वेतुकको आरोप ः नगरप्रमुख
काबिल सम्वाददाता
वीरगन्ज
बारामा अवस्थित विश्वप्रशिद्ध गढिमाई मन्दिरको जग्गा अतिक्रमण गरी महागढीमाई नगरपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण भइरहेको आरोप लगाइएको छ । गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जैसवालले यो आरोप लगाएका हुन् ।
गढीमाई मन्दिरको कित्ता नम्बर ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रमण गरी त्यो वडाका वडाध्यक्ष मनोज गुप्ताले वडा कार्यालय निर्माण सुरु गरेको एक्लै वीरगन्जमा पुगी पर्सेली पत्रकार सामु जैसवालको दावी छ । हिन्दु धर्मावलम्वीहरुको आस्था माथि प्रहार गर्दै बाराको बरियारपुरका स्थानीय समेत रहेका वडाध्यक्ष गुप्ताले मन्दिरको जग्गा अतिक्रण गरी वडा कार्यालय बनाउन थालेको उनको आरोप छ । एक्लै वीरगन्ज पुगी जैसवालले पत्रकार सम्मेलन गर्दै निर्माण कार्य माथि समितिले आपत्ती प्रकट गरेको र अदालतमा काम रोक्न ‘स्टे अर्डर’ माग गरेको पनि खुलासा गरे । तर अदालतले के गर्छ ? सो भने मानेर जाने पनि उनले बताए । पञ्चबर्षीय मेलालाई नै प्रभावित पार्ने गरी यो भवन निर्माण भइरहेको उनको दावी छ ।
महागढिमाई नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष मनोज गुप्ताले भने गएको निर्वाचनमा जैसवाल आफूसँग पराजित भई सो प्रतिशोध साँध्न मात्र यो आरोप लगाएको दावी गरे । वडाले कुनै भवन बनाउने निर्णय नगरेको वडाध्यक्ष गुप्ताको भनाइ छ । नगरपालिकाको नगर सभा र बोर्डले गढीमाई मन्दिरको पनि रक्षा समेत हुने निष्कर्ष सहित स्थानीय समेतको स्वीकृतिमा सो ठाउँमा वडा कार्यालय बनाउने निर्णय गरी उपभोकता समिति मार्फत काम गराइरहेको उनको दावी छ । काम राम्रो गरे नगरेको भए नभएको वडाध्यक्षको नाताले निगरानी गरेको हो उनले भने । नगरपालिकाको बोर्ड सदस्य समेत रहेका जैसवाल उता त्यहिं भवन बनाउने भनी निर्णयमा हस्ताक्षर गर्ने अनि बाहिर आएर गलत प्रचार गर्ने दोहोरो चरित्र देखाइरहेको वडाध्यक्ष गुप्ताले तर्क गरे ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख (मेयर) उपेन्द्र यादवले पनि जैसवालले वेकामको आरोप लगाएको दावी गरे । गढिमाई मन्दिरको सो ठाउँमा नै आधारभूत विद्यालय र प्रा.वि. विद्यालय समेत गरी २ वटा विद्यालय रहेको र सर्वसाधारणले समेत त्यसको रक्षाको लागि समेत त्यहाँ वडा कार्यालय बनाउनु उपयुक्त हुने स्वीकृति दिएका छन् । अनि मन्दिर परिषरको सो जमिनमा वडा कार्यालय निर्माण सुरु गरिएको उनको भनाइ छ । आरोप लगाउने जैसवाल नगरपालिकाको बोर्डको सदस्य पनि भएको र उनलाई यो बिषय अहिले मात्र थाहा भएको होइन । उनका काकाको जग्गाको मुख छेकिने आशंकामा बल्ल विरोध सुरु गरेको मेयर यादवले तर्क गरे । जग्गाको मुख ‘रोख’ छेकिने भएपछि उनको यो वेतुकको आरोप हो’ उनले भने ।