काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशको अवस्था र व्यवस्था नबद्लिएसम्म अब मुलुक अगाडी बढ्न नसक्ने बताएका छन् । पार्टीको दलबल सहित मंगलबार वीरगन्ज आइपुगेका अध्यक्ष लिङदेनले बुधबार पर्सेली संचाकर्मी सामु यस्तो बताएका हुन् ।
उनी लगायत पार्टीका शिर्षस्थ नेताहरु ‘मधेशका कुरा सुन्ने र आफ्ना कुरा भन्ने’ अभियान अन्तर्गत यहाँ आइपुगेको जनाएका छन् । ‘नेपाल आर्थिक रुपले धारासायी भइसक्यो, यो के ले हो ? भन्दा यहि संघीय गणतान्त्रिक शासन व्यवस्था हो’ मुलुकमा उत्पादन तथा रोजगारी छैन । भएका उद्योगधन्दा सरकारले नै सारा बन्द गराएर नेपाली युवालाई अरेवीयनका नोकर उत्पादन गरिरहेको छ । यसरी अब मुलुक चल्न सक्दैन, यस्तो शैलीले चल्नु पनि हुँदैन । त्यसैले यसको अवस्था र व्यवस्था परिवर्तन गर्ने समय आइसकेको छ’ उनले भने ।
‘संघीय व्यवस्थाको कारण राजनीतिक जनप्रतिनिधि मात्र ३६ हजार बढि जनताको चर्को करबाट पाल्नु परेको छ । राष्ट्रपति मात्र नभई पूर्व राष्ट्रपति, उपराष्ट्रपति लगायतलाई पनि भव्य सेवा सुविधा दिइरहनु पर्ने । नेता र मन्त्रीका आगेपिछे सबलाई गरिब जनताको करबाट पाल्नु पर्ने । यो आर्थिक भार अब मुलुकले धान्न सक्दैन । संसद संख्या पनि सानो राखी खर्च कटौति गर्न यो अवस्था र व्यवस्था दुवै परिवर्तन गर्नुपर्छ । विगतमा यो व्यवस्था ल्याउन जनताले गरेको त्याग र बलिदानको समिक्षा गर्ने समय आइसकेको छ । अब ढिलो गर्नु हुन्न’ उनले विस्तृतमा बताए ।
‘राम्रो शासन व्यवस्थाका लागि गाउँका जनताले पनि देशको प्रधानमन्त्री आफै प्रत्यक्ष भोट हालेर चुन्न पाउनु पर्ने राप्रपाको नीति हो’ अध्यक्ष लिङदेनले भने । ‘जुन प्रधानमन्त्रीले पाँच वर्षसम्म निश्चित भएर देश विकासमा काम गर्न पाओस’् उनले थपे । विचार न सिद्धान्त केही नमिलेका दलहरु केवल स्वार्थका लागि मात्र गठबन्धन गरेर अगाडी बढेका छन् । यो भरे हो कि भोली हो कतिखेर गठबन्धन भत्किने हो भनी सुन्न पर्छ । अनि अस्थिर सरकारबाट जनताको हितमा कसरी काम हुन्छ ? उनले प्रतिप्रश्न गरे ।
मंगलबार वीरगन्जमा भएको आमसभामा मुलुकको खर्च कटौतिका लागि संघीयता मात्र नभई अब ‘राष्ट्रिय सभा’ समेत खारेज गरिनु पर्ने बताएका अध्यक्ष लिङदेनले बुधबार यहाँको पत्रकार सम्मेलनमा भने यो कुरा दोहो¥याएनन् । उनले सरकार गिराउने र भत्काउने खेल सदाका लागि बन्द गर्न अब राजनीतिक अवस्था र व्यवस्था दुवै बदल्न पर्नेमा भने जोड दिए । राप्रपा अहिले पनि एक प्रकारको आन्दोलनमा नै रहेकोले अहिंसात्मक र भद्र आन्दोलनबाट सबै नागरिकको हित हुने र अभिभावकका रुपमा राजतन्त्र पनि अट्ने व्यवस्था ल्याउने दिशातर्फ राप्रपा अगाडी बढेकोले सबै साथ दिनु पर्ने उनले आग्रह गरे । पार्टीले आगामी चैत २७ गते बाट काठमाण्डौमा प्रदर्शन गर्ने तयारी गरेको पनि आन्दोलनको एउटा चरण भएको उनको तर्क छ ।
सहकारी काण्डमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा भने अध्यक्ष लिङदेनले नैतिकताको आधारमा आफै छानविन गर्न गृहमन्त्रीले बाटो खोलिदिनु पर्नेमा त्यसो नगरेको भन्दै उहाँले आफू माथि लागेको आरोप छानविन गर्न बाटो प्रशस्त गरिदिनु पर्ने उनले सुझाव दिए । कांग्रेस, एमाले र माओवादी लगायत नेपालका प्रायः सबै पार्टीका शिर्ष नेता कुनै न कुनै काण्डमा मुछिएकोले उनीहरुबाट देश र जनताले हित नहुने अध्यक्ष लिङदेनको दावी छ ।
अन्य पार्टीको पत्रकार सम्मेलन झैं राप्रपाले कसैको अध्यक्षता वा आसन ग्रहण गराउने समय पनि नखर्ची कार्यक्रम चलाउने मानिस परिचालन समेत नगरी सीधा अध्यक्षले आफ्ना विचार राखेका थिए । त्यसपछि संचारकर्मीहरुको जिज्ञासा लिने र उत्तर दिने फरक शैली पनि अपनाएको छ । पत्रकार सममेलनमा पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता तथा पार्टीका सचेतक ज्ञानेन्द्र शाही, प्रचार विभाग उपप्रमुख खुश्बु ओली प्रतिनिधि सभा सांसद विना जयसवाल लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्