spot_img

ताजा अपडेट

गलत प्रचारका बीच भव्य संविधान दिवस मनाइयो

- Advertisement -

काबिल सम्वाददता
वीरगन्ज
संविधान प्रदत्त दायराभित्र पसी सत्ता र भत्ताको सबै स्वाद चाखेका केहीले कालो दिवसको स्वर निकाल्दै गरेको वीरगन्जमा पनि संविधान दिवस भव्य रुपले मनाइयो । के खुल्ला ठाउँ, के विद्यालय के पार्टी कार्यालय ? अन्यत्र झैं अुनकुल अनुसार सबैतिर राष्ट्रिय पर्वका रुपमा वीरगन्जमा पनि संविधान दिवस मनाइएको हो ।
२०७२÷०७३ मा एमालेका शालीन नेता स्व.मनमोहन अधिकारीको शालिक तोडिएको र एमालेको पार्टी कार्यलय आगजनी सहित तोडफोड गरिएकै ठाउँमा पनि यो पटक राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइएको थियो । मधेश आन्दोलनका समयमा मधेशका आन्दोलनकारीले वीरगन्ज महानगरपालिकास्थित रामगढवामा रहेको एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड मात्र गरेका थिएनन् । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीको शालिक समेत तोडफोड गरी फालिदिएका थिए । सो समयदेखि एमालेले संविधान दिवस पार्टी कार्यालयमा नै आयोजना गरी मनाउने आँट गरेको थिएन ।
तर यो पटक भने ८१ असोज ३ गते अर्थात बिहिबार नेकपा एमालेको आयोजनामा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै त्यही ठाउँमा संविधान दिवस मनाइयो । साविकमा झारपातले भरिएको स्व.अधिकारीको शालीक रहेको ठाउँ पनि सरसफाई गरी पुनः शालिक अनावरण गर्ने तयारी सहित संविधान दिवस पनि भव्य रुपमाले मनाइएको थियो ।


राष्ट्रिय पर्व संविधान दिवस मनाउने अगुवाई पर्साका एमाले पर्साले गरेको हो । त्यसकार्यक्रमको अध्यक्षता नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माले गरेका थिए । सो कार्यक्रमा एमाले पर्साका उपाध्याक्ष मनोज गुप्ता, सचिव महेश दास लगायत प्रदेश र जनवर्गीय संगठनका अगुवाहरुको पनि सकृय उपस्थिति रहेको थियो । वीरगन्जमा संविधान दिवस मनाइएको यो एउटै मात्र कार्यक्रम भने होइन । संविधान दिवस बिहिबार मात्र नभई बुधबार बिहानबाटै वीरगन्जमा बिभिन्न कार्यक्रम गरी मनाउन सुरु गरिएको थियो ।
बुधबार बिहान स्थानीय ज्ञान्दा एकेडमी स्कूलमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यापक मन्थन भएको थियो । बुधबार साँझ नै वीरगन्जको कानून पढाउने ‘वीरगन्ज स्कूल अफ ल’ ले दीप प्रज्वलन गर्दै वीरगन्जको घण्टाघर चोकमा भव्य कार्यक्रम गरेको थियो । बिहिबार झन नेपाली कांग्रेस, एमाले लगायत विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुले पनि संविधान दिवस मनाएका छन् । स्थानीय राज्य संयन्त्रले पनि मधेश आन्दोलनको इपिसेन्टर वीरगन्जमा नै संविधान दिवस मनाएका छन् । मधेश प्रदेश सरकारले समेत यो वर्ष राजधानी जनकपुरधाम धनुषामा भव्य रुपले संविधान दिवस मनाएको छ ।
संविधान असंशोधनीय दस्तावेज होइन ः
जनताका छोराछोरीले नै संविधान सभाबाट ल्याएको संविधान वेद, कुरान जस्तो असंशोधनीय नभएकोले जनताको चाहना र मुलुकको आवश्यकताका आधारमा संशोधन गर्न सकिने कार्यक्रममा सहभागीहरुले बताएका थिए । प्राप्त अधिकारलाई उपेक्षा गर्ने छुट कसैलाई नभएको भनी दिवस मनाउनेहरुले दावी पनि गरेका थिए । कुनै पनि प्रजातान्त्रिक मुलुकमा सबैको विचार एक हुन्छ भन्ने हुँदैन । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि संविधान जारी हुँदा सबैको भावना समेटिएको थियो भन्ने थिएन । इतिहास साक्षी छ । नेपालमा पनि अधिकाँश कुरा संविधानमा समेटिएका छन् । थोरै केही छुटेका बिषयलाई ठूलो ईसु बनाएर संविधान नै असुरक्षित पार्ने छुट कसैलाई नहुने उनीहरुको तर्क थियो । नेपालको संविधान पनि संशोधन गरी जनपक्षीय संविधान बनाउन सकिने कार्यक्रमका वक्ताहरुको जोड थियो ।
बाहिरी हल्ला बेकार ः अधिवक्ता सर्राफ
कार्यक्रमका मुख्य वक्ता अधिवक्ता हरेराम सर्राफले यो संविधानको मर्म नबुझी नागरिकलाई दिग्भ्रमित पार्ने प्रयत्न कुनै–कुनै कोणमा सुनिदैछ । तर संविधान भित्रै बसेर यसको फाइदा लिएका राजनीतिक दल र नेताहरुले जनतालाई गलत सूचना दिन छुट नभएको बताएका थिए । दिनरात संविधानका वारे वकालत गर्दै आएका अधिवक्ता सर्राफले वर्तमान संविधान विगतका संविधान जस्तो नभएको भन्दै यसलाई हलुका ढंगले कसैले पनि टिप्पणी नगर्न नहुने सुझाव दिएका थिए । संविधान विरोधीका हल्लाका पछाडी कसैले पनि पर्न जरुरी नभएको भन्दै उनले यो संविधानमा छुटेका कुरा एउटा विज्ञ आयोग बनाई समेटर संसदमा पठाई त्यहाँको गणपूरक संख्याले परिमार्जन गर्न सक्छ । यसमा ठूलो समस्या छैन उनले तर्क गरेका थिए ।
संविधानमा नै समानुपातिक र समावेशीका कुरा स्पष्ट लेखिएकाले ठूला केही दल वा सरकारले यसो गर्दैछ भन्ने गलत हल्ला फैलाएका भरमा यो संविधान परिवर्तन हुन नसक्ने उनको दावी थियो । नेपालका राजनीतिक दलका कतिपय नेताहरुको जनता भण्काउने प्रचारवाजी ठिक होइन । यो संविधान सदनको दुईतिहाइ विना एक शब्द पनि परिवर्तन हुन सक्दैन । अनि बाहिर भ्रामक प्रचार गर्नुको कुनै तुक नभएको उनको तर्क थियो । यो कुरा उनले संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालय, पर्सामा आयोजित कार्यक्रममा बोलेका थिए ।
कालो दिवसको कुरा गर्दै आएका केही मधेश केन्द्रित दलका स्थानीय नेताले चाही विगतको निरन्तरता भएको दावी गरे । उनीहरुले दलको सर्कुलरको नूनको सोझो गरेका थिए । सो क्रममा आम जनता पार्टीका केही स्थानीय नेता कार्यकर्तालाई संविधानको अन्त्येष्टी कार्यक्रम भनी गर्न थाल्दा सुरक्षाकर्मीले नियन्त्रणमा पनि लिएको थियो । संविधान भित्र रहेर सत्ता र भत्ताको स्वाद खाने अनि कालो दिवस भनी जनतालाई झुक्याउने कदम आफैमा गलत भएको स्थानीय बुद्धिजिबीहरुको पनि टिप्पणी रहेको पाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ