काबिल सम्वाददाता
वीरगन्ज
खुट्टा नजोडिने गरी आफ्नै श्रीमतीको बाँया खुट्टा काटेर फरार श्रीमान् (विश्वनाथ सहनी) १४ दिनपछि पक्राउ परेका छन् । क्रुरढंगले अपराधकर्म गरी उत्तर जंगलतर्फ फरार भएका ३० वर्षीय सहनी अन्ततः १४ दिनपछि प्रहरीको फन्दामा परेका छन् ।
आफ्नै घरमा २५ वर्षीय श्रीमती हरिकला देवी सहनीलाई ससुरासँग विदेश जाने पैसा माग भनी पटक पटक कर गर्दै पर्साको पर्सागढी नगरपालिका वडा नं.३ विरुवा टोलका सहनीले घरायसी विवादका कारण योजनाबद्ध तरिकाले क्रुर व्यवहार देखाई धारिलो हतियार (दाउ) ले श्रीमती हरिकलाको वाँया खुट्टा काटी गम्भिर घाइते बनाएर फरार थिए । ओच्छयानमा रगताम्य अवस्थामा रहेकी हरिकलालाई तत्काल पर्सा प्रहरी मातहतको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट पुगेको प्रहरी टोली र स्थानीयले उपचारको लागि एल.एस.न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा.लि.वीरगन्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धान र वारदात पश्चात फरार विश्वनाथ भन्ने विश्वनाथ सहनीलाई स्थानीय बड्नीहार प्रहरी चौकी र पर्सा प्रहरीको बिशेष टोलीले शनिबार १२ः३० बजे नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले बताए ।
उनी पर्सागढी नगरपालिका वडा नं.३ बिरुवा टोलबाटै लुकीछिपी बस्दै आएको समयमा बिशेष निगरानीमा रहेको प्रहरीले चैत १४ गते शनिबार नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तलाई ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए । अपराधकर्म गरी भागेर जोगिन्छु भनी जो कसैले सोचेको छ भने त्यो एकदुई दिन त जोगिएला । तर त्यसको जोगिने दिन लामो हुँदैन । अन्ततः केही दिनमा भित्रै कानूनी फन्दामा पर्छ । यसमा पर्सा प्रहरी सकृय छ उनले भने ।

