तुलसी भण्डारी
वीरगन्ज
आफ्नो स्वरमा नै नयाँ लोकभाका ल्याएकी गायिका सरिता भारती यतिबेला एकपछि अर्को गीतमा जम्दै गएकी छन् । लोक गायनमा आफ्नो फरक परिचय बनाउँदै सरिता यतिबेला नयाँ लोकभाका गीतमा फेरि जमेकी हुन् ।
‘जिस्केर मस्केर लायौ मायाँ हे सोल्टी, हे सोल्टी
अन्तै लाग्लिन तिम्री त्यो च्यान्टी सान्नानी…’
दीपक शर्माको संगीत रहेको यो लोकगीतमा गायिका सरिता भारतीलाई गायक सविन सुवेदीले साथ दिएका छन् । पूर्वी नेपालमा प्रचलित झ्याउरे भाकामा तयार गरिएको यो गीत डब्बु क्षत्रीद्धारा लय संकलन एवम् शब्द रचना गरेका हुन् । यो गीतमा गायिका सरिता आफैंले अभिनेता प्रवण भुसालसँग मोडलिङ समेत गरेकी छन् । यो गीतको भिडियोलाई माधवराज खरेलले निर्देशन गरेर दर्शक श्रोताका बीच ल्याइएको हो ।
आफ्ना गीतका म्यूजिक भिडियो र अरु पनि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी गायिका र नायिका सरिता सबै प्रकारको गीत गाउने गायिकाका रुपमा पर्ने खुलेको छ । तथापि लोक तथा लोक दोहोरी गीतप्रति आफ्नो निकै बढी लगाव भएको उनको भनाइ छ । त्यसैले पनि कहिले पश्चिमा र कहिले पूर्वेली यो लोक गीतभाका ल्याएको उनले काबिल खबरसँग बताइन् । ‘जिस्केर मस्केर गीत पनि त्यसैको उपज हो । यो गीत श्रोताको माग अनुसार म्युजिक भिडियो सहित बनाइएको छ’ गायिका सरिताले भनिन् ।
सिन्धुलीबाट संकलन गरिएका कारण यो गीतको छायाँकन, सिन्धुली, उदयपुर, झापा, इलाम, पाँचथर र ताप्लेजुङमा गरिएको गीतका लय संकलक डब्बु क्षत्रीले बताए । ‘गीतमा प्रयोग भएका स्थानहरु मै हामीले यो गीतको छायाँकन गरेका छौं’ उनले भने । भिडियोले अहिले राम्रो प्रशंसा पाइरहेको छ । दर्शकश्रोताको अझ माया पाए झन राम्रा गीत र मोडलिङ्ग सहित भविष्यमा पनि आइरहने मोडल तथा गायिका सरिताले तर्क गरिन् ।
जुगल डँगोलको संगीत तथा आर जे सिंहको शब्द रचना रहेको अर्को लोक गीत पनि भर्खरै मात्र आएको थियो । सरिताको स्वरमा सेलो भाकामा समेत निम्न अनुसारको अर्को गीत पनि पहिले आएको थियो,
‘बाबाले तिमीसँग कुराकानी गर्नेरे
आनी बानी तिम्रो बुझी पक्का पक्की गर्ने रे
हिँड घरमै जाउँ तिमीलाई चिनाउँछु म
मेरो माया भनी तिमीलाई देखाउँछु म…’
यो गीतमा पनि गायिका सरिता आफैंले मोडलिङ गरेकी थिइन् । उमेश गुरुङले निर्देशन गरेको यो गीतको भिडियोमा गायिका सरिताले नायक दिक्पाल कार्कीसँग अभिनय गरेकी छन् । गीत जस्तै यसको भिडियो पनि दर्शकले मन पराएका थिए ।
लोकपप भाकाको गीतबाट गायिका सरिता भारतीले गायन यात्रा सुरु गरेकी थिइन् । त्यो पहिलो गीत मेरो जवानी… थियो । पहिलो गीत हिट भएपछि उनले दोश्रो गीत पनि ल्याएकी थिइन् ।
छैन छैन मेरो जागिर पाउने आस
आफु त बेरोजगार मान्छे
दिनभरी खेलिन्छ लुडो र तास…’
उक्त गीत पनि लोक दोहोरी भाका मै श्रोतामाझ निकै चर्चित भएको थियो । गायिका सरिताले यो गीतमा गायक रामकुमार बस्नेतसँग सहकार्य गरेकी थिइन् । त्यो पश्चिमेली लोक दोहोरी भाका थियो । उनलाई यो गीतले पश्चिम नेपालमा निकै उचाई थप्दै त्यत्तिकै लोकप्रिय बनाएको थियो । हास्यप्रधान सो गीतलाई प्रदीप कँडेलले लेखेका थिए । जसमा चर्चित गायक अफिल खानको संगीत थियो । यो गीतको भिडियोमा पनि सारिता आफैंले अभिनय गरेकी थिइन् । त्यो गीत हिट भएपछि झन् लोक गायनले आफूलाई आकर्षण थपेको सरिताले बताइन् । हुन त गायिका सरिताले लोकसँगै आधुनिक, पप, गजल, चलचित्र जस्ता विभिन्न शैलीका गीतहरु रेकर्ड गराइसकेकी छन् । आफुले सबै प्रकारको गीत गाउने भए पनि आफ्नो झुकाव लोकगीत प्रति बढिरहेको उनको भनाइ छ ।
गोरखाको पालुङटार १० मिरकोटमा जन्मिएकी सरिता स्कुले जीवनमै जिल्लास्तरीय लोक दोहोरी गायनमा उत्कृष्ट हुने गरेकको खुलासा गरिन् । ‘बाल्यकालमा म लोकगीत बढी सुन्थेँ र विभिन्न कार्यक्रममा लोक गीतहरु नै बढी गाउने भएकोले आफूले लोकभाका बढी रुचाउने भएको उनले कारण खोलिन् । रेडियोमा दिनरात लोक तथा लोक दोहोरी गीत सुन्ने र लोक गीत नै गाउँदै हिड्ने भएकाले पनि लोक भाकाप्रति मेरो लगाब बढी भयो’ उनले भनिन् । गायिका सरिताले स्टेज कार्यक्रममा पनि गायन सुरु गरेकी छन् । २०७४÷७५ मा आफ्नो स्वरमा गीत रेकर्ड गरेर ल्याएको भए पनि गायनमा लागेको एकदशक नाघिसकेको उनको भनाइ छ ।
काठमाडौंमा प्लस टु अध्ययनको क्रममा रेडियो राजधानीमा लोक दोहोरी सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि उनी लोक भाकाप्रति झनै आकर्षित भएको उनको तर्क छ । ‘मैले त्यतिबेला रेडियोमा विभिन्न कलाकार तथा श्रोतासँग दोहोरी खेल्दै कार्यक्रम सञ्चालन गर्दा मलाई धेरैले गायनमा लाग्न सल्लाह दिनु भयो’ अन्ततः आफ्नै स्वरमा पनि गीत ल्याउन उत्साह भरिएको उनको भनाइ छ । मैले आफ्नो स्वरमा ७ वर्ष अघि ‘मेरो जवानी’ गीत रेकर्ड गरें उनले भनिन् । ‘जसमा जुगल डँगोलको संगीत र डब्बु क्षत्रीको शब्द रहेको थियो’ ।
यसरी लोकगायनमा लागेकी सरिताले पश्चिमेली भाका, देउडा (सुदुरपश्चिमेली) लोकभाका, काठेभाका, पूर्वेली भाका जस्ता लोक गीत ल्याइसकेकी छन् । उनका लुडो तास, यसपालीको दशैं, रातो सारी लरक्कै, हे गाजली, मेरो मायाँ भनी जस्ता थुप्रै चर्चित लोकभाकाहरु बजारमा आइसकेका छन् । यस्तै दीपक शर्माको संगीतमा दुई वटा नयाँ लोक भाकाको गीत पानी खोलाको…र सुन मायाँ… पनि बजारमा आउने क्रममा रहेको सरिताले बताइन् ।
एकपछि अर्को लोक भाकामा जम्दै गायिका भारती

प्रतिक्रिया लेख्नुहोस्