काबिल सम्बाददाता
पर्सा
जिल्ला प्रशासन कार्यालय पर्साले ७३ मिटरव्याजीका मुद्दा किनारा लगाएको छ । अधिक पैसा कमाउने उद्देश्यले गाउँघरमा लिनदिन गरेका मिटरव्याजीसँगका ७३ वटा मुद्दा जिल्ला प्रशासन कार्यालय पर्साले किनारा लगाएको हो ।
मिटरव्याजी काठमाण्डौसम्म पुगी नेपाल सरकारलाई दवाव दिने क्रम बढेपछि गएको जेठ २४ गतेबाट स्थानीयस्तरबाटै मुद्दा किनारा लगाउन थालिएको थियो । सो क्रममा पर्सामा उक्त संख्यामा मुद्दा आपसी लिनदिन गरी मिलापत्र गराएर सहमति गराई किनारा लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
अहिलेसम्म पर्सामा २ वटा मुद्दा चाही थप प्रकृयाका लागि अगाडी बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गएको आइतबार अर्थात १७ असारसम्म ७३ मुद्दा मिलापत्र गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । गएको जेठ २४ गतेबाट असार १७ गतेसम्म छलफल भएका २ सय २२ संख्या मध्ये गएको आइतबारसम्म दुईवटा मुद्दा भने दर्ता भएको उनको भनाइ छ । ७३ वटा भने मिलापत्र गराएर टुंग्याएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । पर्सामा दर्ता भएका कुल मुद्दाको दर्ता संख्या १ हजार ३ सय २१ छ । तर एउटै मुद्दामा ६÷७ वटासम्म पनि लिनदिन गरेका व्यक्तिहरुको भित्री थप संख्या रहेकोले मिलापत्र भएको संख्या सिधा मुद्दा संख्यामा घटाइए सहि तथ्याँक नआउने उनको तर्क छ ।
पर्सामा हालसम्म गुगल फर्ममा प्रविष्टि गरिएको उजुरी संख्या भने १ हजार ३ सय १० रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।