काबिल सम्वाददाता
वीरगन्ज
मध्यतराईको धान उत्पादक जिल्ला मध्ये पर्सामा यो वर्ष धानको उत्पादनमा ठूलो गिरावट आएको छ । वर्षातको समयमा सुरुमा सुख्खायाम, गण्डक नहरमा भारतले समयमा नै पानी नछोड्नु, वेमौषमी बर्षात हुनु र उचित मल, बीउको कमीले पर्सामा धान उत्पादनमा गतवर्षभन्दा धान उत्पादनमा यो वर्ष ठूलो गिरावट आएको हो ।
पर्सामा धान उत्पादन हुने क्षेत्रफल भने गतवर्ष र यो वर्ष उति नै हो । अर्थात कुल ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा २०८२/०८३ मा वर्षेधान २४ हजार ९ सय ७९ मेट्रिक टन (मे ट) उत्पादन घटेको कृषि ज्ञान केन्द्रको तथ्याँकमा उल्लेख छ । यो भनेको गतबर्षको तुलनामा १२ दशमलब ६१ प्रतिशतले कमी भएको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताए । ‘पर्सा जिल्लामा गत बर्ष अर्थात २०८१/०८२ मा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब २ मे.ट.थियो, यो वर्ष अर्थात २०८२/०८३ मा प्रतिहेक्टर ३ दशमलब ६७ प्रतिशत मात्र धानको उत्पादकत्व भयो ’ उनले भने ।
कृषि प्रधान देशको प्रचुरधान उत्पादक जिल्ला पर्सामा २०८२/०८३ मा वर्षे धान कुल १ लाख ७२ हजार ९ सय ६७ मे.ट. मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र, पर्सा, वीरगन्जले जनाएको छ । जब कि गत बर्ष उति नै क्षेत्रफलमा उत्पादन भएको धान १ लाख ९७ हजार ९ सय ४६ मे.ट.रहेको थियो । यो भनेको कुल २४ हजार ९ सय ७९ मे.ट.ले कमी हो । तुलनात्मक रुपमा यो १२ दशमलब ६१ प्रतिशत कमी भएको तथ्याँकले पुष्टि गरेको छ ।
धान उत्पादक क्षेत्रको लगत बर्षौं एउटै
पर्सा जिल्लाको वर्षे धान उत्पादक भूमि २५ वर्ष अगाडी पनि कुल ४७ हजार १ सय ३० हेक्टर भनी साविकको जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउँथ्यो । लोकतन्त्र, गणतन्त्र र संघीय गणतन्त्र आइसकेपछि पनि धान उब्जाउ हुने भूमि उति नै उल्लेख हुने गरेको छ । बाक्लो शहरीकरण, सडक सञ्जालको प्रचुरता, आइसीपी, ड्राइपोर्ट जस्ता सयौं हेक्टर जमिनमा भौतिक पूर्वाधार निर्माण भइसक्दा पनि सरकारी तथ्याँकमा धान उत्पादन हुने क्षेत्रफल रुपान्तरण नभएको पाइएको छ ।
धान खेती हुने साविकका जग्गामा अहिले सडक सञ्जाल र भौतिक पूर्वाधानको विस्तारले पानी रिचार्ज हुने प्रणालीमा समेत अवरोध हुँदा तराईमा खाने पानीको अभाव पनि हुन थालेको एउटा कारण छ । राज्य पक्षले भने अझै तथ्यगत रुपमा मनन गर्न ढिलो भइरहेको पाइन्छ । यो कुरालाई कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी थापा भने पालिकाहरुले उपलब्ध गराएको तथ्याँक कै आधारमा ज्ञान केन्द्रले आँकडा निकाल्ने गरेको दावी गर्छन् । ‘हामीले वडा, वडामा गएर लगत लिन सक्ने जनशक्ति र बजेट नभएको कारणले धान उत्पादन हुने ठोस भूमिको वास्तविक तथ्याँक एकिन गर्न कठिनाई भएको उनको तर्क छ ।
सम्बन्धित पक्षबाट प्राप्त भएकै लगतलाई आधार मान्ने गरिएको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख रामजीवन ठाकुरले पनि बताए । विगतको तथ्याँकभन्दा परिमार्जित तथ्याँक २०७८ को राष्ट्रिय गणनाबाट आए अनुसार नै आफूहरुले उपलब्ध गराउने गरेको उनको भनाइ छ । खेती योग्य जनिम केही घटेको साँचो हो, मन्त्रालयले यो कुरालाई हृदयंगम गरी ठोस तथ्याँक संकलन गर्न थालेकोले केही समयपछि ठोस रुपमा पर्साको पनि धान खेती हुने जमिनको तथ्याँक पाउन सकिने उनले बताए ।
यता धान खेति कमी हुनुको प्रमुख कारण भने पर्सा, रौतहट लगायत तराईका केही जिल्लामा सुरुमा सुख्खा मौषम, पछि बेमौषमी वर्षा, त्यो पनि भेलबाडी आउने गरी हुँदा डुवानले यो वर्ष पर्सामा धान उत्पादनमा ह्रास आएको ज्ञान केन्द्रका प्रमुख ठाकुरले बताए । ढिलो गरी गण्डक नहरमा आएको पानी र आफूहरु लगायत जिम्मेवार केही संस्थाले वितरण गरेका बोरिङ्गहरुको कारण ढिलो वर्ष भएपछि धान खेती चाही पर्सामा ९८ प्रतिशत जति नै भएको उनको भनाइ छ । विगतमा भएजति नै रोपाई भए पनि उत्पादनको ह्रासले धानउत्पादक जिल्ला समेत आत्मनिर्भर हुन नसक्ने भएकोमा बुद्धिजिबीहरुको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्

