spot_img

ताजा अपडेट

आफ्ना पर्ने डरले विज्ञ आयोग बनाएर छानविन गर्न सरकार अनिच्छुकः महासचिव पोख्रेल

निर्मला भण्डारी
वीरगन्ज
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सुन तस्करी प्रकरणमा आफ्ना नेता कार्यकर्ता पर्ने भयले सरकार सत्ता गठबन्धन दल विज्ञ आयोग बनाएर छानविन गर्न अनिच्छुक देखिएको आरोप लगाए । प्रेस चौतारी नेपाल पर्सा शाखाले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।
पार्टीको मधेशस्तरीय केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन उनी वीरगन्ज आइपुगेका छन् । सो क्रममा पर्सेली पत्रकार सामु महासचिव पोख्रेलले ‘उच्चस्तरीय छानविन आयोग बनाएर अनुसन्धान भए एमाले पार्टी कार्वाहीको पक्षमा दृढतापूर्वक उभिने उनको भनाइ छ । सुन तस्करसँग जोडिएको प्रकरणमा आफ्ना नेता कार्यकर्ताको २ सय ३४ कल गरेको रेकर्ड बाहिर आएलगत्तै अतालिएर आफ्नो मातहतकै निकायलाई अनुसन्धानको जिम्मा लगाई सरकार पन्छिन थालेको उनको दावी छ । हामीले तस्करी र भ्रष्टाचार प्रकरणलाई निर्मम ढंगबाट छानविन गरी दोषी नउम्किने गरी अनुसन्धान गर्न आयोग बनाउँ भनेको मात्र हो उनले थपे । सत्तापक्ष गठबन्धन दलले संसद चल्न दिएन भनी नियोजित रुपमा एमालेलाई घेराबन्दी गरी भ्रम फैलाएको उनको तर्क छ ।
दुई महिनाको अवधिमा नयाँ संस्था खडा गरी त्यसको आडमा झण्डै २ हजारभन्दा बढि किलो सुन भित्र्याइएको खुलासा हुनु सरकार समेत मुछिएको प्रष्ट छ । यो ठोस रुपमा छानविन गरौं न त भन्दा आफ्नो मातहतको निकायलाई जिम्मेवारी दिएर सरकार चोखो जोगिन खोजेको उनले दलिल पेश गरे ।
अर्को सम्दर्भ जोड्दै महासचिव पोख्रेलले ‘देशको विकासको गति रोकिएकोमा सरकारको ध्यान उता नगएको आलोचना गरे । सरकारको ध्यान विकासको गति रोकिएकोमा नजानु दुःखद् भएको उनको तर्क छ । आर्थिक मन्दीले देश ओरालो लागेको छ । सरकार जनताको काम गर्ने पक्षमा नै छैन उनले भने । अहिलेबाट नै मधेशमा पानीको अभाव हुन थालिसक्यो । अझ भविष्यमा यो भन्दा विकराल समय आउँछ । यो कुरालाई दृष्टिगत गरी एमालेले पहिले नै सरकारमा हुँदा ‘सुनकोशी मरिन डाइभर्सन आयोजना’ अगाडी बढाएर काम थालेको थियो । एमालेले सुरु गरिदिएको राम्रा काममा समेत सरकार ध्यान दिंदैन उनले थपे । सरकारले आफै दीर्घकालिन योजना बनाएर काम गर्ने त टाढाको भयो । यो सरकारको उदासिनताले जनतामा राजनीतिक दलप्रति नै गलत सन्देश प्रवाह भइरहेको छ । धेरै दल हुँदा जनमत विभाजन भई जनताको काम गर्नेे दृढ इच्छाशक्ति भएको जनताले बढि रुचाएको एमाले समेत बाहिर हुँदा राजनीतिक स्थायित्व हुन सकेको छैन । ३४ बर्षको अन्तरालमा २८ वटा प्रधानमन्त्री बन्नु निकै दुःखद् कुरा भएको उनको भनाइ छ ।
आगामी दिनमा राष्ट्रलाई ठोस गति दिन सक्ने र जनताका काम गर्ने विस्वास भएको एमालेलाई नेपालको राजनीतिक स्थायित्वको लागि पनि जनताको साथ चाहिएको महासचिव पोख्रेलको भनाइ छ । थोरै सिटको कमीले सरकार बाहिर हुँदा जनता र देशले साह्रै दुःख पाएको उनले दावी गरे । मधेशको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्ग अढाइदशकबाट ओझेलमा पारिएको थियो । बनाउँछु भनी नबनाई अल्झाएर राखेको भारतसँग पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा आफै बनाउँछौं भनी निर्माण अगाडी बढाउँदा अहिलेको अवस्थामा पूर्ण सम्पन्नता नजिक पुगेको उनको दावी छ । सीमा र विकासका कुरा गठबन्धन सरकारबाट सम्भव नहुने पनि महासचिव पोख्रेलले दावी गरे ।
राष्ट्रिय राजमार्गका रुपमा भारतले सीमा नजिक ड्याम जस्तो संरचना बनाई निर्माण गरेको बाटोको कारण मधेशमा बर्षेनी डुवान हुने खतराबाट मुक्ति दिन यो सरकारले नसक्ने उनको तर्क छ । संचारकर्मीका जिज्ञासामा उनले यो कुरा प्रष्ट पारे । भारतमा पुगेका प्रधानमन्त्री प्रचण्डले इपीजीका सन्दर्भमा कुरा उठाउँदा सम्बन्ध विग्रन्छ भनी नेपालको कुरा नै राख्न नसकी फर्किएका छन् । यस्तो नेतृत्व रहुन्जेल नेपाल र नेपालीको भविष्य सुरक्षित र सुनिश्चित हुँदैन महासचिव पोख्रेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ