काबिल सम्बाददाता
वीरगन्ज
पार्टीको मधेस प्रदेशको इन्चार्ज तथा एमाले सचिव योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरणका कारण नेकपा विभाजन भएको बताएका छन् । मधेश प्रदेशको जिम्मेवारीमा रहेपछि पहिलो पटक वीरगन्ज आइपुगेका पार्टी सचिव भट्टराईले ललिता निवास जग्गा प्रकरणले नै नेकपा विभाजन भएको यहाँ मुख खोलेका हुन् ।
‘नेकपा विभाजनको मुख्य कारण मध्ये ललिता निवास जग्गा प्रकरण पनि एक हो’ उनले भने । यस बिषयमा थप तथ्यहरु खोज्ने काम सञ्चारकर्मीको हो उनले थपे । ललिता निवास प्रकरण खोजीको बिषय एमालेले सुरुवात गरेको पनि उनको भनाइ छ ।
पार्टीको सांगठनिक गतिविधिका सवालमा भने भट्टराईले असोज ५ र ६ गते प्रदेश अधिवेशन गर्ने तयारीमा थालेको बताए । मधेसका ८ जिल्ला, १ सय ३६ स्थानीय तह, वडा कमिटिसम्म गठन गरेर पार्टी स्कुल सञ्चालन प्रशीक्षण, जनचासोको अभियान सञ्चालन गरेर मधेश प्रदेशमा ९० हजार एमालेका संगठित सदस्य बनाउने लक्ष्य रहेको उनले बताए । मधेसमा विगतमा एमालेलाई कमजोर बनाउन प्रयत्न नभएका होइनन् । तर सबै परिस्थितिको सामना गर्दै अहिले मधेसमा एमालेको उपस्थिति रामे छ । मधेस, पहाड र हिमालको एकता नभए राष्ट्रिय एकता नहुने एमालेको प्रष्ट नीति अहिले सबैले बुझ्दै गएको सचिव भट्टराईको भनाइ छ । केही तत्वहरुले भड्काउन खोजे पनि एमालेको नीतिका पछि सबै विफल भएको पनि उनले बताए ।
एमालेको लक्ष्य भनेको २०८४ मा मधेश प्रदेशमा पनि ३२ सिट एमालेले जित्ने रहेको छ । बलियो राष्ट्रिय शक्ति विना मुलुकको विकास सम्भव नभएकोले पार्टीका आन्तरिक समस्या र कमजोर उम्मेदवार छनौटमा आगामी निर्वाचनमा सजगता अपनाइने छ । विगतको निर्वाचनमा आन्तरिक समस्या र कमजोर उमेद्वार छनौट पनि भएको उनले स्वीकारे । एक बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्दै एक ढिका बनाउने एमालेको लाइन हो उनले बताए । २०७९ को निर्वाचनले सही दिशा दिन नसकेको र जनताको विवेकमाथि गठबन्धनले समस्या उत्पन्न गरेको कारण गठबन्धन असफल भएको उनको दावी छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणामपछि देशलाई स्थिरता दिन नेकपा एमालेको पहलमा विश्वासिलो समिकरण दिओैं भनेर प्रतिवद्धता सहित प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि उनको अविश्वसनीय कारण त्यो सम्भव नभएको एमाले सचिव भट्टराईको भनाइ छ ।
अन्नको भण्डार मधेशमा सरकारको बजेटले उत्साह ल्याएन ः सचिव भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले कृषिको भण्डार मधेस प्रदेशमा बजेटले उत्साह नथपेको बताएका छन् । प्रेस चौतारी नेपाल पर्सा शाखाले बुधबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीको मधेश इन्चार्ज समेत रहेका एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।
मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको छ । अझ बजेटले आमजनतामा उत्साह ल्याएन उनले भने । अन्न भण्डार मधेश प्रदेशलाई त बजेटले सम्बोधन नै गरेन उनले बताए । नेपाल सरकारले ल्याएको बजेटले आर्थिक संकट टार्न नसक्ने पनि उनको भनाइ छ । अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको सचिव भट्टराईको आरोप छ । नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने छ ।
तराई मधेसमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको उनको आरोप छ । मधेसमा किसानले मल पाइरहेको भेटिदैन । तर संघ सरकारले संसदमा प्रस्तुत हुँदा मलखादको समस्या नभएको दावी गर्छ यो गलत हो उनले भने । ‘नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने छ’ उनले भने ।
सरकारले भ्याक्सिन ल्याउन नसक्दा पशुचौपाया लम्पी स्किन रोगको कारण २५ हजार मरेका छन् । यसको कारण ३३ अर्ब किसानलाई नोक्सानको भार थपिएको छ । यो रोग समयमा नै नियन्त्रण गर्न नसके अझ १ खर्ब नोक्सानी हुने अनुमान गरिदैछ । यस्ता कुरामा सरकारको ध्यान नजानु दुःखद् भएको सचिव भट्टराईको भनाइ छ । कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) को सरकारले अबिलम्ब व्यवस्था गर्नु पर्ने सचिव भट्टराईको जोड छ । किसानले उत्पादन गरेको कृषि उपजको मूल्य कहिले नपाउने हुनु हुन्न उनले सुझाव दिए ।
एमाले कांग्रसको अहिले सरकार बन्दैन
मधेश प्रदेशमा एमालेलाई सशक्त बनाउन यो प्रदेशमा खटिएका एमाले सचिव भट्टराईले फरक अर्को प्रशंगमा एमाले र कांग्रेसको सरकार अहिले नै बन्ने सम्भावना नरहेको बताए । एमालेले चाहेमा एक हप्तामा सरकार बद्लिन्छ भन्ने चर्चा छ नि ? भनी पर्सेली संचारकर्मीले राखेको जिज्ञासामा एमाले सचिव भट्टराईले एमालेले चाहे त्यो सम्भव नहुने भन्ने त होइन । तर अहिले एमालेले सरकार ढाल्ने बनाउने खेल तर्फ नलागेको उनको तर्क छ । ‘एमालेले कांग्रेससँग मिलेर सरकार बनाउनै हुँदैन’ भन्ने त छैन । तर यो सरकार ढाल्ने पक्षमा एमाले अहिले नरहेको उनले बताए । सरकारको विषयमा एमालले छलफल पनि नचलाएको र कांग्रेसले पनि संवाद नगरेको उनको तर्क छ । आम जनताले दुवै पार्टीको सरकार बन्न सक्ने अनुमान गर्नु अन्यथा होइन तथापि यस बिषयमा काँग्रेससँग कुनै छलफल भएको छैन उनले प्रष्ट पारे । प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता, एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटि सदस्यहरु विचारी यादव, शम्भु गुप्ता, जयप्रकाश थारु, अमर यादव लगायतको उपस्थिति रहेको थियो ।