काबिल सम्वाददाता
वीरगन्ज
आर्थिक मन्दी र अर्थ राजनीति निकासका सवालमा शुक्रबार ‘आर्थिक नगरी वीरगन्जमा अर्थतन्त्रका सवालमा मन्थन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको अगुवाईमा मुलुककै आर्थिक राजधानी वीरगन्जमा अर्थ र अर्थ राजनीतिका बारे मन्थन गरिएको हो ।
यो कार्यक्रममा रास्वपामा राष्ट्रिय उपाध्यक्ष डा.स्वर्णीम वाग्ले मुख्य अतिथि थिए । मधेश प्रदेश उद्योग बाणिज्य महासंघका प्रतिनिधि, अर्थ विश्लेषक र यहाँका विभिन्न उद्योगी व्यवसायी लगायतको बाक्लो उपस्थितिका बीच ‘आर्थिक मन्दी र अर्थ राजनीति निकास’ बिषयमा गहिरो मन्थन भएको छ । लामो समय नेपाली कांग्रेसमा रहेर योजना आयोगका उपाध्यक्ष समेत भएका अहिलेको रास्वपाका उपाध्यक्ष डा. वाग्लेले पुराना राजनीतिक दलहरुले मुलुकलाई आर्थिक निकास दिन नसक्ने आरोप लगाए । २०८४ मा आफ्नो पार्टीको सरकार बन्ने गरी जनमत प्राप्त गरे एक पटक जोखिम मोलेर देशको आर्थिक संरचना नै उल्टिने गरी आर्थिक सुदृढीकरणमा जुट्ने उनको दावी छ । वित्तीय क्षेत्रका बारे अलि कुरा चपाएर बोलेका उनले आफ्ना पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएको सहकारी तर्फको कुरा खासै कोट्याएनन् । आर्थिक क्षेत्र सुदृढीकरण तर्फ भने उनले समग्र अभिव्यक्ति दिंदै ‘म्याक्रो र माईक्रो’ दुवै पक्षमा सुधार गर्न पर्ने बताए । राज्यको कुनै नीत कार्यान्वयन गर्ने ठाउँमा अहिले नरहेका उनलाई आर्थिक नगरीमा अर्थकर्मीहरुको बाक्लो उपस्थितिले निकै फुरुङ्ग पारेको थियो ।
उपाध्यक्ष वाग्लेको जिकिर रास्वपा संघीयताको पक्षधर
फरक अर्को प्रशंगमा बोल्दै उपाध्यक्ष वाग्लेले आफ्नो पार्टी संघीयताकै पक्षधर रहेको जिकिर गरे । मुलुकको लागि संघीयता काम छैन, बोझिलो भयो भनी प्रदेश तर्फ निर्वाचनमा उमेद्वार नै नउठाएको रास्वपाको दुईवर्षमा नै छद्मभेषी अनुहार देखिने गरी मधेश पुगेर उनले संघीयताका पक्षमा ओकालत गरे । पुराना पार्टीको बर्खिलाप गर्दै भविष्य कोरेको रास्वपाले मुलुकको संरचनाको सवालमा भने पुरानै पार्टीको विचारको फेर समातेको पुष्टि भएको छ । संघीयताको सवाल लुप्त राखेर सुरुमै आर्थिक मन्दी र अर्थ राजनीति निकासका सवालमा आफ्नो मनतव्य व्यक्त गरेका उनले संचारकर्मीले प्रदेशको बारेमा कुरा उठाएपछि संघीयता पक्षधर पार्टीकै लाइनमा उनले पार्टीलाई उभ्याए । पुराना पार्टीले अध्याधिक खर्चिलो संरचना बनाएको र जनहितमा राम्रो काम नगरेको चर्को आलोचना गरी रास्वपाले गएको निर्वाचनमा जनमत बटुलेको थियो । तर सोही पार्टीका उपाध्यक्ष वाग्लेले मधेश आन्दोलनको ‘इपिसेन्टर’ वीरगन्जमा पुगेर पुरानै पार्टीको राग अलापेका छन् ।
संघीयता खारेज भनेका छैनौं ः उपाध्यक्ष वाग्ले
प्रदेश खारेज, संघीयता खारेज हामीले भन्या छैनौं’ उनले जिकिर गरे । प्रदेश सभा चाही बोझिलो भनेको मात्र हो उनले दावी गरे । पालिका किन ७ सय बढि चाहियो ? ५ सय कम भए पनि पुग्छ भन्दै प्रदेश संरचना थाती राखेर स्थानीय संरचनामा रास्वपाले कैंची चलाउने उनको संकेत थियो । प्रदेश सभा बोझिलो भएको त चौतर्फी गुनासो छ नि उनले तर्क गरे ।
आर्थिक मन्दी र अर्थ राजनीतिका सवालमा मधेश विश्व विद्यालयका उपकुलपति डा.दीपक शाक्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, महासंघकै मधेश प्रदेश अध्यक्ष अशोक टेवानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय माधवलाल राजपाल र मनोज दास, बरिष्ठ उद्योगपति जगदीश अग्रवाल, अर्थविद् विनोद गुप्ता, डा.दीपेन्द्र चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, न्यूज २४ टिभीका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठ, राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, रेडियो वीरगन्ज, टिभी वीरगन्जका ध्रुव साह लगायतले वीरगन्जलाई आर्थिक राजधानी भनी नेता र दलले दोहन गर्ने मात्र गरेको आरोप लगाए । उनीहरुले पद र पावरमा भएका व्यक्तिले समेत वीरगन्ज पुगेर संकलन गरेका सुझाव अझै कार्यान्वय नभएको तर्क गरेका थिए । ‘यहाँ आएर सबै कुरा सुनेझैं गर्ने माथि गएपछि सबै विर्सने’ रोग सबैको छ । नयाँ पार्टीका उपाध्यक्षबाट त्यस्तो नहोस् भन्ने पनि उनीहरुले सुझाव छ ।
खुल्ला सीमा भएको नेपालमा राज्यकै नीतिको कारण ५० प्रतिशत ‘इलिगल’ कारोबार हुने गरेको वीरगन्जका अर्थकर्मीहरुको आरोप छ । उनीहरुले राजश्व संकलनका नीतिमा सुधार हुन पर्ने, नामका लागि मात्र वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र नभई आधिकारिक कोरिडोर क्षेत्र घोषणा गर्न पर्ने, खाद्यान्न आयातमा लगाइएका कर शंसोधन हुन पर्ने लगायतका सुझाव दिएका छन् ।
वीरगन्ज जस्तो प्रमुख नगरीमा सरकारबाट कुनै ठोस सहयोग नहुनु दुःखद् रहेको भन्दै व्यवसायिक र आर्थिक चुनौतीहरूको समाधानका लागि निरन्तर बहस र छलफल आवश्यक रहेको कार्यक्रमका अध्यक्ष रास्वपा पर्सा संयोजक पन्तले पनि बताए । रास्वपाका प्रचार–प्रसार विभाग मधेश प्रदेशका प्रमुख राम सर्राफले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सूर्य विकले गरेका थिए । कार्यक्रमा सहभागीहरुलाई रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
आर्थिक नगरीमा अर्थ राजनीतिको मन्थन
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्