spot_img

ताजा अपडेट

सिद्धार्थ बैंकमा लागेको आगो ४ घण्टापछि नियन्त्रण

काबिल सम्वाददाता
वीरगन्ज, १७ असार ।
पर्साका विभिन्न गाउँमा आगलागी हुँदा पहिले सदरमुकाम वीरगन्जबाट गएका बारुण यन्त्रले त्यहाँको आगो नियन्त्रणमा लिने गरेका थिए । तर समय परिवर्तनसँगै अवस्था बद्लिएको छ । सोमबार भने जिल्लाको सदरमुकाम वीरगन्जमा लागेको आगो यहाँको ग्रामिण बस्तीका बारुण यन्त्र पनि आएर निभाई फर्किएका छन् ।

वीरगन्जको मुटु आदर्शनगर चोकमा रहेको सिद्धार्थ बैंकको चौथो तलाबाट एक्कासी सल्किएको आगो वीरगन्ज महानगरकाका २ थान बारुण यन्त्रले मात्र नियन्त्रणमा लिन सकेनन् । अनि जिल्लाको पोखरिया र पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिकाबाट आएका बारुण यन्त्रले पनि आगो निभाउन साथ दिए । यसको साथै बाराको जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल प्रहरीको विपत् व्यवस्थापन गुल्म तथा सीमापारी भारतबाट समेत आएको थप एउटा गरी ९ वटा बारुण यन्त्रले आगोलाई काबुमा लिइएको छ । ती ९ वटा बारुण यन्त्र सहित तीनवटै सुरक्षा संयन्त्रका सुरक्षाकर्मीहरु परिचालित भएर आगो नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

कुल ९ वटा बारुण यन्त्र, २० जना नेपाली सेना, ७५ जना सशस्त्र प्रहरी र ९५ जना नेपाल प्रहरी सहित स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमोद ढुंगेलले बताए । ‘आगो के कारणले लागेको हो ? भन्ने एकिन भइसकेको छैन । तथापि विद्युत् सर्ट भएर चार तला माथिबाट आगो सल्किएको खुलेको हो’ उनले भने । घटनाको एकिन विवरण भने आउन बाँकी रहेको प्रहरी उपरिक्षक ढुंगेलले बताए ।
पर्साको सदरमुकाम वीरगन्जको मुटु आदर्शनगर चोकमा रहेको बैंकको शाखामा बेलुका करिब ४ बजेतिरबाट लागेको आगो साँझ ८ बजे मात्र नियन्त्रणमा लिन सकिएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । आगलागी भएको बैंकको भवनमा तीन तिरबाट आगो निभाउन मिल्ने नभएपछि अगाडीको भागबाट मात्र आगोलाई नियन्त्रणमा लिनु पर्ने बाध्यताले गर्दा आगो नियन्त्रणमा लिन धेरै समय लागेको उनको भनाइ छ ।

आगोले माथिका तलाका सम्पूर्ण सामान जलेर नष्ट भएको र पहिलो तलाका धेरैजसो सामान भने बचेको पनि प्रहरी नायव उपरिक्षक भारतीले बताए । यति नै मूल्य बराबरको क्षति भएको भन्ने सम्पूर्ण विवरण भने आई नसकेको उनको पनि भनाइ छ । माथि आगो सल्किएको भनिएको ठाउँमा स्टोर पनि रहेको बैंकले जनाएको छ । त्यो तलाका सामान चाही प्रायः सबै क्षतिको भएको देखिन्छ पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ