तुलसी भण्डारी
वीरगन्ज
‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को उपाधी नेपाल प्रहरी क्लवले उचालेको छ । वीरगन्जमा शनिबार भएको फाइनल खेलमा नेपाल प्रहरीले त्रिभुवन आर्मी क्वललाई हराउँदै उपाधी उचालेको हो ।
प्रथम वीरगन्ज गोल्डकप २०८० को उपाधी उचालेसँगै नेपाल प्रहरी क्लवले मधेश प्रदेशको सबैभन्दा ठूलो धनराशी ११ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी आफ्नो पोल्टामा पार्न सफल भएको छ । उपाधीको अर्को दावेदार त्रिभुवन आरमी क्लवले भने उप–विजेतामा नै चित्त बुझाउनु परेको छ । उप–विजेता त्रिभुवन आर्मी क्लवले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद र ट्रफी हात पारेको छ ।
निर्धारित ९० मिनेटमा भने दुबै टिमबाट कुनै गोल हुन सकेन । नेपाल प्रहरी क्लवले विगतका खेलहरुभन्दा शनिबार सशक्त खेल प्रस्तुत गरे पनि निर्धारित समयमा दुवै तर्फ ०–० को बराबरी भएपछि अन्ततः फाइनल परिणाम कुर्न ट्राइब्रेकरको सहारा लिन प¥यो । ट्राइब्रेकरमा नेपाल प्रहरीका खेलाडी जर्सी नम्बर १६ का उज्वल राईले सुरुमा हानेको गोलले जाली नचुमे पनि प्रहरी टिमका खेलाडी जर्सी नम्बर ७ का टिम क्याप्टेन समेत रहेका रोम ओजे र जर्सी नम्बर ३० का बुद्ध तामाङ्गले हानेको गोलले भने जाली चुमेपछि प्रहरी क्लब २ –० गोल अन्तरले अगाडी हुदै विजेता बनेको हो ।
त्रिभुवन आर्मी क्लबको पोल्टामा भने शनिबार एकै गोल पनि गणना हुन सकेन । आर्मीका चार खेलाडीले हानेको गोल मध्ये दुई गोल प्रहरीका गोलकिपर शत्रुधन चौधरीले रोकिदिए । सुरुमा नै आर्मी टिमका क्याप्टेन नवयुग श्रेष्ठले प्रहार गरेको गोल, पोष्टभन्दा माथिबाट गएपछि आर्मीका लागि शनिबार शुभ संकेत देखिएन । आर्मीका जर्सी नम्बर २९ का विमल पाण्डे र जर्सी नम्बर ९ का सन्तोष केसीले हानेको प्रहार पनि प्रहरीका गोलकिपर चौधरीले रोकिदिए । आर्मीको तर्फबाट अन्तिममा गएका जर्सी नम्बर १९ का जितेन्द्र कार्कीले हानेको गोल प्रहरीका गोलकिपरलाई छल्न कामयावी भए पनि अर्को पोलमा ठोकिएर वेकामे बन्यो ।
गोलको विजेताको उपाधी मात्र नभई नेपाल प्रहरी टिममा बेष्ट मिडफिल्डरको उपाधी पनि हात प¥यो । त्यो उपाधी नेपाल प्रहरीको जर्सी नम्बर १६ का उज्वल राईले पाए । उनले २० हजार नगद र ट्रफी प्राप्त गरे । प्रहरीकै जर्सी नम्बर ८ का प्रताप गुरुङ्ग खेलको उत्कृष्ट खेलाडी हुँदै म्यान अफ दी सिरिज समेत बने । उनले ५० हजार नगद र ट्रफी पं्राप्त गरे । वेष्ट प्रशिक्षक पनि प्रहरीकै चेतन घिमिरे घोषित भए । उनले २० हजार नगद र ट्रफी पाए ।
बेष्ट डिफेन्सका रुपमा भने आर्मीका खेलाडी जर्सी नम्बर २९ का बिमल पाण्डे घोषित भए । उनले २० हजार नगद र ट्रफी हात पारे । आर्मी क्लबले २०७४ र ०७५ मा वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपको उपाधी उचालेर वीरगन्ज फाबिलो ठाउँ मान्दै आए पनि यो पटकको प्रतियोगितामा भने आर्मी क्वलको लागि वीरगन्ज खासै शुभ हुन सकेन ।
प्रथम वीरगन्ज गोल्डकप २०८० को अर्को दावेदार मध्ये नेपाल प्रहरी क्लवको लागि भने यो बर्ष वीरगन्ज शुभ बन्यो । गएको कार्तिक १८ गतेबाट जारी वीरगन्ज गोल्डकपको सुरुमा भएको खेलमा नेपाल प्रहरीले भारतको कोलकत्ताबाट आएको टिमलाई ७–१ ले पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि आयोजक भेट्रान सिटी क्वलसँग ट्राइब्रेकरको सटेन डेथमा घिटिघिटी हुँदै पनि नेपाल प्रहरी फाइनल प्रवेश गरेको थियो । फाइनलमा भने त्रिभुवन आर्मीसँग पनि ट्राइब्रेकरकै सहाराले प्रहरी टिम उपाधीको हकदार बन्यो ।
अर्को प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबका लागि भने ट्राइब्रेकरसम्मको यात्रा विगतमा खेप्न परेको थिएन । त्रिभुवन आर्मी क्लवले पहिलो खेल गएको मंगलबार झापा एफ सीसँग खेलेको थियो । त्यो खेलमा आर्मी क्लबले २ का बिरुद्ध ० गोलले झापा एफ सीलाई पछि पारेको थियो । गएको बिहिबारको सेमिफाइनल खेलमा पनि निर्धारित ९० मिनेटको समयमा शंकटा क्लबलाई १–० गोल अन्तरले पछि पार्दै आर्मी क्लब उपाधी दावेदारको नजिक पुगेको थियो । तथापि उपाधीका लागि भने आर्मी क्लब पछि पर्दै उपविजेतामा मै सिमित भएको हो ।