पहिलो दिनको खेलमा दिल्ली पराजित
काबिल सम्वाददाता
वीरगन्ज
लामो समय ठूलो फुटवल प्रतियोगिता नभएको वीरगन्जमा त्यसको क्रमभंग गर्दै भएको पहिलो दिनको खेलमा भारतको नर्थ जोन फुटवल टिम दिल्लीलाई आयोजक टिम भेट्रान सिटी क्लवले १ का विरुद्ध ३ गोल गर्दै पराजित गरेको छ । मधेशकै ठूलो धनराशी भएको ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ को पहिलो खेल निर्धारित ९० मिनेटको समयमा वार कि पार हुन सकेन । थप ५ मिनेटको समयमा पनि दुबै टिमले कुनै गोल गर्न नसकेपछि ट्राइब्रेकरका आधारमा हारजितको छिनोफानो भएको हो ।
ट्राइब्रेकरमा आयोजक वीरगन्ज भेट्रान सिटीले १ का बिरुद्ध ३ गोल गर्दै खेल सुरुवातको जीत पनि आफ्नो पोल्टामा पार्न सफल भएको छ । भारतको दिल्लीका खेलाडी जर्सी नम्बर ७ र ३ का संकल्प सिंह ज्यरिया र अन्सुल परिसरले हानेको दुईगोल वीरगन्जका गोलकिपरले रोकिदिए । भारतको दिल्लीका खेलाडी जर्सी नम्बर १५ का सुमित कडयनले हानेको एक गोल पोष्ट बाहिर र जर्सी नम्बर १२ का अजय बिष्टले हानेको १ गोल मात्र वीरगन्जका गोलकिपर राजु नगरकोटीलाई छल्दै गोलपोष्ट चुम्न सक्यो ।
भेट्रान सिटी क्वलका तर्फबाट भने जर्सी नम्बर ११ का कृष्ण शाक्य सी ले हानेको १ गोल भारतका गोलकिपर हर्सित विष्टले रोकिदिएका थिए भने बाँकी तीन गोल सहजै गोलपोष्टको जाली चुम्न सक्यो । यसरी वीरगन्जले दिल्लीलाई १ का विरुद्ध ३ गोल गर्दै भेट्रानले पहिलो दिनको पहिलो जित आफ्नो पक्षमा पारेको हो । वीरगन्जको भेट्रान सिटी क्लवका तर्फबाट जर्सी नम्बर १५, जर्सी नम्बर ५ र १० का खेलाडी क्रमशः जनक कार्की, शिषस थापा र नविन लामाले भारतका जर्सी नम्बर १ का गोलकिपर हर्जित विष्टलाई छल्दै जाली चुमाएका थिए । खेलको म्यान अफ दि म्याच वीरगन्जका गोलकिपर राजु नगरकोटी भए । उनलाई १० हजारको चेक सहित सम्मान गरिएको छ ।
शनिबारबाट सुरुभएको खेल आगामी कार्तिक २५ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा हुने छ । यो प्रतियोगिताको दोस्रो दिनको खेल आईतबार काठमाण्डौको शंकटा क्लव र चर्च व्याइज युनाइटेडका बीच हुने आयोजक संस्था भेट्रान सिटी क्लवका महासचिव पंकज श्रेष्ठले बताए । प्रथम वीरगन्ज गोल्डकप २०८० का लागि भारतको नर्थ जोन फुटवल टिम दिल्ली र कोलकत्ताको क्लाईस हाउस डम–डम टिम गरी दुई टिम नेपाल बाहिरका छन् । यी सहित नेपालका ६ टिममा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शंकटा क्लव, चर्च व्याइज युनाइटेड, झापा एफ.सी. र स्वयम् आयोजक भेट्रान सिटी क्लव वीरगन्ज गरी ८ टिम बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष सुमित बस्नेतले बताए ।
मुलुककै दोस्रो ठूलो नारायणी रंगशाला भएर पनि यसको मर्मत सम्भारको अभावमा खेलमैदानको अभाव भएपछि वीरगन्जमा २०५८ पछि राष्ट्रियस्तरका खेल खासै भएको थिएन । नेपाल सरकार मात्र नभई मधेश प्रदेश सरकार र स्थानीय सरकारले समेत रंगशाला मर्मत र निर्माणमा चासो नदेखाएको समयमा अन्य प्रयोजनमा प्रयोग हुँदै आएको वीरगन्जकै अर्को आदर्शनगर रंगशालामा मधेशकै ठूलो धनराशी भएको प्रतियोगिता भेट्रान सिटी क्लवले आयोजना गरिएको हो । विगतमा फुटवलका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको वीरगन्जले लामो समयको क्रमभङ्गतालाई तोड्दै राष्ट्रियस्तरको फुटवल प्रतियोगिता पुनः आयोजना गर्न थालेको छ ।
प्रथम पटक हुँदै गरेको वीरगन्ज गोल्डकप २०८० का विजेतालाई ११ लाख ११ हजार १ सय ११ रुपैया धनराशी सहितको पुरस्कार प्रदान गरिने यो प्रतियोगिताको कुल खर्च करिब ८० लाख जति लाग्ने भेट्रान सिटी क्लवका बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । प्रतियोगिताका उपविजेतालाई पनि ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित अन्य पुरस्कार दिइने आयोजनक संस्थाले जनाएको छ ।
भेट्रानको साहसिक जमर्को
क्रिकेटका राष्ट्रियस्तरका खेलाडी आरिफ शेख र आसिफ शेखजस्ता खेलाडीले बल उफारेको नारायणी रंगशाला पछिल्लो समयमा खेल खेलाउने लायक नभएपछि प्रथम वीरगन्ज गोल्डकप २०८० समेत रंगशालाको विकल्प खोजी गर्दै वीरगन्जकै आदर्शनगर रंगशाला सुरु भएको छ । दर्शक बस्ने प्याराफिट समेत अस्थायी बनाई वीरगन्जको विगतको शाख खोज्ने प्रयास भेट्रान सिटी क्लवले गरेको छ । राजनीतिक आडमा हुँने भ्रष्टाचार र राज्यको उपेक्षामा परेको वीरगन्जको खेलकुद र चुस्त खेल मैदानकै अभावमा रोकिएको ठूलो प्रतियोगिता विगत २२ बर्षदेखि खासै हुन सकेको थिएन । यो पटक भने वीरगन्जले अझै पनि राम्रा प्रतियोगिता गराउन सक्छ भन्ने सन्देश दिन बल पुग्ने भएको स्थानीय खेलप्रेमिहरुले बताए । यसको अलावा यो क्षेत्रमा पर्यटन प्रवद्र्धन र खेलकुदको नयाँ आयामका लागि पनि यो खेल कोशेढुंगा हुने उनीहरुको तर्क छ ।