काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जमा जारी प्रथम गोल्डकप २०८० को सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लव वीरगन्जसँग नेपाल प्रहरीको भीडन्त पक्का भएको छ । नेपाल प्रहरी क्लव र क्लाइभ हाउस भेट्रान कोलकत्ताको टिम बीच वीरगन्जमा भएको खेलमा नेपाल प्रहरी क्लवले आधादर्जन बढि गोलको बर्षा गराउँदै कोलकत्तालाई पराजित गरेपछि सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लवसँग भीडन्त पक्का भएको हो ।
सोमबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको फुटबल प्रतियोगितामा कोलकत्तालाई १ का विरुद्ध ७ गोल गर्दै नेपाल प्रहरीले सेमिफाइनलको यात्रा तय गरेको छ । खेल सकिन १० मिनेट अगाडीसम्म पनि ० का विरुद्ध ७ गोल गर्दै विजय यात्रा पक्का गरेको प्रहरीले कोलकत्ताको डि-बक्स एरियामा फल्ट गरेपछि पेनल्टी मार्फत कोलकत्ताले शून्यबाट बच्दै १ का विरुद्ध ७ को परिणाम बनाएको हो । तथापि जितका लागि उसलाई यो गोलले खासै अर्थ राखेन । ॅनील भयो’ भन्ने ठाउँबाट मात्र उ जोगिदै प्रहरी क्लवका अगाडी निरिह झैं बनेको छ ।
नेपाल प्रहरी क्लवका लागि भने जर्सी नम्बर ८ का प्रताप गुरुङ्गले ह्याट्रिक पार गर्दै सर्वाधिक ५ गोल गरी टिमलाई जितको लागि सुरक्षित बनाए । सोमबारको खेलमा म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै १० हजारको चेक पनि प्राप्त गरे । थप दुई गोल भने प्रहरीको जर्सी नम्बर १४ का प्रविण थापा र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गरे ।
प्रहरीको यो जितसँगै आगामी २२ गते कार्तिकमा हुने पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लव वीरगन्जसँग आमने-सामनेको अवस्था बनाएको छ । कुल ८ वटा टिमको भिडन्त रहेको प्रतियोगितामा सोमबार कोलकोत्ताको टिम हारेसँगै भारतका दुवै टिम घर फर्केका छन् । भारतको दिल्लीस्थित नर्थ जोन फुटवल टिमलाई पहिलो दिनको उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लवले ट्राइव्रेकरमा १ का विरुद्ध ३ गोल गरी पराजित गर्दै घर पठाएको थियो । सोमबार नेपाल प्रहरीले पनि भारतको अर्को टिम कोलकत्तालाई नराम्ररी पराजित गरेपछि भारतबाट सहभागीता दुवै टिमको अगाडीको यात्रा सकिएको हो । अब सेमिफाइनल र फाइनलसम्मका सबै खेलमा नेपालकै शिर्ष टिमहरुबीच नै भीडन्त हुने पनि आयोजक भेट्रान सिटी क्लवका महासचिव पंकज श्रेष्ठले बताए ।
मंगलबारको खेल नेपाल आर्मी क्वल र झापा एफ सी का बीच हुने आयोजकले जनाएको छ । बुधबारदेखिका सबै खेल सेमिफाइनलका लागि हुने छन् । आगामी २५ कार्तिकमा हुने फाइनल खेलका बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी र पदक पाउने आयोजकले पहिले नै घोषणा गरिसकेको छ । यो प्रतियोगिता मधेश प्रदेशकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिता दावी गरिएको छ ।
भेट्रान र पुलिसको भिडन्त पक्का
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्