काबिल सम्वाददाता
२१ प्रतिष्पर्धी मध्ये चार उत्कृष्ठलाई ‘फेस अफ नेपाल २०२४’ को मोडल हन्ट विजेता घोषणा गरिएको छ । फेस अफ नेपाल २०२४ को मोडल हन्ट गएको बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न भएको थियो । सो मोडल हन्टको ग्राण्ड फिनालेमा हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द उत्कृष्ठ घोषित भएका हुन् ।
फेस अफ नेपाल एमएस प्रोडक्सन नेपालले आयोजना गरेको हो । यो आयोजनामा २१ जना प्रतियोगीहरू सहभागी थिए । जसमध्ये ६ जना महिला र ६ जना पुरुष गरी जम्मा टप ६ मा १२ जना छनोट थिए ।
छनोट भएका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केसी, परियार, चौधरी र चन्द विजयी बन्न सफल भएको आयोजनकले जनाएको छ । फिनालेमा जजको मूल्यांकन र भोटिङबाट ४ जना विजेता घोषणा भएको एमएस प्रोडक्सन नेपालकी अध्यक्ष मेनुका माझीले बताएकी छन् ।
विजेताले करिव २० लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएका छन् । फेस अफ नेपालका विजेताहरूले अवार्ड, प्रमाण पत्र साथै नगदसमेत गरी उक्त रकम बराबरको गिफ्ट ह्याम्पर उपलब्ध गराइएको आयोजक संस्थाकी अध्यक्ष माझीले बताइन् । उनले विजेताहरूलाई शुभकामना दिँदै आगामी यात्रामा अझ सक्रिय भई लाग्न समेत सुझाव दिएकी छन् ।
यस वर्षको फेस अफ नेपालका विजेताहरू थप प्रतिस्पर्धाको लागि आगामी नोभेम्बरमा कोरियामा हुने दक्षिण कोरिया ‘एसिया मोडल फेष्टिभल’ मा सहभागी हुन जाने जनाइएको छ । सातवटै प्रदेशमा अडिसन गरी छनोट भएका प्रतियोगिहरुलाई मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ मा समावेश गराइएको आयोजकले जनाएको हो ।
सन् २०१६ देखि दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर मोडल हन्ट ‘फेस अफ नेपाल’ सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ ।
छनोट भएकालाई देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम पनि दिइएको थियो । मोडलिङ क्षेत्रमा लागेकाहरूको प्रतिष्ठाको यो कार्यक्रम आगामी दिनमा थप सुदृढ र व्यवस्थित बनाउँदै जाने आयोजक संस्थाको अध्यक्ष माझीले दावी गरेकी छन् ।
केसी परियार, चौधरी र चन्द मोडल हन्ट घोषित
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्