काबिल सम्बाददाता
वीरगन्ज
दुर्गा प्रसाईंका समर्थक र एमालेका युवाहरु बीच काठामाण्डौमा शक्ति प्रदर्शन भइरहेको समयमा पर्साको सदरमुकाम वीरगन्जमा पनि दुर्गा प्रसाईको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन भएको छ । गणतन्त्र र संघीयता जस्तो देश डुवाउने बोझिलो व्यवस्था खारेजी गरिनु पर्ने माग सहित राजाका समर्थकहरुले दुर्गा प्रसाईको समर्थनमा वीरगन्जमा पनि प्रदर्शन गरेका हुन् ।
२०४७ को संविधान लागु गर, संघीय गणतन्त्र खारेज गर, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर, गणतान्त्रीक सरकार मुर्दावाद जस्ता नारा लगाउँदै उनीहरुले वीरगन्ज महानगरमा पनि प्रदर्शन गरे । प्रदर्शनकारीले वीरगन्जको घण्टाघरबाट माईस्थान चोक, आदर्शनगर चोक हुँदै पुन घण्टाघर चोक पुगी कोण सभा गर्दै कार्यक्रम सम्पन्न गरे ।
प्रदर्शनमा उत्रिएका मध्ये बक्ताहरुले बोझिलो व्यवस्थाको विरोधमा लाग्ने दुर्गा प्रसाईं मात्र नभई जो कोही भए पनि उसको समर्थन गर्ने बताए । ‘अहिले दुर्गा प्रसाईंले जुन सहास देखाए यसमा हाम्रो समर्थन छ’ उनीहरुले भने । प्रदर्शनको अगुवाई नेपाल राष्ट्रवाद संघले गरेको छ । संघलाई राजाका समर्थक राष्ट्रवादी समूह र नेपाल विद्वत परिषद्ले पनि सघाए ।
गणतन्त्र र संघीयताकै कारण मुलुक आर्थिक मन्दीमा फेसेको र यो बोझिलो व्यवस्था बोकिरहन नसक्ने भन्दै प्रदर्शनको अगुवाईको नेतृत्व गरेका नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले दुर्गा प्रसाईंको आन्दोलनमा समर्थन गरिएको जिकिर गरे । राष्ट्रवादी समूहका पर्सा अध्यक्ष वीरेन्द्र थापाले पनि राजा विना यो देश चल्न नसक्ने भन्दै अब संघीयता खारेज गर्दै २०४७ को संविधान लागु गरिनु पर्नेमा जोड दिए । त्यसै गरी विद्वत परिषद्का स्थानीय नेताहरुले पनि हिन्दु राष्ट्र सहितको राजतन्त्र ल्याउनुको विकल्प नभएको तर्क गरे ।
कार्यक्रममा राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगितादेवी साह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार लगायतका राजाका समर्थकहरुको सहभागीता रहेको थियो ।