spot_img

ताजा अपडेट

अपराध बढ्नुमा नसालु पदार्थ सेवन पनि कारक बन्दै

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
लागु औषध र मादक पदार्थ सेवनका कारण समाजमा अपराधिक घटना बढ्न बल पुगेको पाइएको छ । छिमेकी मुलुक भारतको बिहार सरकारले यो कुराको पहिले नै निष्कर्ष निकाली त्यहाँ लागु औषध र मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लगाइसकेको छ । सीमावारी नेपालमा भने लागु औषध प्रयोगमा केही कडाई गरिएको जस्तो गरी मादक पदार्थ सेवनमा भने खुल्लम–खुल्ला छोडिएको छ । यसले समाजमा हुने अपराधका घटनालाई बल पु¥याइरहेको पाइएको हो ।
केही दिन अगाडी काठमाण्डौको तिनकुने नजिक एकै परिवारका ३ सदस्यको हत्या प्रकरण वा यहि असोज १९ गते वीरगन्जको छपकैयास्थित पुनम देवीको हत्या प्रकरण, दुवै घटनामा लागु औषध प्रयोगकर्ताको संलग्नता देखिएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाकी पुनम देवीको हत्या पनि मादक पदार्थ मात्र नभई लागु औषध सेवनकर्ता समेत रहेका स्थानीय २५ बर्षीय इमरान मियाँले गरेको पर्सा प्रहरीको अनुसन्धानबाट पुष्टि भएको हो ।
जितीया पर्व मनाउने क्रममा गएको बिहिबार बिहान सधैंभन्दा चाँडो उठेकी पुनम देवीको घरमा चोरी गर्ने उद्देश्यले छिरेका लागु औषध प्रयोगकर्ता मियाँसँग घरभित्रै जम्काभेट हुँदा उनले बोकेको रड पुनमको टाउकोमा प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहले बताए । जितीया पर्व एकसाथ मनाउन भनी बहिनीको घरमा बोलाउन पुगेकी पुनमकी दिदी निलम देवी साहले त्यहाँ पुगी बहिनीलाई बोलाउँदा पुनम नबोलेपछि भित्र जान खोज्दा बाहिरबाट ढोका बन्द गरेको देखी खोलेर हेर्दा बहिनी आफ्नै अच्छ्यानमा गम्भिर अवस्थामा ढलेको फेला पारेकी थिइन् । लगत्तै आफन्त र सहयोगी सहित अस्पताल लाने काम भए पनि बिहान ७ बजेर ४५ मिनेटमा अस्पतालको उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा भेटिएकी पुनमलाई सुरुमा वीरगन्जको नारायणी अस्पताल र पछि वीरगन्जकै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले बचाउन नसकेको र यो घटनाको अनुसन्धान बढाउँदा स्थानीय लागु औषध प्रयोगकर्ता मियाको संलग्नता भेटिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शाहले बताए । यो घटना बिहान करिब साढे ३ बजेतिर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ उनले भने ।
भारत बिहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल वीरगन्ज १ बस्दै आएकी पुनमको शव उनका श्रीमान गगनदेव प्रसादलाई पोष्टमार्टम गरी दाह संस्कारका लागि जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ । घरमा झगडा गरी अभियुक्त मिया सुरुमा वीरगन्ज १ स्थित वडा कार्यलयमा सुत्छु भन्दै चोरी गर्ने उद्देश्यले त्यहाँ पुग्दा भित्र प्रवेश गर्ने ढोका खोल्न नसकी पुर्व पुनमको घरतर्फ लागेको सिसिटिभी क्यामेराबाट खुलेको छ । पछि उनी पुनमको घरको झ्यालबाट माथि छतमा प्रवेश गरेका र छतबाट भित्र प्रवेश गर्ने ढोका बन्द नहुँदा सहजै माथिबाट भित्र छिरी कर्तुत गरेको अभियुक्तले पनि बयानमा स्वीकारी सकेको पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।


छतसम्म खाली हात गएका मियाँले पुनमकै छतमा एक हात लामो रड भेटिपछि त्यही रड लिएर माथिबाट भित्र प्रवेश गर्दा व्यूटिसियन पुनम उठिसकेकीले भित्र जम्काभेट हुँना साथ उनको टाउकोमा रड प्रहार गरेको पनि अभियुक्तले स्वीकारेको प्रहरी उपरिक्षक शाहले पर्सेली संचारकर्मी सामु बताए । रडले टाउकोमा लागि ढलेपछि उनैले बेडमा लगी राखेको र पछि बत्ती बालेर हेर्दा फेरि आँखा खोलेको देखेपछि चिन्ने डरले पटक–पटक सो रडले टाउकोमा प्रहार गरी भित्रबाट ढोका खोलेर बाहिर निस्की ढोका बन्द गर्दै हिडेको अभियुक्तको प्रारम्भिक बयानमा स्वीकारेको पर्सा प्रहरीले विस्तृत रुपमा जनाएको छ ।
अभियुक्तले घटना घटाएका समयमा लगाएका लुगा खोलामा फाली रड पनि पुनमको घर पूर्वतर्फ धान खेतमा फालेको अवस्थामा अनैले दिएको बयान पश्चात खोज्दै जाँदा बरामद भएको पर्साका प्रहरी उपरिक्षक शाहले बताए । कुनै रिसिबी या मार्ने योजना विना अपराधमा संलग्न व्यक्ति मादक पदार्थ तथा लागु औषध सेवन गरी अर्को पटकको जोहो गर्न चोरी गर्न हिड्दा अपराधिक घटना भएको अनुसन्धानबाट खुलेको प्रहरीको निष्कर्ष छ ।
काठमाण्डौको तिनकुने नजिक भएको घटनाका अभियुक्त पनि लागु औषध प्रयोगकर्ता रहनुले समाजमा लागु औषध र मादक पदार्थ सेवनकर्ताबाट जोसमा होस् गुमाउँदा समाजमा अपराधका घटना बढ्न बल मिलेको तथ्य भेटिएको छ । यता पर्सामा एक महिनाको अन्तरमा ३ वटा हत्याका घटना भएकामा एउटा चाही लागु औषध सेवन पश्चात अपराधसँग जोडिएको खुलेको पर्सा प्रहरी उपरिक्षक शाहले पनि घटनाको वास्तविकता केलाउँदै बताए । पर्सा प्रहरीले दुई घटनाका अभियुक्तहरुलाई नियन्त्रणमा लिन सफल भएको छ । गएको असोज १४ गते पनि पर्साको जगरनाथपुर गाउँपालिका ५ की कान्तिदेवी वीनको हत्यामा सम्लग्न उनकै जेठाजु र देवर गरी तीन जना प्रहरीको फन्दामा परिसकेका छन् । त्यहाँ पनि चोरी गर्ने उद्देश्यले आफन्तहरु नै त्यहाँ प्रवेश गर्दा कान्ती देवीले थाहा पाएपछि अभियुक्तले घटना लुकाउन उनको हत्या गरेको रहस्य सतहमा आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ