काबिल सम्वाददाता
वीरगन्ज
प्रदेश सभाबाट मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । मधेश प्रदेशसभाबाट मुख्य मन्त्री सिंहले भारी विश्वासको मत पाएका हुन् ।
सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार उनले शनिबार विश्वासको मत लिएका थिए । मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका तर्फबाट सिंह गएको जेठ २५ गते प्रदेश सरकारको नेतृत्वमा पुगेका थिए । उनैको नेतृत्वमा मधेश सरकार गठन भएको थियो ।
विश्वासको मतका लागि उनैको पार्टी जनमत पार्टीसँग प्रदेशसभामा १३ मत सदस्य छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा शनिबार १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहको पक्षमा विश्वासको मतदिने प्रदेश सभा सदस्यहरुको संख्या ६७ रह्यो । विपक्षमा भने ३४ प्रदेश सभा सदस्यहरुले मत दिएका थिए । मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी लगायतका सांसदहरुले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री बन्दा सिंहलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन थियो ।
विश्वासको मत लिनेदिन उनले मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दलका ६ जना मन्त्रीलाई भने सरकारबाट बर्खास्त गरी हटाएका थिए ।