spot_img

ताजा अपडेट

जीतपुरसिमराको नीति तथा कार्यक्रममा सार्वजनिक विकास प्राथमिकता

- Advertisement -

सिमरा । निर्धारित समयभित्र नीति तथा कार्यक्रम गर्न पर्ने भएपछि आगामी आर्थिक बर्षका लागि अहिले देशैभरका स्थानीय तहहरुले पनि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रम जारी छ । सो क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले पनि आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाको अमलेखगञ्जस्थित होटल क्यु टवान्टीमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 


कार्यक्रममा नगरले एक वर्षे जनप्रतिनिधिको कार्यकालमा गरेका काम र आयोजनालाई २२ बुदामा समेटेको छ । उपमहानगरको कार्यसम्पादनमा सरलता ल्याउन भन्दै ८ वटा ऐन, १४ वटा कार्यविधि र ३ वटा निर्देशिका गरी २५ वटा स्थानीय कानून बनाइसकेको नगरले बनेको कानून कार्यान्वायनमा ल्याउन पनि यसै वर्षदेखि कसरत गरिरहेको जनाइएको छ ।

नगरले आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार, सामुदायिक विद्यालय समायोजन, दरवन्दी मिलान, पहिलो पटक हिउँदे नगरसभा, सार्वजनिक जग्गा संरक्षण अभियान, काठमाण्डौ महानगरसंग भगीनी सम्बन्धको प्रकृया, भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा धनी बितरणको प्रकृयाको सुरुवात लगाएतका काममा नगरले एक वर्ष खर्चिएको भन्दै नगर प्रमुख पौडेलले आगामी वर्ष नीति तथा कार्यक्रममा समेटिएका आयोजनालाई पूर्ण कार्यान्वयनमा जोड दिने बताए ।

यसैगरी नगरले यो वर्ष नगरको सेवा प्रवाह नीतिमा प्रभावकारीता ल्याउने भएको छ । राजश्व तथा आर्थिक प्रशासनको क्षेत्रमा पनि महत्वकाँक्षी नीति बोकेको नगरले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सहकारी सुशासन र फोहरमैला व्यवस्थापनमा बिशेष नीति लिएको छ ।


महिला पुनः स्थापना केन्द्र स्थापना गरिने ः

नगरले महिला पुनः स्थापना केन्द्र स्थापनाको लागी नीति बनाएको छ । महिला हिंसा वा कुनै पनि दमन वा अन्यायमा परेका महिलाहरुको व्यवस्थापनका लागी यो नीति बनाएको हो । कुनै पनि कारणले हिंसापछि मानसिक रुपमा बिछिप्त भएका महिलाहरुलाई यो केन्द्रले संरक्षण गर्नेछ । त्यसैगरी नगरका महिलाहरुको हकहित र कुनै पनि सामाजिक मानसिक समस्यामा परे पुनः स्थापना केन्द्रद्धारा उपचार पद्धतिको व्यवस्था मिलाउने गरी नीति बनाइएको हो ।
नगरमा अन्यायमा परेका वा पारिएका, घरबार बिहिन वा कुनै पनि कारणबाट बिस्थापित भएका महिलाहरुको व्यवस्थापन र न्याय सम्पादनका क्रममा अनुसन्धान वा अन्य कुनै पनि कारणले थुनामा राख्नुपरे पनि यो केन्द्रले सुरक्षा प्रत्याभूति सहित व्यवस्थापन गर्ने भनिएको छ।


स्वयमसेवक शिक्षक भर्ना

नगरले सामुदायिक बिद्यालयको व्यवस्थापनमा पनि आगामी वर्ष बिशेष योजना बनाएको छ । दरवन्दी मिलान र विद्यालय मर्जरको अभियान संचालन गरिसकेको नगरले यो वर्ष नगरका विद्यालयमा रिक्त रहेका वा अस्थाई रुपमा नियुक्त भएका शिक्षकहरुको व्यवस्थापनका लागी स्वयम सेवक शिक्षक नियुक्त गर्ने भएको छ । सामुदायिक विद्यालयको लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन यो वर्षदेखि लेखांकन सफ्टवेयर पूर्ण रुपमा लागु गर्ने भएको छ । यस्तै नगरले आफ्नै पाठ्यक्रमको विकास गरी शिक्षालाई सिपसंग जोडने, कक्षा ९ सम्मको परिक्षालाई नगर मातहतमा ल्याउने, एक विद्यालय एक नर्स कार्यक्रमलाई संचालन गर्ने लगाएतका नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख पौडेलले बताए । नगरले आफ्ना नगरका विद्यार्थीको प्रोत्साहनका लागी एम.वि.वि.एस. र ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने समेत योजना रहेको उनको भनाइ छ ।

प्लाष्टिक झोला विस्थापन
यो वर्षदेखि नगरले प्लाष्टिक झोला विस्थापनको नीति लिएको छ । प्रारम्भिक चरणमा २० माइक्रोनभन्दा माथिका झोला विस्थापन गर्दै विकल्पको व्यवस्था खोजी गरिने र कागजको झोला बिक्रीवितरण र उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ ।

टाँगियावस्ती स्थानान्तरणमा न्यायोचित भूमिका निर्वाह गर्ने ः

नगरले १६ नम्बर वडामा पर्ने टाँगियावस्ती स्थानान्तरणका लागी कार्यकम गर्ने भएको छ । दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागी नेपाल सरकार र प्रदेश सरकारको कार्यक्रममा उल्लेख भएको हुँदा उक्त क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुसंगको समन्वय र सहकार्यमा पहल थाल्ने भएको छ । जसका लागी स्थानीयवासीलाई न्यायोचित ढंगले आवश्यक व्यवस्थापन गरेर मात्रै आयोजनाको काममा पहल गरिने नीति जितपुरसिमरा उपमहानगरपालिकाले ल्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ