निर्मला भण्डारी
पर्सा
उखर्माउलो गर्मी खेपेको मध्य तराई बल्ल चिसिएको छ । ४५ डिग्रीसम्मको गर्मी खेपेको मध्य तराई चिसिंदा यहाँको आम जनजीवन पनि सामान्य बनेको छ । सोमबार बिहानैबाट चालु बर्षात्को मनसुनी पानी पर्न सुरु गरेपछि यो क्षेत्र बल्ल चिसिएको हो ।
केही दिनदेखि मुलुकका अन्य ठाउँमा आएको मनसुनी बर्षासँगै औषत गर्मी भने गत हप्ताबाट थोरै मत्थर भएको मध्य तराईमा नै पानी आएपछि बल्ल राहत मिलेको छ । योभन्दा पहिले दुई पटक हल्का धुलो मार्ने मात्रै पानी आएको पर्सा, बारा रौतहट लगायतको यस क्षेत्रमा खेतीका लागि पनि बल्ल आकाशे पानीले आशा जगाएको यहाँका किसानले बताए ।
वातावरण नै सित्तल बनाउँदै भल बग्ने मनसुनी पानी सोमबार बिहानबाट मध्य तराईमा परेको छ । पानीसँगै आकाशको गड्याङ्ग गुडुङ्ग पनि यो पटक मध्य तराईले बल्ल सुनेको छ । योभन्दा पहिले भेलबाडी बग्ने गरी पानी आएर जनधनको क्षति गर्छ कि भनी डरमा बसेको मध्य तराईका पर्सा, बारा र रौतहतका नागरिकलाई पानी नआई कडा घाम र तातो हावा (लु) ले आधा बर्षात् भरी सताएको थियो ।
गएको असार १५ गते अर्थात ‘मानो खाएर मुरी उमार्ने दिनÕ राष्ट्रिय धान दिवसमा समेत कतै–कतै भू–सतहको पानी निकाल्दै र कतै कुलोको पानी लाग्ने ठाउँ खोजी दिवसका लागि दिवस मात्र मनाएको मध्य तराईमा बल्ल सिंचाईको व्यवस्था नभएको ठाउँका किसानले पनि आकाशे पानीबाट धान रोप्ने अवसर जुरेको हो । अब चाहि धान रोप्ने सुरसार हुने भयो पर्साको उदयपुरका किसान शम्भु यादवले बताए । ढिलो गरी आएको पानीले आम जनजीवन अब सामान्य बनेको छ । व्याडमा नै बीउ सुकेर निराश यस क्षेत्रका किसानलाई यो पानीले राहत दिएको उनको भनाइ छ । ‘अब यहाँका किसानको दैनिकी पनि खेत तर्फ धाउने र रोपाईका लागि सुरसार गर्ने भयो, ठूलो राहत भयोÕ उनले भने ।
लामो खडेरीपछि यो बषात्को पानी पर्न थालेकोले वातावरण सहज बन्न थालेसँगै बर्षात्का समयमा हुने विपत्बाट जोगिन भने सर्वसाधारणले पनि सतर्कता अपनाउन पर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पहिले गर्मीले जनजीवन असामान्य थियो भने अब कहीं भेलबाडी आई नदी छेउछाउ र होचो जमिन भएका ठाउँमा बस्ने मानिसलाई अर्को विपत् नआओस् भनी सतर्कता भने अपनाउन पर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । जिल्लाका राज्य संयन्त्रका सबै र स्थानीय पालिकाहरु पनि तैनाथी अवस्थामा भने रहेको उनको भनाइ छ ।