काबिल सम्वाददाता
वीरगन्ज
लामो समय खेल प्रतियोगिता हुन नसकेको वीरगन्जमा मधेश प्रदेशकै उच्च धनराशी भएको फुटवल प्रतियोगिता पहिलो पटक हुने भएको छ । आगामी कार्तिक १८ गतेदेखि २५ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ प्रतियोगिता हुने भएको हो ।
यो प्रतियोगिताका लागि दशैं लगत्तै प्रचारप्रसार तिब्र पारिने आयोजक संस्था भेट्रान सिटी क्लव वीरगन्जले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । करिब ८० लाखको लागतमा खेल सम्पन्न गर्ने लक्ष्य सहित भेट्रान सिटी क्लव जुटिरहेको छ । प्रथम पटक हुँदै गरेको वीरगन्ज गोल्डकप २०८० का विजेतालाई ११ लाख ११ हजार १ सय ११ रुपैया धनराशी सहितको पुरस्कार प्रदान गरिने भेट्रान सिटी क्लवका बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । प्रतियोगिताका उपविजेतालाई पनि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार दिइने उनको भनाइ छ ।
साहसिक जमर्को
वीरगन्जमा काठमाण्डौको दशरथ रंगशाला पछिको दोस्रो ठूलो नारायणी रंगशाला छ । यो रंगशालामा विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन भएका थिए । तर पछिल्लो समयमा जीर्ण नारायणी रंगशाला र अर्को प्रयोजनमा आदर्शनगर रगशाला पनि प्रयोग हुँदा २०५८ पछि यहाँ राष्ट्रियस्तरका ठूला प्रतियोगिता हुन सकेका छैनन् । क्रिकेटका राष्ट्रियस्तरका खेलाडी आरिफ शेख र आसिफ शेखजस्ता खेलाडीले बल उफारेको नारायणी रंगशाखा पछिल्लो समयमा खेल खेलाउने लायक छैन । त्यसैले गामामी १८ कार्तिकबाट हुने प्रथम वीरगन्ज गोल्डकप भने वीरगन्जकै अर्को आदर्शनगर रंगशालामा गर्ने तयारी भइरहेको आयोजक संस्थाका महासचिव पंकज श्रेष्ठले विस्तृतमा बताए । राजनीतिक आडमा हुँने भ्रष्टाचार र वीरगन्जलाई उपेक्षा तथा कोरोना अनि चुस्त खेल मैदानकै अभावमा ठूला खेल प्रतियोगिता विगत २२ बर्ष यता यहाँ खासै भएका छैनन् । यो पटक भने वीरगन्जले अझै पनि राम्रा प्रतियोगिता गराउन सक्छ भन्ने सन्देश दिन पनि आदर्शनगर रंगशालामै भए पनि प्रतियोगिता गरेर विगतको वीरगन्जको शाख फर्काउने लागिएको भेट्रान सिटी क्लवका बरिष्ठ अध्यक्ष सबिन बस्नेतले पर्सेली संचारकर्मी माझ खुलासा गरे । यो प्रतियोगिताका लागि खेल मैदान मिलाउने र दुबो उमार्ने कामदेखि प्राविधिक पक्षका सबै काम निकै तिब्रता साथ अगाडी बढिसकेको भेट्रान सिटी क्लवका सल्लाहकार तथा फुटवल संघ मधेश प्रदेशका उपाध्यक्ष दिपक साह कानुले बताए ।
आठ टिम आमने सामने हुने
पहिलो पटक वीरगन्जमा हुने प्रतियोगितामा भारतको दिल्ली र कोलकत्ताका दुई टिम सहित नेपालका ६ टिम सहभागी हुने भएका छन् । जसमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, संकटा क्लव, चर्च व्याइज युनाइटेड, झापा एफ.सी. क्लाईस हाउस डम–डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र स्वयम् आयोजक भेट्रान सिटी क्लव वीरगन्ज गरी ८ टिम सहभागी हुने आयोजक संस्थाले सार्वजनिक गरेको हो ।
प्रतियोगिता पर्यटन प्रवद्र्धन र खेल विकासको नयाँ अध्याय सुरु गर्ने लक्ष्य सहित भेट्रान सिटी क्लव अगाडी बढेको अध्यक्ष सबिन बस्नेतले तर्क गरे । वीरगन्जमा नै ठूलो प्रतियोगिता हुने भएपछि वीरगन्ज महानगरपालिकाले पनि २५ लाख आर्थिक सहयोग गर्ने भएको छ । वीरगन्जमा विगतमा झैं खेलकुदको शाख फर्काइने जमर्को भएपछि स्थानीय नीजि क्षेत्र पनि उत्साहित भएर साथ दिन लोगेको आयोजनको भनाइ छ । प्रतियोगिता संचालनका समयमा प्रत्येक दिन म्याच अफ दि म्याच सहित विधागत पुरस्कार समेत वितरण गरिने छ । सो प्रतियोगिताको समापनका दिन वीरगन्जका पूर्व फुटवल खेलाडी हरि बहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।
खेल प्रतियोगिताभन्दा अन्य प्रयोजनमा बढि प्रयोग भएको आदर्शनगर रंगशालालाई खेलकुदकै आयाममा फर्काउन यस्तो प्रतियोगिताले बल दिने स्थानीय खेलप्रेमीहरुको पनि भनाइ छ ।
वीरगन्जमा मधेशकै उच्च धनराशीको ‘फुटवल प्रतियोगिता’ हुने
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्