काबिल सम्वाददाता
वीरगन्ज
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारमा हिम्मत भए स्वतन्त्र, निश्पक्ष, उच्च, न्यायिक छानविन समिति बनाएर राजदरबार हत्याकाण्डको छानविन गरी देखाउन चुनौति दिएका छन् । पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमा सहभागी हुन पर्साको वीरगन्ज आइपुगेका अध्यक्ष थापाले सोमबार प्रधानमन्त्री प्रचण्ड सरकारलाई त्यस्तो चुनौति दिएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डको नाम नै लिएर ‘हिम्मत भए राजदरबार हत्याकाण्ड पुनः छानविन गरी देखाउन चुनौती दिन्छु’ भने । गएको माघ १५ गते प्रधानमन्त्री प्रचण्डले वीरगन्जबाट फर्कने क्रममा सिमरामा राजदरबार हत्याकाण्ड बारे पुनः छानविन हुन सक्ने बताएका थिए । यो कुरा तर्फ लक्षित गरी अध्यक्ष थापाले पुनः छानविन गरी देखाउन चुनौति दिएका छन् । जब–जब राजतन्त्र प्रति जनताको उभार देखिन्छ, तब–तब नीहित राजनीति स्वार्थ सिद्ध गर्नेहरुबाट राजदरबार हत्याकाण्ड जोडेर बद्नाम गरिने गरेको छ उनले थपे । संघीय गणतन्त्र ल्याउने दलहरुमा यो मुद्दालाई निराकण गर्न सक्ने नैतिक आधार नभएको उनको दावी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि वीरगन्ज आउँदा राजा र राजदरबार प्रति तिखो कटाक्ष गरेका राप्रपा नेपालका अध्यक्ष थापा एक वर्षपछि वीरगन्ज आउँदा भने पुनः राजतन्त्रको कट्टर पक्षपाती भएर प्रस्तुत भए । उनले राजपरिवारका सदस्यमाथि घटेको घटनाको पीडा खेपिरहेको राजसंस्था प्रति थप पीडाबोध हुने गरी यहाँका दलहरु र नेताहरुले मानवीय समवेदना पनि गुमाएर लान्छना लगाइरहेको उनको टिप्पणी छ ।
गएको माघ १३ गते पूर्व राजा ज्ञानेन्द्रले वीरगन्जमा नै आई राजदरबार हत्याकाण्डमा आफूहरुलाई अनाहकमा मुछेर बदनाम गरिएको दलिल पुनः पेश गरेका थिए । लगत्तै माघ १५ मा वीरगन्जमा नै आएर फर्कने क्रममा प्रधानमन्त्री दाहालले बाराको सिमरामा पुगी राजदरबार हत्याकाण्ड फेरि छानविन हुन्छ भनी अभिव्यक्ति दिएपछि यो बिषय पुन चर्चामा छ । पूर्व राजाले उनकै नागरिक अभिनन्दनका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज आएको समयमा उक्त बिषय लगायतमा कडा सम्बोधन गरेका थिए । त्यस लगत्तै अतालिएका जस्तो देखिएका दलका भिआइपीहरु वीरगन्ज आउँदै सो बिषयसँग सम्बन्धित बिषयमा केही न केही बोल्दै फर्कदै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि वीरगन्जमा पूर्वराजा र राजपरिवारबारे बोलेका हुन् । उनले सो क्रममा राजसंस्था सहितको प्रजातन्त्र आफ्नो पार्टीको बटम लाइन भएको पनि बताए ।
वर्तमान राजनीतिक दलहरुबाट भ्रष्टाचारको कारखाना मात्र उत्पादन गरिरहेको भनी अर्को प्रसंगमा अध्यक्ष थापाले थप प्रतिकृया दिए । सो क्रममा उनले दुर्गा प्रसाईंहरुसँग सहकार्य गरेर आन्दोलन चर्काउने पनि अभिव्यक्ति दिए । राप्रपाका अध्यक्ष लिङदेनसँग पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) नेपाल व्यूँझाई पुनः पहिले झैं पार्टीको शाख फर्काउन लागि परेका अध्यक्ष थापाले लिङदेनको जिल्ला छोडेर यो पटक मोरङ्गबाट पार्टीको नयाँ अभियान र नेता कार्यकर्तालाई जगाउँदै विभिन्न जिल्ला सहित पर्सा पनि आइपुगेको खुलासा गरे । सोही क्रममा पर्सेली संचारकर्मीहरुसँग आमने–सामने भएका अध्यक्ष थापाले आफूहरुसँग विचार मिल्नेहरुसँग कार्यगत र रणनीतिक एकता गरी आन्दोलन गर्ने तयारी रहेको बताए ।
आन्दोलनको एजेण्डा भने भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्थाको पूनस्र्थापना, प्रदेशस्तरीय संरचनाको खारेजी र वित्तीय क्षेत्रमा देखिएको विकृति र विसंगति विरुद्धको हुने उनले तर्क गरे । यी चार एजेण्डामा विचार मिल्नेसँग रणनीतिक र कार्यगत एकता गरेर अगाडी जान सकिने उनको भनाइ छ । नेपालमा भ्रष्टाचारको कारखाना खोल्ने यहाँका राजनीतिक दलहरु भनी गणतन्त्र पक्षधर सबै दलहरुतर्फ उनले ईंगित गरे । ‘उसो भए ती दल वाहेक बाँकी कुन दलहरुसँग राप्रपा नेपालले कार्यगत एकता गरी आन्दोलन चर्काउँछ त’ ? भनी संचारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष थापाले नागरिक बचाउ अभियान भनी दुर्गा प्रसाईंहरु र आफै विरक्तिएर छोडेको भनिएको राप्रपा लगायतसँग पनि कार्यगत एकता गर्ने खुलासा गरे । उनको पार्टीको सिद्धान्तका बारेमा चाही अध्यक्ष थापाले केन्द्र सरकार र स्थानीय सरकार बलियो बनाउँदै भ्रष्टहरुलाई तह लगाउन जनलोकपाल बनाउनु पर्ने तर्क गरे ।
पछिल्लो १७ दिनमा पर्सामा ५ भिआइपीको आगमन
गएको माघ १३ गते पूर्व राजा ज्ञानेन्द्र शाह पर्सामा पुगेर फर्के यता १७ दिनको अन्तरालमा सोमबार पर्सामा पुगेका कमल थापा यहाँ पुग्ने पाँचौं भिआइपी हुन् । पूर्व राजाको कडा अभिव्यक्ति पछि सलबलाएका राजनीतिक दलका ठूला नेताहरु एक पछि अर्को गर्दै पर्सामा आई उनको अभिव्यक्तिको खण्डन र मुण्डन या समर्थन गर्दै फर्कने क्रम जारी छ ।
गएको माघ २० गते पर्सा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि राजनीतिमा व्यवस्था पछाडी नफर्कने संकेत गर्दै यहि व्यवस्था भित्र सुधार गरेर व्यवस्था टिकाउन पर्ने भनी फर्केका थिए । त्यसको केही दिन पछि आइतबार नेपालका उप–राष्ट्रपति रामसहाय यादव समेत वीरगन्ज आइपुगे । उनी श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुञ्ज एवं ९ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्न भनी आइपुगेका थिए । सो क्रममा उपराष्ट्र पति यादवले पनि पछिल्लो समय आपसी मनमोटाव, स्वार्थ र समूहगत गुट उपगुटको स्थार्थ बढेको तथा आपसी मनोमानिल्य बढेको भनी सबै राजनीति दलतर्फ संकेत गरी यस्तो नहुनु पर्ने भनी सम्बोधन गरी फेर्केका छन् । उपराष्ट्रपति यादव वीरगन्ज चीनि कारखानाको जग्गामा भइरहेको महायज्ञमा सरिक हुन आइपुगे पनि यो कारखानाको आगामी भविष्य के हुने ? भन्ने तर्फ केही संकेत नगरी सम्बोधन टुँग्याएर फर्केका हुन् । साथमा रहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उनकै मातहत रहेका चर्चित वीरगन्ज चीनि कारखानाको जग्गामा भएको महायज्ञमा हिन्दीमा भाषण गरेर धर्मबारे आफूलाई केही जानकारी नभएको भन्दै सो चीनि कारखाना चल्लने नचल्लने बारे चुँ नबोली फर्किए ।
पूर्व राजा आएर फर्केपछि भने पर्सामा भिआइपीहरुको ताँती लागेको सर्वसाधारणको भनाई छ । पूर्व राजाको वीरगन्ज आगमन पछिको संबोधनले नेपालका ठूला दलका नेता भनिनेहरु अतालिए जस्तो र राजावादीहरु हौसिएको उनीहरुको भनाइ छ ।