काबिल सम्वाददाता
पर्सा,
किसानलाई सहज मल उपलब्ध गराउने भनी युरिया मल लिएर कालोबजारी गर्दै किसान ठग्ने एक अभियुक्तलाई पर्सामा पक्राउ परेका छन् । पर्सा प्रहरी मातहतको प्रहरीले अभियुक्त पर्साको बहुदरमाई नगरपालिका २ का २८ बर्षीय दिपेश कुमार साहलाई कालोबजारी गरिरहेको गोदामबाटै पक्राउ गरेको हो ।
अभियुक्त साहले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमान मन्दिर नजिकमा सटर भाडामा लिई रासायनिक मलको गोदाम संचालन गरी कालो बजारी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । अभियुक्त साहले बाराको परवानीपुर गाउँपालिका ३ का सुरेन्द्र प्रसाद यादवको घर सटर भाडामा लिई गोदाम संचालन गरी कालो बजारी गर्दा रहेछन् पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले भने । अभियुक्त साहले कालो बजारी गरी नेपाली किसानलाई ठगी गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी सो ठाउँमा पुगी रीतपूर्वक खानतलासी लिंदा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.को खेती शक्ति युरियामल ५० केजीको ४५ बोरा र भारतीय जन उर्वरक परियोजनाको ४५ के.जी.को युरिया मल पनि १५ बोरा फेला परेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक गिरीले बताए । त्यसै गरी किसानलाई झुक्याई कालो बजारी गर्न प्रयोग गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.कै खेतीशक्ति युरिया मल ५० के.जी.को खाली बोरा ३२ थान र भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ के.जी.को खाली बोरा पनि १६ थान नै फेला परेको प्रहरीले जनाएको छ ।
दशी समेत फेला परेपछि उनले कालोबजारी गर्न प्रयोग गरेको भारतीय नम्बर बीआर ०१ एएस ३५६३ नम्बरको बजाज प्लाटिना मोटरसाइकल १ थान पनि बरामद गरिएको छ । अभियुक्तलाई कालोबजारी अन्तर्गत कसुरमा थप अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई जिल्ला प्रशासन कार्यालयबाट १० खिनको म्याद लिई थप प्रकृया सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।
अभियुक्तले साल्ट ट्रेडिङ्गको ५० के.जी.को बोराको युरिया मल भारतीय युरिया मलको ४५ केजीको बोरामा राखी प्याकिङ्ग गरी अनाधिकृत तवरले कालो बजारी गरी विक्री वितरण गर्ने गरेको सबुत नै फेला परेको घटनास्थलमा गएका प्रहरीले जनाए