काबिल सम्वाददाता
वीरगन्ज
भिडियो पत्रकारितामा अब्बल न्यूज २४ टेलिभिजन (टिभी) को प्रादेशिक कार्यालय विस्तार गरिएको छ । आर्थिक मन्दीको चपेटाले सबैक्षेत्र थिलथिलो भइरहेको समयमा पनि न्यूज २४ टिभीको प्रादेशिक कार्यालय विस्तार गरिएको हो ।
आर्थिक मन्दीको बिषम परिस्थितिमा पनि संचार गृहले प्रादेशिक कार्यालय विस्तार गर्नु सकारात्मक कदम भएको स्थानीयको भनाइ छ । समुन्नतिको वाधक आर्थिक मन्दीको क्षणमा पनि न्यूज २४ टि भी ले आफ्नो प्रादेशिक कार्यालय विस्तार गर्नु सकारात्मक कदम भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले बताए । राजनीतिक वृत्तमा अधिकार प्रत्यायोजन गर्न अझै कन्जुस्याईं गरिरहेको आरोपका बीचमा केन्द्रमा खुलेको टिभीले आफ्नो कार्यक्षेत्रलाई तलसम्म विस्तार गर्नु राम्रो पक्ष भएको उनको भनाइ छ ।
मुलुकको पछिल्लो संरचना अनुसार संचार गृहहरुले पनि आफ्नो प्रादेशिक कार्यालय विस्तार गरिरहेका छन् । प्रदेशको राजधानी जहाँ हुन्छ, त्यही प्रदेशिक कार्यालय विस्तार गर्नुपर्छ भन्ने अन्य निकायको मान्यता छ । तर राजधानी दैनिक र न्यूज २४ टि भी ले भने त्यो मान्यतालाई क्रमभंग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रादेशिक कार्यालय विस्तार नगरी मधेश प्रदेशकै सुदूर पश्चिममा पर्ने पर्सा जिल्लाको वीरगन्जमा आफ्नो प्रादेशिक कार्यालय विस्तार गरेका छन् ।
वीरगन्जमा ३ बर्ष अगाडी राजधानी दैनिकले पनि प्रादेशिक कार्यालय खोलिसकेको छ । प्रदेशको राजधानीभन्दा अलि हटेर पनि प्रदेश कार्यालय संचालन गर्न सकिन्छ भन्ने यो गतिलो सन्देश हो । यसले कामका लागि केन्द्रको राजधानी वा प्रदेशको पनि राजधानी भएकै ठाउँमा अन्य निकायको पनि प्रदेश कार्यालय हुनु पर्छ भन्ने भ्रम तोडेको छ । न्यूज २४ टि भी को प्रादेशिक कार्यालय सहित वीरगन्जमा मिडिया हाउसका दुईवटा प्रदेश कार्यालय भइसकेका छन् ।
टिभीको प्रदेश कार्यालय उद्घाटन मुख्यमन्त्रीबाट
न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालय ‘उद्घाटन’ मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरे । उनले सो क्रममा केन्द्रिय सरकार र निकायले प्रदेशलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै मिडिया हाउसहरुले प्रदेशलाई समेट्न खोज्नु सकारात्मक भएको तर्क गरे । मुलुकको राजधानी बाहिरबाट पनि प्रत्यक्ष रुपमा आवाज बिहिनहरुको आवाज बाहिर ल्याउन टि भी को शाखा विस्तार भएकोमा उनले शुभकामान दिए । मधेश प्रदेश सरकारले पर्यटन (टुरिज्म) र आर्थिक पक्षको सफलताका लागि नीतिगत रुपमा काम गरिरहेको मुख्य मन्त्री सिंहको दावी छ । टुरिज्मको सन्दर्भमा ४ सर्किटमा काम अगाडी बढाइसकिएको पनि उनले दावी गरे ।
टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्य मन्त्री सिंहले मुलुकका लागि ठूलो योगदान गर्ने मिडियाकर्मीको हितको लागि मधेश प्रदेश सरकारले १ लाखको स्वास्थ्य बीमा र ७ लाखसम्मको दूर्घटना बीमा कार्यक्रम पनि ल्याइरहेको बताए । सो कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति डा.दीपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, उद्योग बाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेवानी र उद्योग बाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल अग्रवाललगायतले शुभकामना मन्तव्य दिदै वीरगन्जमा मिडिया हाउसको प्रदेश कार्यालय विस्तारले संघीयता सुदृढीकरणमा बल पुग्ने बताएका थिए । टि भी को पर्सा सम्वाददाता मुस्कान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा वक्ताहरुले संचार गृहहरुको कार्य विस्तारले यहाँका दविएका थप समस्याहरु उजागर गर्न मद्दत पुग्ने दावी गरेका छन् ।