्ट हटाई मनले चिताएको फल दिनु हुनेछ भन्ने उनले पनि सुनिछन् । नागकन्याको कुरा सुनेर सुकन्याले छठ पर्वको व्रत सुरु गरेको ग्रन्थमा उल्लेख भएको ग्रन्थका जानकारहरुको तर्क छ । त्यो व्रतको प्रभावले उनका पति चमन ऋषिको आँखा पनि पुनः पहिलाको जस्तै राम्रो भएको र चमन ऋषिको शरिर पनि स्वस्थ र पुष्ट भएको पनि ग्रन्थमा उल्लेख भएको उनीहरुको भनाइ छ ।
धोम्य ऋषिबाट उत्तम व्रतको विधि सुनेर द्रौपती र सुकन्याले पनि छठ पर्वको व्रत गरेको र त्यही व्रतको प्रभावले सोही समयदेखि जुन स्त्रीले छठ पर्वको व्रत विधिवत रुपमा गर्छिन्, त्यसको सम्पूर्ण पाप नाश भई द्रौपती र सुकन्याको जस्तै सुख शान्ति र समृद्धि पाउने र सम्पूर्ण दुःख, कष्ट नाश हुने धार्मिक मान्यताले कलियुगसम्म झन झाँगिएको धार्मिक ग्रन्थका ज्ञाताहरुको वुझाई छ ।
छठपर्वमा कृषिजन्य उत्पादनको मौलिक प्रयोग
सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास सहित गरिने यो पर्व ब्रम्हाण्डमा सूर्य दक्षिणायणतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावकारी र मानव हितका लागि महत्वपूर्ण हुने भएको पनि वैज्ञानिक आधार छ । छठपर्वको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाइ, अदुवा, उखुलगायतका खाद्यान्नलाई मानिन्छ । यो समयमा प्रयोग हुने सामग्री अर्थात बासबाट बनेका अन्य सामग्रीको प्रयोग पनि निकै हुने भएकोले छठ पर्वका समयमा यसको किनमेल ह्वात्तै बढ्ने गरेको छ । छठ पर्वमा नदी तलाउमा अघ्र्य दिन ब्रतालु दर्शनार्थी पुग्ने भएकोले मानिसको बढि भीड हुने ठाउँमा सुरक्षा व्यवस्था समेत कडा पारिन्छ । पवित्रताको पर्वका रुपमा मनाइने भएकोले यो पर्वको चार दिनसम्म ब्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने चलन छ ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●