spot_img

ताजा अपडेट

चाँदीको ताज पहिरिने नेतासमेत रास्वपाको क्लिन–स्वीपमा

काबिल सम्वाददाता
वीरगन्ज

विगतका निर्वाचनमा विजयी हुँदा चाँदीको ताज पहिरिएको पार्टीका नेतालाई सर्वनाक लतार्दै पर्सा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धि प्रसाद (हरि) पन्तले विजयी ताज पहिरिएका छन् । पर्सा १ बाट २०७४ र २०७९ को निर्वाचनमा निर्वाचित भई ३ पटक मन्त्री समेत भएका प्रदिप यादवलाई २०८२ को निर्वाचनमा भने पन्तले सरकारी सिन्दुर पहिरिन रोकेका हुन् ।
जनताबाट अनुमोदित भई तेस्रो जित (ह्याट्रिक) को ध्याउन्नमा रहेका यादवलाई पन्तले १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पछाडी पारे । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले घोषणा गरे । उनका निकटतम् प्रतिद्वन्दी यादवले १३ हजार ३० मत मात्र प्राप्त गरेको उनले अन्तिम मत परिणाम घोषणा गर्दै बताए ।
ह्याट्रिकको आकाँक्षी यादवलाई मात्र होइन, पन्तले नेपालको संविधान निर्माणकर्ता (संविधान सभा सदस्य) अनिल कुमार रुँगटालाई पनि पर्सा १ बाट यो पटक पनि अगाडी बढ्न दिएनन् । रुँगटाले झन ११ हजार ८ सय ८५ मत मात्र प्राप्त गरेको अन्तिम मत परिणाम घोषणाले देखाएको छ । यो परिणामले रुँँगटा तेस्रो स्थानमा मात्र रहेको देखिएको छ ।
२०७४ र २०७९ को निर्वाचनमा मधेशी जनअधिकार फोरम र जनता समाजवादी पार्टी (जसपा) नेपाल हुँदै निर्वाचत हुँदा यादवले चाँदीको ताज पहिरिएका थिए । पर्सा १ बाट उनी दुईपटक विजयी भए । मधेश आन्दोलनमा पर्सामा नेतृत्व समेत गरेका यादव सो समयमा एमालेलाई सबैभन्दा चर्को गाली गर्ने नेतामा पर्थे । तर यो पटक भने उनी एमालेबाटै उमेद्वार बने । रास्वपाबाट राजनीतिमा उदाएका पन्द राजनीतिका नयाँ खेलाडी भए पनि उनले पुराना राजनीतिका खेलाडी यादव, रुँगटालगायत आफ्ना ३० प्रतिस्पर्धीलाई पछि पार्दैै पहिलो पटक संसद छिर्ने भएका हुन् ।
पर्सा २ मा पनि साहको रोमाञ्चक जीत
पर्साको क्षेत्र नम्बर २ पनि पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता अजय कुमार चौरसियालाई १८ हजार ८ सय ५० मतको भारी अन्तरले रास्वपाकै सुशील कुमार साहले पराजित गरेका छन् । चौरसिया पनि पर्साका चर्चित नेता मध्येका पुराना राजनीतिक खेलाडी हुन् । उनी पनि पर्साबाट पटक, पटक निर्वाचित भई दुई पटक मन्त्री बनिसकेका अग्रज नेता हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षबाट राजिनामा दिएर रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उमेद्वार बनेका साहले घण्टी छापको लहरमा सहजै पूर्वमन्त्रीलाई नै पछारे । वीरगन्ज १० को वडाध्यक्ष पदमा २०७४ मा साह पराजित भएका थिए । मधेशको राजनीतिक आन्दोलनमा मधेशी जनअधिकार फोरम हुँदै जसपा नेपालबाट २०७९ मा वीरगन्ज १० को वडाध्यक्ष बनेका उनी २०८२ को निर्वाचन अघि वडाध्यक्षबाट राजिनामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका उनी पनि संसद छिर्ने नयाँ अनुहार हुन् ।
पर्सा ३ मा पनि रास्वपाकै चौरसिया विजयी
त्यसै गरी पर्साको क्षेत्र नम्बर ३ मा पनि रास्वपाका तर्फबाट रामाकान्त चौरसियाले बाजी मारेका छन् । पेशाले चर्चित ठेकदार चौरसियाले पनि पूर्व मन्त्ती सुरेन्द्र चौधरीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी बनेका हुन् । पर्सा क्षेत्र नम्बर ३ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामाकान्त प्रसाद चौरसियाले कुल २९ हजार ६७९ मत प्राप्त गर्दै पूर्वमन्त्री चौधरीलाई पछि छोडेको पर्सा ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले बताए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत श्रेस्ठले अन्तिममत परिणाम घोषणा गर्दै बताए । नेकपा एमालेका रुपेश कुमार पाण्डेयले भने ११ हजार ९१४ मत प्राप्त प्राप्त गरेको उनले बताए । नेकपाका छोटेलाल प्रसाद पाण्डेय २ हजार १३७ र जनमत पार्टीका मालती कुमारी कुशवाहाले ५८३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
पर्सा ४ मा पनि पूर्वमन्त्री रिजाललाई हराउँदै शाक्य विजयी
पर्साका ४ वटा निर्वाचन क्षेत्र मध्ये ४ नम्बर क्षेत्रमा पनि रास्वपाका तर्फबाट टेक बहादुर शाक्यले नेपाली काँग्रेसका अग्रज नेता तथा पूर्वमन्त्री रमेश रिजाललाई फराकिलो मतान्तरले पछि पार्दै विजयी बनेका छन् । अन्तिम मत परिणाम अनुसार पर्साको क्षेत्र नं ४ मा शाक्यले पूर्वमन्त्री रिजाललाई १५ हजार ४ सय ७२ मतको भारी अन्तरले पछि पारेका छन् । शाक्यले कुल २८ हजार ६ मत प्राप्त गरेको पर्साको ४ नम्बर क्षेत्रका निर्वाचन अधिकृत नुतन कुमारी झाले बताइन् । उनका निकतम प्रतिदन्दी रुख छापका कांग्रेस उमेद्वार रिजालले कुल १२ हजार ५ सय ३४ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत झाले घोषणा गरिन् । त्यसै गरी सुर्य चिन्नका जालीम मियाले १२ हजार १ सय ४५ मत मात्र प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन परिणामले देखाएको छ ।
शाक्य यो भन्दा पहिले मधेशमा सक्रिय राजनीतिक दलमा पनि सक्रिय थिए िप्रदेश सभा सदस्यमा उमेद्वार बनिसकेका शाक्य यो पटक भने प्रतिनिधि सभा सदस्य पदमा चाही विजयी भएको चार नम्बर क्षेत्रका मतदाताको भनाइ छ ।

पर्सामा देखिएको २०८२ को मत परिणामले यहाँका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले बाजी मारेको छ । यसले अग्रज राजनीतिका खेलाडी तथा पूर्वमन्त्रीहरु भनिएका पोख्त मानिने सबै नेताहरुको यो पटक संसद छिर्ने बाटो बन्द भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ