काबिल सम्वाददाता
वीरगन्ज
पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुन्धानको न्यायिक सिद्धान्त विपरित एमाले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक पक्राउको पर्सा एमाले पनि विरोधमा उत्रिएको छ । एमाले पर्साले आईतबार प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
गौरीबहादुर कार्की आयोगमाथि सर्वोच्च अदालतले समेत प्रश्न उठाएको थियो । यही आयोगको अधुरो प्रतिवेदनलाई टेकेर पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नु न्यायिक सिद्धान्त विपरित र भत्र्सनायुक्त कदम भएको एमाले पर्साको विज्ञप्तीमा भनिएको छ । प्रतिशोधपूर्ण न्यायिक विधि विपरित उठाएको कदमको एमाले पर्साले कडा शब्दमा निन्दा गर्दै तुरुन्त उहाँहरुको रिहाइको माग गरिएको एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माले बताए । विधिसंगत हिड्ने एमालेलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले न्यायिक सिद्धान्त विपरित कदम नउठाउन वर्तमान सरकारलाई उनले कडा चेतावनी पनि दिए ।
एमाले पार्टीको शनिवार बसेको सचिवालय बैठकको ४ बुँदे निर्णय अनुसार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने सर्कुलर अनुसार एमाले पर्साले पनि विरोधको कदम उठाएको एमाले पर्साका सचिव महेश दासले बताए । हामीले छानविन नहोस्, दोशी उम्कियोस् भनेका छैनौं । तर बहालवाला न्यायधिशको नेतृत्वमा बनेको वैधानिक आयोगले दिएको पूर्ण प्रतिवेदनका आधारमा विधिसम्मत अनुसन्धानपछि दोशीलाई कार्वाही होस् भन्ने हाम्रो पार्टीको प्रष्ट भनाई भएको उनले विस्तृतमा बताए ।

एमालेको ज्ञापन पत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत हठात अध्यारोमा बर्तमान सरकारले चालेको कदम फिर्ता लिई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई सम्मानजनक ढंगले रिहाइको माग गर्दछौं भनिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग प्रति सुरुदेखि एमालेको असहमति र विमती थियो । परिणाम पनि उस्तै पूर्वाग्रही, अधुरो र विवादित प्रतिवेदन आयोगले ल्यायो । यो प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनाका सबै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने एमालेको प्रष्ट माग रहेको छ । एमालेको विरोध कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, जालिम मिया, प्रदेश उपाध्यक्ष बिचारी यादवलगायत जिल्लाका विभिन्न तह र तप्कामा आबद्ध नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले तुरुन्त केन्द्रमा यो पत्र पठाइदिने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

