spot_img

ताजा अपडेट

खडेरीले सुखाड पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

तुलसी भण्डारी
पर्सा
आकाशे पानीको प्रतिक्षामा रहेका पर्साका सयौं किसानको हजारौं हेक्टर सुख्खा खेत पारगर्दै जिल्लाको ठोरी ३ बुद्धनगर ( ओडार ) पुगेर पर्सामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । लामो खडेरीले पानी विना फूङ्ग उडेको खेत हेर्दै ठोरीको ओडारमा पुगी पैनीको पानी लाग्ने स्थानीय गंगा खड्काको खेतमा यो बर्षको धान दिवस मनाइएको हो ।
जिल्लाका केही स्थानीय तहमा दिवस मनाउनकै लागि भू–सतहको पानी निकालेर अपवादका रुपमा एकदुई ठाउँमा धान दिवस मनाइएको वाहेक कृषिसँग सम्बन्ध राख्ने राज्य संयन्त्रका स्थानीय अधिकारीहरु सहभागी संयुक्त कार्यक्रम भने ठोरी–३ मा मनाइएको छ । दिवस मनाउनकै लागि छिटफुट गरिएका रोपाईं वाहेक यहाँका किसानले भने ‘मानो खाएर मुरी उब्जाउने’ दिनको पनि सम्झना गर्दै धान दिवस मनाउन मन खुल्ला गर्न पाएका छैनन् । कारण सिंचाईको अभाव र आकाशे पानीको प्रतिक्षाले असार १५ पनि किसानको लागि यतिकै चिप्लिई सकेको ।

विगतका बर्षमा यो अवधिसम्म जिल्लाका किसानले आधा जति धान रोपिसक्ने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताए । यो बर्ष भने बल्ल असार १५ हुँदा रोपाई सुरु गरेको देखियो । तर पनि अझै खेतमा धान रोप्ने लायक पानी परेकै छैन उनले भने । जिल्लाको कुल ४७ हजार १ सय ३० हेक्टर धानखेती योग्य जमिन भए पनि अहिलेसम्म बर्षे धान ३० हेक्टर जतिमा मात्र रोपाई भएको ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताए । राज्यले सिंचाईको व्यवस्था नगर्दा र आकाशे पानीको भर पनि लम्बिदै जाँदा यो बर्ष अधिकाँश किसानको खेत सुख्खा छ । यसको अलावा लामो खडेरीले धानको बीउ नै मरिसकेको कारण मध्य तराईकै किसान प्रताडित हुन परेको यहाँका किसानहरुको गुनासो छ । अब के गर्ने विलखबन्दमा छौं उनीहरुले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अगुवाईमा दिवस


मध्य तराईको पर्सा, बारा लगायतका जिल्लामा छिटफुट धुलो मार्ने पानी एकदुई पटक आए पनि खेतमा पानी जमेर धान रोप्ने गरी भने असारको १५ भइसक्दा पनि आकाशबाट पानी परेको छैन । फलतः लामो खडेरीका कारण नभिजेको हजारौं हेक्टर जमिन हेर्दै शुक्रबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाइ कार्यालय पर्साको आयोजनामा राष्ट्रिय धान दिवस पनि जिल्लाको सूदुरपश्चिममा पर्ने पालिका ठोरीमा पुगेको हुन सक्ने पनि ठोरीका किसानहरुले बताए । उतै खेतमा पानी भए हाकिम साहवहरु यहाँसम्म के आउँथे होला र उनीहरुले तर्क गरे ।


हुन त ठोरीलाई राज्य संयन्त्र र प्रदेश तथा केन्द्रले पनि कामको आश्वासन दिने अनि काम नगर्ने गर्दै उपेक्षा मात्र गर्ने क्रम पनि यो पटकको धान दिवस ठोरीमा मनाइदा भने त्यो क्रमभंग पनि तोडिएको छ । यहि मौकालाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि सदुपयोग गर्दै आइन्दा ठोरीलाई जिल्लाकै राज्य संयन्त्रले पनि उपेक्षा नगर्न सुझाव दिए । केन्द्र सरकार र प्रदेशले त रमणीय ठोरीलाई आश्वासनमा मात्र झुलाउने गरेको छ । तपाई हाकिम साहवहरुले चाही आइन्दा यसो नगर्न होला उनले कटाक्ष गर्दै यर्थाथ भने ।
प्रदेशको बजेट आफ्नै मातहतका निकायमा चट


विगतमा धान दिवस मनाउनकै लागि संघ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्र र कृषि अनुसन्धान निर्देशनालय जस्ता कृषिका लागि जिल्ला र क्षेत्रमा काम गर्ने निकायलाई बजेट विनियोजन गर्ने गरे पनि अहिलेको बर्ष केन्द्र र प्रदेश दुवै तर्फका सरकारले स्थानीय कृषिसँग सम्बन्धित निकायलाई बजेट विनियोजन नगरेको पाइएको छ । जिल्ला स्थित कृषि ज्ञान केन्द्र र कृषि अनुसन्धान जस्ता निकायमा केही बजेट विनियोजन नगरी उपेक्षा गर्नु बिडम्बना भएको त्यहाँका कर्मचारीको पनि तर्क छ । धान खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेका मधेश प्रदेश मातहतका जिल्लामा रहेका तल्लो तहमा जाने रकम कटौति गरिनु राम्रो संकेत नभएको उनीहरुको तर्क छ । यस्तो कार्यले किसानलाई समेत उपेक्षा गरिएको ठहर्ने कृषि अनुसन्धान निर्देशनालयका केही कर्मचारीले पनि गुनासो गरे ।
अनुसन्धानको आफ्नौ पहलमा धान दिवस


यता बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयले पनि आफ्नो परिषर भित्र पर्ने खेतमा राष्ट्रिय धान दिवस मनाएको छ । प्रदेश सरकारले धान दिवस मनाउने बजेट कटौति गरे पनि आफ्नै पहलमा विगतमा झैं दिवसको निरन्तरता दिंदै धान दिवस मनाएको हो ।
निर्देशनालयका प्रमुख विपी यादवको सकृयतामा उस्तै बजेट कटौतिमा परेको पर्सा ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसाद, कृषि सामग्री कम्पनी लि. वीरगन्जका सहायक प्रवन्धक पुरुषोत्तम सिंह सहितको उपस्थितिमा त्यहाँ पनि राष्ट्रिय धान दिवस मनाउने र दही च्यूरा खाने कार्यक्रम गरिएको छ । सो क्रममा कृषिसँग सम्बन्धित निकाय र किसानसम्म पुग्ने बजेट कुनै पनि सरकारले नकाटिदिनु उचित हुने निर्देशनालय प्रमुख यादवले बताए । उनकै सकृयतामा त्यहाँ भएको कार्यक्रम पनि निकै रोमाञ्चक ढंगले सम्पन्न भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ