काबिल सम्बाददाता
नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उद्देश्यले पाठ्यक्रम विमर्श तथा भाषा साहित्य सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । साहित्यिक चौतारी नेपालको दशौँ वार्षिकोत्सवको अवसर पारेर चौतारी नेपालले वीरगन्ज महानगरपालिकासँगको समन्वयमा यो कार्यक्रम सुरु गरेको हो ।
वीरगन्जको विर्तास्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयको सभाकक्षमा सुरु भएको कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले गरे । सो क्रममा महानगर प्रमुख सिंहले भाषा, संस्कृति र साहित्यको विकास वैभव वीरगन्जका लागि अपरिहार्य रहेको तर्क गरे । महानगरको सर्वाङ्गिण विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।
विद्यार्थीलाई भाषा, साहित्य र व्याकरणको महत्व सिकाउन अपरिहार्य भइरहेको वर्तमानमा शिक्षकहरुले समेत स्तरीय शिक्षण गर्न जान्नु पर्ने आवश्यकतालाई मध्यनजर गरी विभिन्न २५ विद्यालयका नेपाली शिक्षक–शिक्षिकाहरुलाई पनि कार्यक्रममा सहभागी गराइएको छ ।
साहित्यिक चौतारी नेपालका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य चौतारीका बरिष्ठ सल्लाहकार तथा प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगन्ज महानगरले गरेको सहयोग प्रसंशा योग्य रहेको बताए । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भए पनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ । साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक राख्न शिक्षक शिक्षिकाहरुको सिकाई गहन हुन पर्ने पूर्व प्राज्ञ समेत रहेका डा.नेपालको जोड छ । सो कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनिक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन मधेशका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारे भाषा, साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहन पर्नेमा जोड दिए ।
साहित्यिक चौतारी नेपालले वीरगन्ज महानगरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि तीन दिनसम्म कार्यशाला संचालन हुने आयोजक संस्थाको अध्यक्ष भण्डारीले बताइन् । २ दिने कार्यशालामा नेपाली भाषा तथा साहित्यको जगेर्णा होस् भनी दुई दर्जन विद्यालयका नेपाली बिषय शिक्षक ५० जना र उति नै संख्यामा विद्यार्थीहरुलाई पनि कार्यक्रममा सहभागी गराइने जनाइएको छ । कार्यशालामा प्रा.डा देवी नेपाल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइने अध्यक्ष भण्डारीले बताइन् । साहित्य चौतारीका महासचिव रामप्रसाद सुवेदीले सहजीकरण गरेको कार्यक्रममा साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।