spot_img

ताजा अपडेट

जीतपुरसिमराका पूर्व मेयर डा.पौडेल मृत फेला

- Advertisement -

काबिल सम्वाददाता
जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको हो ।
तीनदेखि घरबाट बाहिर ननिस्किएको भनी आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । प्रहरीको टोली घटनानस्थलमा पुग्दा उनी खाटको छेउमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनको भनाइ छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । अहिले नै घटनाबारे ठोसरुपमा भन्न नसकिने बारा प्रहरीले जनाएको छ ।
२०७४ मा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर बनेका डा. पौडेल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय थिए । उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य रहेका रहेका पौडेलले अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) को उपाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका थिए । सहकारीमा सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेका डा. पौडेलले सहकारी अभियानमार्फत समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाहमा अहम भूमिका खेल्दै आएका थिए । मेयरको कार्यकाल सकिएसँगै कम चर्चामा रहेका डा. पौडेल केहि दिनअघि आफू संस्थापक रहेको सहकारीको साधारण सभामा देखा परेको स्थानीयले बताए ।
डा. पौडेल को हुन् ?
रामप्रसाद पौडेल र विष्णुदेवी पौडेलको पहिलो सन्तानका रुपमा जीतपुरसिमरा उपमहानगरको पूर्व मेयर डा. पौडेलको जन्म २०२९ सालमा भएको आफन्तले जनाएका छन् । पौडेल मकवानपुरको न्युरेनी चिसापानीमा जन्मिएका डा.पौडेल पाँच दाजुभाई र दुई दिदीबहिनीमध्ये जेठा रहेको स्थानीयको भनाइ छ । हाल स्थायी बसोबास जीतपुरसिमरा उपमहानगर २ मा गर्दै आएका डा.पौडेल नेकपा एमालेको राजनितिमा लामो समयदेखि सक्रिय थिए । २०५८ सालदेखि जिल्ला सचिवालय सदस्य रहँदै आएका उनी करिब १५ वर्ष पार्टीको जिल्ला प्रचार विभागमा रहेको र प्ररायु संघ, अनेस्ववियु हुदैँ पार्टीको राजनीतिमा सक्रिय भएको बाराका एमाले नेताहरुले जनाए ।


२०६२÷६३ आन्दोलनमा २४ दिनसम्म पक्राउ परेका उनी सहकारी बिषयमा विद्यावारिधी, व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका डा. हुन् । जापान, सिंगापुर, बैंकक दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, मलेसिया, भारत जस्ता देशको भ्रमण गरी विभिन्न अनुभव समेत बटुलेका डा. पौडेलको निधनले एमाले पार्टी र सहकारी अभियानमा ठूलो क्षति पुगेको स्थानीयको भनाइ छ । एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत थिए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ