तुलसी भण्डारी
वीरगन्ज
भानु कविता सुनाएर के भो ?
‘राजनीति’ विकृती तिर नै गइगो
लेखायौ कविता लिपिबद्ध पारी
जन्मिन्छन् नेता किन भ्रष्टचारी ??
मधेश प्रदेशको एकल महानगरपालिका वीरगन्जमा शनिबार कविहरुका यस्तै–यस्तै कविताहरुले नेपाली राजनीति माथि कटाक्ष गरे । भोजपुरीभाषी क्षेत्र वीरगन्जमा कविहरुले यस्तो कटाक्ष गर्न छोडेको लामो समय हुन थालेको थियो । मधेश आन्दोलनको ‘इपिसेन्टर’ ठानिने वीरगन्जमा शनिबार भने काशीराम कट्टेल लगायत विद्यालयका नव कविहरुले समेत मुलुकको राजनीति प्रति कविता मार्फत कटाक्ष गरेका हुन् ।
सत्तालिप्सा र अस्थिरताले नसंग्लिएको राजनीति प्रति उनीहरुले कटाक्ष गर्दै पछिल्लो राजनीति अवस्था र नेताहरुप्रति व्यंग कस्न भ्याए । कविता वाचक साहित्यिक श्रष्टाहरलाई यो अवसर भने नारायणी वाङ्गमय प्रतिष्ठानले जुराइदिएको हो । २११ औं भानु जयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा बल्ल साहित्यकर्मीहरुले आफ्नो धौ फुकाउन पाए । राजनीति संग्लियोस् भनी साहित्यका माध्यमबाट सचेत गराइएको कविता वाचक मध्ये काशीराम कट्टेलले बताए । कविता बाचकहरु यतिमा मात्र रोकिएनन् । नेताहरुको कमिशन काण्डतर्फ संकेत गर्दै उनीहरु मध्येका कविता वाचक कट्टलले फेरि थपे ।
आज मुलुकमा दिन हिसाब छोडे
कमिशनबाटै अकुत धन जोडे
ग¥यौ एकिकरण नेपाली भाषाको
तोड्दैछन् मानव’ता विश्वासको
भ्रष्टाचार गर्नेले जनता सामु हिसाब दिन नपर्ने, कमिशनबाटै अकुत सम्पति जोडेको र भानुभक्तले बल्ल–बल्ल एकिकरण गरेको नेपाली भाषालाई समेत नेताहरुको कार्यशैलीले तोड्दै मानवता नै खतरामा पारेको कविता मार्फत कविहरुले तीखो प्रहार गरे । मुलुकमा सत्ता परिवर्तन र अस्थायी राजनीतिले दोहोलो काडेको परिवेशमा गम्भिर हुनुपर्ने परिस्थिति आएको साहित्यनुरागी एवं स्थानीय बुद्धिजिबी राजेन्द्र कोइरालाले पनि व्यंग गर्न भ्याए । साहित्य र संस्कृति गयो भने मुलुक बाँच्न नसक्ने भन्दै उनले जो कोही या जुन जाती, भाषी भए पनि आफ्नो भाषा र राष्ट्रिय भाषालाई जगेर्ना गर्न पर्ने सुझाव दिए । आफ्नो मातृ भाषा, राष्ट्रिय भाषा र थप एक अन्तराष्ट्रिय भाषाको जानकारी राखी आफ्नो साहित्य र संस्कृतिलाई जगेर्ना गर्न चुक्नु नहुने उनको जोड छ । अर्का साहित्यनुरागी गणेश लाठले पनि समाज जगाउने साहित्यले नै भएकोले साहित्यकारको कलम रोकिन नहुने संकेत गरे ।
मधेश आन्दोलनका समयमा मधेशका आन्दोलनकारीले वीरगन्जको भानु चोकमा रहेको भानुको शालिक तोडिदिएका थिए । दुईवर्ष अगाडी मात्र सो ठाउँमा पुनः भानुको शालिक स्थापित गरिएको थियो । शनिबार साहित्यकारहरुले त्यही पुगी भानुको शालिकमा माल्यार्पण गरी साहित्यिक कार्यक्रम सुरु गरेका छन् । सो कार्यक्रममा त्रिभुवन युनिभर्सिटीका पूर्व प्राध्यापक एवं बरिष्ठ समालोचक केशव सुवेदीले साहित्यले सामाजिक सद्भाव जोड्दै जाने बताए । उनले साहित्यकारको कलम उज्यालो समाजको निर्माणमा अझ तिखारिनु पर्ने सुझाव दिए ।
लामो समय सुस्ताएको नारायणी वाङ्गमय बल्ल बिउँझाउन कम्बर कसेर लागेका डा.विश्वम्भर शर्माको अध्यक्षतामा वीरगन्जमा शनिबार भानु जयन्ती मनाइएको हो ।
सो क्रममा मधेश प्रदेशबाट २०८० मा प्रकाशित भएका कृतिहरुमध्ये गोपाल अश्कद्वारा लिखित ‘कालो गुलाफ’लाई उत्कृष्ट कृतिका रुपमा घोषणा गर्दै २५ हजार नगद सहित लेखक अस्कलाई पुरस्कृत गरिएको छ । त्यसै गरी विभिन्न विद्य्रालयका कविता वाचक प्रतिस्पर्धीहरु मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ ।