spot_img

ताजा अपडेट

कार्यवाहक नगरप्रमुखको नेतृत्वमा ४ अर्ब ४२ करोड ३४ लाखको बजेट

काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ७३ करोड २२ लाख २३ हजार सिलिङ्ग बढाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरप्रमुख राजेशमान सिंह माथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बन परेसँगै कार्यवाहक नगरप्रमुख इम्तियाज आलम नेतृत्वको महानगरपालिकाले अघिल्लो बर्षभन्दा अझ बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष ०८३÷०८४ का लागि ल्याएको नीति तथा कार्यक्रम ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजारको आकारमा छ । यो चालु आर्थिक वर्षका लागि सामान्य अवस्थामा महानगर प्रमुख राजेशमान सिंहकै नेतृत्वमा ल्याएकोभन्दा ठूलो हो । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल ३ अर्ब ६९ करोड १२ लाख ४६ हजारको मात्र बजेट ल्याएको थियो । तर यो वर्ष त्योभन्दा ठूलो आकारको बजेट कार्यवाहक महानगर प्रमुख आलमको नेतृत्वको महानगरपालिकाले ल्याएको छ ।
उपप्रमुख कार्यवाहक महानगर प्रमुख बनेपछि सबै वडाध्यक्षहरु मध्ये जेष्ठताको आधारमा वीरगन्ज महानगरपालिकाको आगामी बजेट वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानुले सार्वजनिक गरे । उनले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ५४ दशमलब ३ प्रतिशत हो । त्यसैगरी पूँजिगत तर्फ रु. १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रहेको छ । यो पनि कुल बजेटको ४४ दशमलब ६ प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्था तर्फ भने ५ करोड अर्थात १ दशमलब १ प्रतिशत विनियोजन गरेको वडाध्यक्ष कानुले बताए ।


आन्दानीको श्रोत सम्बन्धमा
आन्दानीको श्रोत तर्फ भने संघीयअन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु.१ अर्ब ९८ करोड २९ लाख, संघीयकै राजश्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार र प्रदेशअन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु.१ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत रु. ४५ करोड, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड र गतवर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट रु. १५ करोड संकलन हुने अनुमान गरिएको छ ।
बजेटको सिलिङ्ग बढेर आए अनुसार आन्दानीका श्रोतको भने भरपर्दो अवस्थाका नहुनुले चालु आर्थिक वर्ष जस्तो आगामी आर्थिक वर्ष पनि घाटाको बजेट हुनसक्ने विरगन्ज महानगरपालिकाका आर्थिक विश्लेषकहरुको भनाइ छ । कारण चालु आर्थिक वर्ष नै हालसम्म समानीकरण अनुदानतर्फ रु. ३३ करोड १६ लाख, राजश्व तर्फ रु.२२ करोड ८३ लाख, सशर्त अनुदानतर्फ रु.९३ करोड ७२ लाख, समपुरक अनुदानतर्फ रु. ७७ लाख र विशेष अनुदान तर्फ १ करोड ३५ लाख गरी कुल १ अर्ब ५१ करोड ८३ लाख मात्र प्राप्त हुनुले आगामी वर्षको पनि संकेत राम्रो नभएको उनीहरुको दावी छ ।
प्रदेशतर्फको स्वेच्छाचारिताले आशंका
चालु आर्थिक वर्षका लागि प्रदेशतर्फबाट आउने भनिएको समानीकरण अनुदानतर्फको २ करोड ७५ लाख, राजश्वतर्फ वाँडफाँडको १ करोड ६७ लाख, सशर्त अनुदानतर्फको १ करोड ७५ लाख र शिषेश अनुदानतर्फको रु ५० लाखलगायत गरी कुल ६ करोड ६७ लाख अनुमान गरिएको बजेट हालसम्म नआउनुले वीरगन्ज महानगरपालिकाको आगामी बजेट पनि सुखद् नहुने आर्थिक विश्लेषकहरुको तर्क गलत भन्न सक्ने अवस्था छैन । आन्तरिक श्रोततर्फ पनि हालसम्म ५३ करोड मात्र संकलित रकमको सिलिङ्ग रहेको आगामी वर्षको बजेट प्रस्तुत गर्दै वडाध्यक्ष कानुले तथ्य सार्वजनिक गरे ।
महानगरपालिकाले असारसम्मको लक्ष्य ७० करोड राखेको छ । यो पनि घाटाकै बजेट रहेको अनुमान आर्थिक विश्लेषकहरुको छ । यस्तो परिस्थितिमा वीरगन्ज महानगरपालिकाले आगामी वर्षका लागि लिएको लक्ष्यमा बजेट श्रोतकै अस्पष्टता देखिएको वीरगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुको तर्क छ । बजेट निकै सन्तुलनको ल्याइए पनि त्यो व्यवहारिक रुपमा जटिल रहेको उनीहरुको भनाइ छ ।

कार्यवाहक नगरप्रमुख आलमले गरे महानगरका लक्ष्य सार्वजनिक
वीरगन्ज महानगरपालिकाले आगामी वर्ष गर्ने नयाँ योजनाको कार्यदिशा र लक्ष्यका बारे कार्यवाहक नगरप्रमुख ईम्तियाज आलमले प्रष्ट खाका सार्वजनिक गरे । उनले जेनजी आन्दोलनमा ध्वस्त बनाइएको महानगरपालिकाको मुख्य प्रशासनीक भवन, वडा नम्बर १०, १४ र २६ को प्रशासनीक भवन निर्माणदेखि शिक्षा, स्वास्थ्य, वन, वातावरण तथा विपत् व्यवस्थापनसम्मको प्रष्ट खाका उनले सार्वजनिक गरेका हुन् । महानगरले ती लक्ष्य तथा उद्देश्य पूरा गर्न सके निकै राम्रा कामहरु पनि रहेको सहभागीहरुको भनाइ छ ।
‘औद्योगिक तथा व्यापारिक शहर, सुशंस्कृति सभ्य हाम्रो वीरगन्ज महानगर’ भन्ने नारा सहित वीरगन्ज महानगरपालिकाको २० औं नगरसभा अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम पालनामा महानगर सकृय भएर उत्रिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोराले बताए । अनुमानित बजेटकै आधारमा अगाडी बढ्दा लक्ष्य पनि भेटिने उनको भनाइ छ ।
१४ वटा स्थानीय पालिका रहेको पर्सामा ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, पोखरिया नगरपालिका, वीरगन्ज महानगरपालिका सहित अधिकांश पालिकाहरुले असार १० भित्र गाउँ सभा तथा नगरसभा गरेका छन् । जुन गाउँसभा तथा नगरसभामा प्रस्तुत योजना तथा लक्ष्य पूरा भए पर्सा जिल्ला समृद्धिको सूचकमा पनि निकै माथि आउने पर्सावासीको ठम्याई छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ