काबिल सम्वाददाता
वीरगन्ज
सामान खरिद गर्दा बील बिजकमा सहजै दर्ज गर्न मिल्ने ल्यापटप, माउस र कम्यूटर जस्तो सामान त व्यवसायीले भन्सार छली चोरी पैठारी गरी ग्राहकलाई ठग्दा रहेछन् भने बाँकी समानमा ग्राहक कति ठगिंदा हुन् ? भंसार छलीका ५० लाखभन्दा बढिका यस्तै सामान प्रहरीले बरामद गरेपछि यस्तो तथ्य सतहमा आएको हो ।
यो कुरा धेरै नौलो नभए पनि पछिल्लो समय नियम कानूनी कडा पारिएको व्यवसायीको दावीका बीच ग्राहक डल्याउने गरी पर्वको समयमा सीमासँगै जोडिएको शहर वीरगन्जका व्यवसायीले यस्तो गरेको भेटिएको छ । बिल बिजकमा दर्ज गर्न केही झन्झटिला दैनिक उपभोग्य बस्तुको कारोवारमा भने झन व्यवसायीले के गर्दा हुन् ? सहजै अनुमान लगाउन सकिने पर्सा प्रहरीले जनाएको छ । प्रहरीकै सकृयतामा यो कुराको पटाक्षेप भएको छ । पर्सा प्रहरीले वीरगन्ज ५ स्थित बजार क्षेत्र भित्रकै व्यवसायी अजय सिंहको चारतले घरको भूईं तलामा रहेको गोदाममा छापामारी भन्सार छली र चोरी पैठारी गरिएका ५१ लाख २६ हजार ७ सयका ल्यापटप, माउस, कम्प्यूटर, तार जस्ता सामान बरामद गरेको छ । ती सबै समानको गणना पछि बजारमूल्य पत्ता लगाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।
व्यवसायी सिंहले ए डी कम्पूटर सप्लायर्स नामक संस्था संचालन गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले बताए । संचालक अजय सिंह जस्तै निर्लिप्त व्यापारीहरुका कारण अहिले राम्रा व्यवसायीहरु मारमा परेको उनको तर्क छ । सिंहले भन्सार छली चोरी पैठारी गरी आफ्नै घरको भूँई तलामा रहेको गोदाममा लुकाएका अवैध सामान प्रहरीले बिशेष सूचना पाएपछि शनिबार साढे १ बजे छापामारी गर्दा विना बिल बिजकका ५१ लाख २६ हजार ७ सयका अवैध ल्यापटप, माउस, कम्प्यूटर लगायतका सामान फेला परेको उनको भनाइ छ ।
प्रहरीले बरामद गरेका सामानहरुमा डेल कम्पनीको मिनी सिपीयु कम्प्येट ७० थान, डेल मिनि सिपीयु विथाउट सिस्टमको ३२ थान, डेल सिपीयु बक्स विथाउट सिस्टम ४१ थान, डेलको सिपीयु बक्स कम्प्लेट ६० थान, डेल कम्पेट सिपीयु सेट ७६ थान, जेओनिक्स हार्ड डिक्स ८८ थान, डेल मोनिटर ४२ थान, माउस ५५० थान, मोनिटर वार ३ सय १२ थान, सीसी टिभी वायर १८ हजार मिटर, मोदरबोर्ड २५ थान, ग्राफिकस् कार्ड ११ थान रहेको पर्सा प्रहरीले जनाएको छ । त्यसै गरी डेलको कोर १५ ल्यापटप ८ थान र कम्प्युटरको व्याट्री पनि २ सय थान लगायतका सामान पनि रहेको प्रहरीले सार्वजनिक गरेको छ ।
अवैध व्यवसाय गर्न पल्केका व्यवसायीका कारण एक नम्बर व्यवसाय गर्ने व्यवसायी हदै मारमा परेको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । यो बिषयमा धेरै पटक आफूहरु सरकारको नेतृत्व गरेका व्यक्ति र मन्त्रीहरुसम्म पुगे पनि चित्तबुझ्दो नीति आउन र त्यसको ठोस कार्यान्वयन हुन नसकेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले गुनासो गरे । नेपालका उद्योग र राम्रो व्यवसाय गर्ने उद्यगी व्यवसायी यस्तै गलत गर्नेको गोलचक्करमा पिसिएको संघका पदाधिकारीहरुको पनि तर्क छ ।