काबिल सम्वाददाता
पर्सा
आपसी सद्भाव अझ प्रगाढ बनाउन वीरगन्जमा बृहत सद्भाव ¥याली निकालिएको छ । सधैं एकताबद्ध भएर बसेको वीरगन्जवासी समाजमा बाहिरका बिषय जोडेर कसैले धार्मिक सद्भावमा बिचलन ल्याउन खोज्नेहरुबाट सचेत रहन भन्दै वीरगन्जमा सोमबार सद्भाव ¥याली निकालिएको हो ।
वीरगन्ज महानगरपालिकाको आयोजना र स्थानीयको समन्वयमा आदर्शनगरको स्वीमिङ्ग पुल परिसरबाट ¥याली निकालिएको छ । ¥याली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभा गर्दै ¥याली टुँगिएको छ । कोणसभामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले समाजमा विभेदको बीउ कसैले पनि रोप्न नहुने संकेत गरे । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र समुदायको एकताबद्धताबाट समाजलाई कसैले भाँड्ने गर्न नहुने उनको सुझाव छ । सामाजिक सञ्जाल तर्फ भएका उच्छृङ्खल गतिविधिको पनि उनले कडा शब्दमा निन्दा गरे ।
बाहिरी हल्लाका भरमा धर्मकै नाममा समाजमा हिंसा भड्काउन खोज्नेहरूबाट वीरगन्जवासी सचेत रहन पर्ने वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि बताए । एक आपसमा मिलेर बसेका हामी नागरिकलाई कसैले भड्काउन खोजे सबैको सहकार्यले त्यसलाई निस्तेज पार्नु पर्ने उनको सुझाव छ । नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी धार्मिक सहिष्णुता विगार्ने र शान्ति प्रक्रियामा खलल पु¥याउने प्रति सबै चनाखो हुनु पर्ने बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत याहँका अगुवा बुद्धिजिबी लगायतले गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।
गएको बिहिबार सर्लाहीमा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच भएको घटना पश्चात वीरगन्जमा पनि धमिलो पानीमा माछा मार्न खोज्नेहरुले आम सर्वसाधारणलाई धार्मिक पक्ष विपक्ष बनाएर उक्साइरहेको महानगरको ठम्याई छ । यस्ता कुराबाट समाजको सद्भाव टुट्नु हुन्न भन्दै यहाँ सद्भाव ¥याली निकालिएको हो ।