spot_img

ताजा अपडेट

निर्वाचन अधिकृतको कार्यालय पर्सामा पनि स्थापना

काबिल सम्वाददाता
   वीरगन्ज 
निर्वाचनको अनुसूचि ३ को दफा १३ को उपदफा २ अनुसार पर्साका पनि ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्साका ३ लाख ७६ हजार ५ सय १३ नागरिकको मताधिकार सुनिश्चित गर्न यहाँका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तय भए अनुसार पर्साका पनि चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए । रेग्मी पर्सा जिल्ला अदालतका मुख्य न्यायधिश हुन् । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिएको उनको भनाइ छ ।
क्षेत्र चार, अधिकेत चार
पर्सा क्षेत्र नं. १ मा मुख्य निर्वाचन अधिकृतको समेत जिम्मेवारी सम्हाल्ने गरी पर्सा जिल्ला अदालतका माननीय न्यायधिश गायत्री प्रसाद रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको छ । त्यसैगरी क्षेत्र नं.२ को निर्वाचन अधिकृतमा जनकपुरको अस्थायी इजलास वीरगन्जका उपरजिष्ट्रार मधुसुदन आचार्य, क्षेत्र नम्बर ३ मा उच्च सरकारी वकिल कार्यालय वीरगन्जका उपन्यायधिवक्ता बुद्धिलाल श्रेष्ठ र पर्साको क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार नुतन झालाई निर्वाचन अधिकृतको रुपमा जिम्मेवारी तोकिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताए । उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत समेत रहेका छन् ।
माघ ९ गते उमेद्वारी मनोनयन 
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारको मनोनयन आगामी मंगलबार अर्थात माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ सम्मदर्ता हुने सार्वजनिक निर्वाचन कार्यतालिमा उल्लेख गरिएको छ । त्यसै गरी उमेद्वार दर्ता भएकाहरुको सूचि प्रकाशन सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म गर्ने, मिति माघ ७ गते १० बजेदेखि ३ बजेसम्म उमेद्वार उपर विरोधमा उजुरी दिन सकिने पर्साको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताए । मनोनयन र उजुरी उपर जाँचबुझ पनि माघ ७ गते नै ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म गर्ने कार्यतालिका बनेको उनको भनाइ छ । उमेद्वारहरुले माघ ९ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने पनि सार्वजनिक निर्वाचनको कार्यतालिकामा जनाइएको छ । यो सँगै उमेद्वारको अन्तिम नामावली यही आगामी माघ ९ गते दिउसो १ बजेदेखि ३ बजेभित्र प्रकाशन गर्ने र उमेद्वारहरुलाई निर्वाचन चिन्ह पनि माघ ९ गते ४ बजेदेखि ७ बजेसम्म प्रदान गरिने कार्यतालिका बनाइएको पर्साको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ ।
२४ हजार २९ मतदाता पर्सामा थपिए
अघिल्लो निर्वाचनको समयमाभन्दा पर्सामा २४ हजार २९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पर्सा प्रमुख अनामिका रौनियारले बताइन् । यो संख्या सहित पर्सामा अब कुल कुल ३ लाख ७६ हजार ५ सय १३ मतदाता भएको उनको भनाइ छ । जसमा १ लाख ६४ हजार ४ सय २१ म्हिला, २ लाख १२ हजार ७७ पुरुष र १५ जना अन्य गरी कुल उक्त संख्या पुगेको उनको भनाइ छ ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? 
पर्साको क्षेत्र नम्बर १ मा पुरुष ५० हजार ४ सय ६ जना, महिला ३९ हजार २ सय ३० जना र अन्य २ जना गरी ९९ हजार ६ सय ३८ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्राप्त मतदाता संख्यामा उल्लेख भएको पर्साका मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए । त्यसैगरी क्षेत्र नम्बर २  मा पूरुष ५३ हजार ७ सय १७, महिला ४१ हजार ४ सय र अन्य ३ जनागरी कुल ९५ हजार १ सय २० जना रहेका छन् । पर्सा क्षेत्र नम्बर ३ मा पनि पुरुष ५४ हजार ८ सय ९४ जना, महिला ४१ हजार ६ सय ४४ र अन्य ४ जना गरी जम्मा ९६ हजार ५ सय ४२ जना र क्षेत्र नम्बर ४ मा पनि पुरुष ५३ हजार ६० जना, महिला ४२ हजार १ सय ४७ जना र अन्य ६ जना गरी ९५ हजार २ सय १३ जना गरी पर्सा जिल्लामा कुल ३ लाख ७६ हजार ५ सय १३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि जनाएको छ ।
 मतदान केन्द्र ४४१ र मतदान स्थल १६७
पर्साको क्षेत्र नम्बर १ मा ४८ मतदान स्थल र १ सय १४ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसै गरी क्षेत्र नम्बर २ मा ३८ मतदान स्थल र १ सय १० मतदान केन्द्र, क्षेत्र नम्बर ३ मा ४७ मतदान स्थल र १ सय १४ मतदान केन्द्र गरी कुल मतदान स्थल १ सय ६७ र कुल मतदान केन्द्र ४ सय ४१ रहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ