काबिल सम्वादाता
वीरगन्ज
पहिलेका निर्वाचित हुने पुराना अनुहार सहित पर्सामा कुल १०५ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उमेद्वारी दर्ता गराएका छन् । पर्साका कुल ४ निर्वाचन क्षेत्रमा नयाँ पुराना सबै उमेर समूह गरी कुल १०५ जनाले उमेद्वारी मनोनयन गराएका हुन् ।
पर्साको क्षेत्र नम्बर १, २ र ४ मा पहिले निर्वाचित भई मन्त्री समेत बनेका क्रमशः प्रदिप यादव, अजय चौरसिया र रमेश रिजाल २०७९ को निर्वाचनमा निर्वाचित पुराना अनुहार हुन् । पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका नेता राजकुमार गुप्ता भने भ्रष्टाचारको मुद्दामा पुर्पक्षसम्म पुग्दा एमालेले त्यस ठाउँमा भने एमालेमा नदेखिएका रुपेश पाण्डेलाई सोमबार मात्र पार्टी प्रवेश गराई अघि सारेको छ । पुराना मध्ये जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित निवर्तमान खानेपानी मन्त्री समेत रहेका प्रदिप यादव पनि यो पटक जसपाबाट नभई सोमबार (हिजो) मात्र एमालेमा प्रवेश गरी एमाले पार्टीकै तर्फबाट पर्साको क्षेत्र नम्बर १ का उमेद्वार बनेका छन् ।

पर्साको क्षेत्र नम्बर १ मा ३० को मनोनयन

पर्साको क्षेत्र नम्बर १ मा यादव सहित नेपाली कांग्रेसका अनिल रुंँगटा राप्रपाबाट बरिष्ठ बलाकार नन्दु श्रीवास्तव, जसपा नेपालका राम नरेश प्रसाद यादव, रास्वपाका जिल्ला सभापति समेत रहेका बुद्धि प्रसाद (हरि) पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफ, नेपाली कम्यूनिष्ट पार्टीका अजय चौरसिया (सीए), उज्यालो पार्टीका रामकिशोर सिंह पराग, लगायत आधा दर्जन स्वतन्त्रले पनि उमेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । पर्साको क्षेत्र नम्बर १ मा कुल ३० जनाले उमेद्वारी मनोनयन गराएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताउनु भयो ।

पर्साको क्षेत्र नं. २ मा ३२ को मनोनयन

लामो इतिहास बोकेका पुराना राजनीतिक दलबाट नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ मा अजय चौरसियालाई नै अघि सारेको छ । उनी पहिले त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद थिए । एमालेले भने यो पटक पर्साको क्षेत्र नम्बर २ मा जेनजी उमेद्वार रिमा कुमारी यादवलाई अगाडी सारेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका मनोज चौधरी, राप्रपाबाट विना जयसवाल (निवर्तमान संसद), रास्वपाबाट सुशिल कुमार कानु, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट अभिताव बच्चन दास तत्मा, नेपाल जनता पार्टीका सन्तोष कुमार पटेल, जसपा नेपालबाट उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका अशोक अग्रवाल (टेवानी) लगायत ३२ जनाले मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आयार्यले बताउनु भयो ।

क्षेत्र नं. ३ मा १९ को मनोनयन
पर्साको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पुराना नेता सुरेन्द्र चौधरी, एमालेका रुपेश पाण्डे, रास्वपाका रामाकान्त चौरसिया, नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव, जनमत पार्टीका मालती कुमारी, उज्यालो पार्टीका रामरुप प्रसाद साह र केही स्वतन्त्र सहित १९ जनाले उमेद्वारी मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले बताउनु भयो ।
पर्सा ४ मा २४ ले गरे मनोनयन
मधेश प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्साको ठोरी समेत रहेको यहाँको क्षेत्र नम्बर ४ मा पनि पहिले निर्वाचित हुने नेपाली कांग्रेसका रमेश रिजाल (पूर्वउद्योग मन्त्री) र उनकै निटतम प्रतिद्वन्दी एमालेका जालिम मिया, संविधान सभा सदस्य तथा नेपाली कम्यूनिष्ट पार्टीका जयप्रकाश थारु पुनः आमने सामने हुने भएका छन् । उनीहरुसँगै नयाँ अनुहारहरुमा रास्वपाका टेकबहादुर शाक्य, राप्रपाका शान्त कुमार जोशी, श्रम संस्कृति पार्टीका विष्णु लोप्चन, जनमत पार्टीका सिमा देवी कलवार, आजपाका इमदाद गद्दी, जसपा नेपालका कृपासिन्धु प्रसाद चौधरी सहित ११ स्वतन्त्र गरी कुल २४ जनाले मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत नुतन झाले बताउनु भयो ।

पुराना अनुहार विस्थापन गर्न भन्दै नयाँ अनुहार पनि पर्सामा धेरै प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको उमेद्वारी दर्ताको तथ्याँकले देखाएको छ । तथापि कडा प्रतिस्पर्धा भने पुरानाहरुसँगै हुन सक्ने दर्तास्थल पुगेका प्रत्यक्षदर्शीहरुको आँकलन छ । नयाँ अनुहारहरुमा केही वडा तहका नेता पनि उमेद्वार बनेकोले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नयाँहरुलाई पुरानैले बाजी मार्लान् जस्तो भएको उनीहरुको तर्क छ । तथापि अन्तिम परिणामका लागि फागुन २१ कुर्नैै पर्ने उनीहरुले तर्क गरे ।
प्रतिक्रिया लेख्नुहोस्

