वीरगञ्ज, ३० कात्तिक ।
शुभ दीपावली तथा छठ पर्वको अवसरमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वामा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री प्रदीप यादवले गरेका छन्।
इनर्वा महावीर मन्दिर संरक्षण समाज, पर्साद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री यादवले कुस्ती खेल मधेशको ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत पहिचानसँग जोडिएको महत्वपूर्ण खेल भएको बताएका छन्। उनले कुस्ती केवल शारीरिक बल प्रदर्शन गर्ने माध्यम मात्र नभई अनुशासन, साहस, धैर्य, आत्मविश्वास र खेलभावनाको प्रतीकसमेत रहेको उल्लेख गरे। मधेश प्रदेशमा पुस्तौँदेखि चल्दै आएको कुस्ती परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
पूर्वमन्त्री यादवले गाउँघरका अखडा, स्थानीय पहलवानहरूको निरन्तर मेहनत तथा दंगल प्रतियोगिताले कुस्ती खेलको मौलिक पहिचान जोगाउँदै आएको बताउँदै नयाँ पुस्तालाई पनि यस खेलप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार स्थानीय स्तरमा लुकेर रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान, प्रोत्साहन र विकासका लागि यस्ता प्रतियोगिता आवश्यक छन्। परम्परागत खेलकुदलाई निरन्तरता दिन स्थानीय समाज, खेलप्रेमी तथा सरोकारवाला सबैले सहयोग गर्नुपर्ने उनले बताए।
कार्यक्रमको अध्यक्षता सुरेश प्रसाद यादवले गरेका थिए। कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह तथा वीरगञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष पशुराम चौरसियाको विशिष्ट उपस्थिति रहेको थियो। प्रतियोगितामा स्थानीय तथा विभिन्न स्थानबाट आएका पहलवानहरूको सहभागिताले खेलप्रेमीहरूमा उत्साह थपेको थियो। दंगल हेर्न स्थानीय बासिन्दा तथा कुस्तीप्रेमीहरूको उपस्थिति रहेको थियो।
आयोजक इनर्वा महावीर मन्दिर संरक्षण समाजका अनुसार परम्परागत कुस्ती खेलको संरक्षण, स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान तथा मधेशको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता प्रतियोगिताले नयाँ पुस्तामा परम्परागत खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Comments
Post a Comment