spot_img

ताजा अपडेट

मधेशकै उच्च धनराशीको ‘फुटवल प्रतियोगिता’ वीरगन्जमा

- Advertisement -

पहिलो खेलमा दिल्ली र आयोजक भेट्रान सिटी भिड्ने
काबिल सम्बाददाता

मधेश प्रदेशकै उच्च धनराशी भएको फुटवल प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । वीरगन्जमा पहिलो पटक हुने प्रतियोगिता मधेशकै उच्च धनराशीको फुटवल प्रतियोगिताका मानिएको छ । शनिबार (भोलीबाट) हुने यो प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भईसकेको आयोजक भेट्रान सिटी क्लव वीरगन्जले जनाएको हो ।
‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ शनिबार सुरुभई आगामी कार्तिक २५ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा चल्ने छ । यसको लागि नेपालको आर्मी क्लव, पुलिस क्लव सहित नेपाल र भारतका आठवटा टिम सहभागी हुने प्रतियोगिता आयोजक संस्था भेट्रान सिटी क्लव वीरगन्जका अध्यक्ष सबिन बस्नेतले बताए ।
मुलुककै दोस्रो ठूलो नारायणी रंगशाला भएर पनि यसको मर्मत सम्भारमा नेपाल सरकार मात्र नभई मधेश प्रदेश सरकार र स्थानीय सरकारले समेत चासो नदेखाएको समयमा वीरगन्जकै अर्को आदर्शनगर रंगशालामा मधेशकै ठूलो धनराशी भएको प्रतियोगिता आयोजना गरिएको हो । विगतमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको वीरगन्जमा २०५८ सालपछि राष्ट्रियस्तरका ठूला खेल खासै भएका छैनन् । तर लामो समयको क्रमभङ्गतालाई तोड्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन भएको विगतको इतिहासलाई फर्काउन भेट्रान सिटी क्लवले पुनः जुटेको छ ।
प्रतियोगिताका लागि प्रचारप्रसार पनि तिब्र पारिएको छ । करिब ८० लाखको लागतमा खेल सम्पन्न गर्ने लक्ष्य सहित भेट्रान सिटी क्लव जुटिरहेको आयोजक संस्थाका महासचिव पंकज श्रेष्ठले बताए । प्रथम पटक हुँदै गरेको वीरगन्ज गोल्डकप २०८० का विजेतालाई ११ लाख ११ हजार १ सय ११ रुपैया धनराशी सहितको पुरस्कार प्रदान गरिने भेट्रान सिटी क्लवले पहिले नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिरहेको छ । प्रतियोगिताका उपविजेतालाई पनि ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित अन्य पुरस्कार दिइने भेट्रान सिटी क्लवका बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए ।
भेट्रानको साहसिक जमर्को


वीरगन्जमा काठमाण्डौको दशरथ रंगशाला पछिको दोस्रो ठूलो नारायणी रंगशाला छ । यो रंगशालामा विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन भएका थिए । तर पछिल्लो समयमा जीर्ण नारायणी रंगशाला र अर्को प्रयोजनमा आदर्शनगर रगशाला पनि प्रयोग हुँदा २०५८ पछि यहाँ राष्ट्रियस्तरका ठूला प्रतियोगिता हुन सकेका थिएनन् ।
क्रिकेटका राष्ट्रियस्तरका खेलाडी आरिफ शेख र आसिफ शेखजस्ता खेलाडीले बल उफारेको नारायणी रंगशाला पछिल्लो समयमा खेल खेलाउने लायक नभएपछि प्रथम वीरगन्ज गोल्डकप २०८० समेत विकल्प खोजी गर्दै वीरगन्जकै आदर्शनगर रंगशालामा गरी वीरगन्जको विगतको शाख खोज्ने प्रयास भेट्रान सिटी क्लवले गरेको छ । राजनीतिक आडमा हुँने भ्रष्टाचार र राज्यको उपेक्षामा परेको वीरगन्जको खेलकुद र चुस्त खेल मैदानकै अभावमा रोकिएको ठूलो प्रतियोगिता विगत २२ बर्षदेखि खासै हुन सकेको थिएन । यो पटक भने वीरगन्जले अझै पनि राम्रा प्रतियोगिता गराउन सक्छ भन्ने सन्देश दिन पनि आदर्शनगर रंगशालामै भए पनि प्रतियोगिता गर्न आँट भेट्रान सिटीले गरेको भेट्रान सिटी क्लवका सल्लाहकार तथा फुटवल संघ मधेश प्रदेशका उपाध्यक्ष दिपक साह कानुले तर्क गरे ।
आमने सामने हुने आठ टिम
पहिलो दिन आयोजक भेट्रान र दिल्ली भिड्ने

प्रथम वीरगन्ज गोल्डकप २०८० का लागि भारतको नर्थ जोन फुटवल टिम दिल्ली र कोलकत्ताको क्लाईस हाउस डम–डम टिम गरी दुई टिम नेपाल बाहिरका पनि छन् । यी वाहेक नेपालमा ६ टिममा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, संकटा क्लव, चर्च व्याइज युनाइटेड, झापा एफ.सी. र स्वयम् आयोजक भेट्रान सिटी क्लव वीरगन्ज गरी ८ टिम सहभागी हुने आयोजक संस्थाका महासचिव श्रेष्ठले बताए । पहिलो दिनको खेल आयोजक भेट्रान सिटी क्लव वीरगन्ज र भारतको नर्थ जोन फुटवल टिम दिल्लीका बीच हुने आयोजक संस्थाका सल्लाहकार तथा नेपाल फुटवल संघ पर्साका अध्यक्ष अनिल कलवारले बताए । प्रतियोगिता पर्यटन प्रवद्र्धन र खेल विकासको नयाँ अध्याय सुरु गर्ने लक्ष्य गरिएको भेट्रान सिटी क्लव वीरगन्जले जनाएको हो । वीरगन्जमा विगतमा झैं खेलकुदको शाख फर्काइने जमर्को पनि रहेको भेट्रान सिटी क्लवका अध्यक्ष बस्नेतले दावी गरे । प्रतियोगिता संचालनका समयमा प्रत्येक दिन म्याच अफ दि म्याच सहित विधागत पुरस्कार समेत वितरण गरिने छ । सो प्रतियोगिताको समापनका दिन वीरगन्जका पूर्व फुटवल खेलाडी हरि बहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्ने पनि कार्यक्रम रहेको आयोजक भेट्रान सिटीले जनाएको छ ।
खेल प्रतियोगिताभन्दा अन्य प्रयोजनमा बढि प्रयोग भएको आदर्शनगर रंगशाला मैदानको मर्मत पछि यस्ता खेलकुदसँगै पुरानै लयमा फर्काउन यो मैदानमा पनि खेलकुद प्रतियोगिता मात्र गरिनु पर्ने स्थानीय खेलप्रेमीहरुको तर्क पनि छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ