तुलसी भण्डारी
वीरगन्ज
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले मुलुकको भूगोल र भू–बनौटमा बाँडिने र आपसमा जात, जाती, धर्म, संस्कृतिमा खण्डित हुने समय अब नरहेको बताएका छन् । शनिबार वीरगन्जमा उनैलाई राजाका समर्थकले गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालका राजनीतिक दलहरुले सत्ताकब्जा गरेपछि १५ बर्ष सत्ताविमुख भएका उनले मुलुकभित्र बस्ने हरकोही नेपाली भएकाले कसैले कसैप्रति विभेद, विखण्डन, विग्रह र निशेधको राजनीति गर्न नहुने बताए । यसैमा हामी सबैको भलाही छ उनले भने ।
‘देशको अवस्था सुध्रियोस्, सबै नेपालीको हित र उन्नति होस् भन्ने हाम्रो चाहना होÕ । प्रजातान्त्रिक व्यवस्था अनुसार २०६५ जेठ १९ मा पूख्र्यौली राजदरबारबाट बाहिरिदा पनि मैले संचार माध्यममा सो कुरा भनेको थिए । तर आज सो नभई हिमाल, पहाड र तराई झन खोक्रो बन्दै गएको छ । ‘अब यो अरुले बनाई दिने होइन । हामी सबैले आफैले बनाउनु पर्छÕ उनले भने । ‘देश बनाउन अब सोच्नै पर्ने बेला आएको छÕ उनले थपे । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने हाम्रो कामना हो उनले बताए ।
‘आपसी राष्ट्र प्रेम र राष्ट्र हितको सदासहायता कायम नरहँदा देशमा विषम परिस्थिति सृजना हुनु दूर्भाग्यपूर्ण हो । मैलै त्यतिखेरै आँकलन गरेको हो । अहिले त्यस्तै भइरहेको छ । यसो हुनु हुन्नÕ पूर्वराजा ज्ञानेन्द्रले भने ।
‘आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनु पर्दा मैले व्यक्त गरेको राष्ट्र प्रेम राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छुÕ । त्यसै आशय अनूरुप मैले चीरकाल पर्यन्त सुरक्षित रहोस् भनी मेरो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए । हामी राष्ट्रमा नै छौं । यही रहेर देशको गौरवगाथा गाइरहेका छौं । अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् भन्ने चाहना हाम्रो हो उनले बताए ।
‘आफ्नो मौलिकता, अस्तित्व आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहि आइरहेको सुमधुर सामाजिक सम्बन्धलाई विथोलेर देशको भलो हुँदैनÕ पछिल्लो देशको अवस्था तर्फ संकेत गर्दै उनले बताए । हाम्रो राज्यव्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दूरावस्था सबैले राम्रो मूल्याँकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा अब हामी सबैले मिलेर लाग्नु पर्दछ पूर्व राजा ज्ञानेन्द्र शाहले बताए । यसैमा हाम्रो कल्याण छ उनले थपे ।
अर्को प्रसंगमा उनले अन्न भण्डार भनिने तराई मधेशको ठूलो मूल्य महत्व भए पनि गौरवशाली इतिहास बोकेको उत्तम इलम, उत्पादन व्यवस्था बजार र आर्थिक उत्थानको आधार रहेका तराई मधेशको पछिल्लो अवस्था पनि ठिक नभएको उनको दावी छ । यहाँको पोखरी पानीको श्रोत ट्युववेल, कुवा, धारा पानीको जल सतह सुख्खा, खडेरी र मरुभूमिकरण तर्फ जानु गम्भिर चिन्ताको बिषय हो । मधेशका होनाहार उद्धमी युवा जनशक्ति दैनिक विदेशतर्फ दगुरिरहेका छन् । उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबीको बाध्यताको कारण हाम्रो जमिन, हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिदै गएको छ । यो दुःखको कुरा हो । यसलाई रोक्न पर्छ सुधार गर्न पर्छ उनले सुझाव दिए ।
देश बनाउन, देश बचाउन निरन्तर आवाज छ । हामी माथि आह्वान पनि छ । म भन्छु ‘हामी हाम्रो पूर्वाको पौरख नभूलौं, हामी यहि बसौं, हाम्रो यहि आफ्नो जन्मभूमिका लागि मरिमेटौंÕ । ‘हाम्रो विकास हाम्रो उत्थान, समस्याको निवारण हामी आफैबाट हुने हो । अरुले आएर गरिदिने होइनÕ उनले जोड दिए ।
समग्र देशको हितका लागि अब सोच्ने बेला आयो । देशलाई झनझन बर्बादी तिर नलैजाउँ । त्यसका लागि अब सबैले सोचांै, समिक्षा गरौं, नेपालको यस्तो राम्रो प्रकृति, प्राकृतिक श्रोत, साधन, हाम्रो आफ्नो क्षमता, आफ्नो उन्नतिमा लगाऔं । आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने वेला अब गयो उनले दावी गरे ।
आफ्नो क्षमताले, आफ्नै घर वा आफ्नै गाउँबस्ती आफै बनाउने तिर लाग्नुको अब विकल्प छैन उनले बताए । ‘यसैमा हाम्रो देशको उन्नति, प्रगति, इज्जत र प्रतिष्ठा निर्भर हुन्छÕ पूर्वराजा ज्ञानेन्द्र शाहले भने ।
दरबार हत्याकाण्डमा आफूहरुलाई मुछेर भ्रम फैलाइयो
२०५८ मा राजदरबारमा घटेको घटना कोट्याउँदै उनले त्यो राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको वादल बनाइएको दावी गरे । नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरिए । आखिर सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं । यो अन्यायपूण मात्र होइन, दूर्भाग्य हो उनले दावी गरे ।
नागरिक अभिनन्दन नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष वीरेन्द्रलाल नेपालीको अध्यक्षतामा भएको हो । कार्यक्रममा धन्यवाद ज्ञापन नागरिक अभिनन्दन समारोह समितिका उपाध्यक्ष वीरगन्जका राजा साहव पशुपतिविक्रम शाह र सहजीकरण आयोजक समितिका महासचिव हिराबहादुर गिरीले गरेका थिए ।