spot_img

ताजा अपडेट

सहनीले काटिदिएको हरिकलाको खुट्टा जोडिएन

काबिल सम्वाददाता
वीरगन्ज
पर्साको पर्सागढी नगरपालिका वडा नं.–३ विरुवाटोलकी हरिकला सहनीको बाँया खुट्टा अन्ततः जोडिन नसकेको पाइएको छ । उनका श्रीमान् विश्वनाथ सहनीले अचानोमा राखेर खुर्पाले काटेको बाँया खुट्टा (पिडुलामुनी) को भाग अन्ततः पुनः साविक झैं सलग नहुने भएको हो ।
गएको चैत १ गते बिहान राती ओच्छ्यानमा नै हातमुख बाँधेर श्रीमान् सहनीले राक्षसी पारामा अचानोमा राखेर काटिदिएको हरिकलाको खुट्टा जोड्न नसकिएको वीरगन्जको एलएस न्यूरो हस्पिटलबाट खुलासा भएको छ । चैत ३ गते मंगलबार बिहानसम्म पनि हस्पिटलका चिकित्सकले निरन्तर गरेको प्रयास अन्ततः विफल भएपछि हरिकलाको खुट्टा शरीरबाट अलग गरिएको हस्पिटल श्रोतले जनाएको छ ।
३० वर्षीय विश्वनाथ सहनीले अचानोमा राखेर आफ्नै २५ वर्षीय श्रीमती हरिकला सहनीको काटिदिएको खुट्टा छालाले मात्र थामेको घटनास्थल पुगेका प्रत्यक्षदर्शीले जनाएका थिए । पर्साको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक समुन्नत अधिकारीले पनि अवस्था नाजुक नै रहेको बताएका थिए । अन्ततः उनको शरीरसँग खुट्टाको सम्बन्ध छुटेको एल.एस. न्यूरो हस्पिटलको प्रशासन विभागका विनोद पटेलले पुष्टि गरे ।
अभियुक्त सहनी अझै फरार
पीडक विश्वनाथ सहनी भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक हरि प्रसाद बस्नेतले बताए । श्रीमतीको विभत्स खुट्टा बनाएर नजिकको जंगल तर्फ लागेका सहनीको खोजतलास भइरहेको छ । घाइते हरिकलालाई भने सोही दिन वीरगन्जको एल.एस. न्यूरो हस्पिटलमा पु¥याएर उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । घाइतेको रेखदेख माइती पक्षबाटै भइरहेको खुलेको छ ।
श्रीमान सहनीको कचकचका कारण विगत ३ महिनादेखि माइततर्फ नै बस्दै आएकी हरिकलालाई आफै गएर सहनीले घर ल्याएको हरिकलाले अस्पतालको शैयाबाट विस्तारै खुलासा गरेकी थिइन् । उनलाई लिन आफै ससुराली पुगेका श्रीमान्सँगै घर फर्किएको २४ घण्टा वित्न नपाउँदै हरिकलाका लागि श्रीमान्को घर नै राक्षशको घर बनेको तीतो यथार्थ छ । मंगलबार अप्रेशनका गरिएपछि भने उनी अझै कोहीसँग बोल्न सक्ने अवस्थामा नरहेको अस्पतालले जनाएको छ ।
पीडक विश्वनाथ सहनीको भने प्रहरीले व्यापक खोजी गरिहेको छ । घटना घटाएर उत्तर तर्फको जंगलतर्फ फरार सहनी मकवानपुर र पश्चिम उत्तर चितवन तर्फ निस्कन सक्ने नाकाहरुमा प्रहरीले निगरानी बढाइरहेको खुलेको छ । पीडक सहनीको कर्तुतबारे घटना भएकै दिन प्रहरीमा उजुरी परिसकेको पर्सा प्रहरीले जनाएको छ ।
विदेश जान्छु भन्दै पैसा माग्न कचकच
‘विदेश जान्छु तेरो बुबासँग पैसा माग भन्दै सधै घरमा कचकच हुन्थ्यो’ । ‘घर झगडाले तीन महिना अगाडी माइत गएको थिए’ । ‘हिजो मात्र उहाँ माइत आएर मलाई ल्याउनु भएको थियो’ पीडित हरिकलाले होस्मा भएको समयमा अस्पतालको शैयाबाट बताएकी थिइन् । मेरा दुवै हात र मुख बाँधेर श्रीमानले घटना घटाएको पीडित हरिकलाको भनाइ छ । खुर्पा र अचानो पहिले नै ओच्छ्यानमा लगेर लुकाएर राख्नु भएको रहेछ, मैले थाहा पाइन । डेड बर्ष र ४ वर्षका दुई छोरालाई पनि श्रीमान्ले बहिनीको घरमा लगेर राखेर आउनु भयो । अनि दुईजना मात्र घरमा रहेको समयमा घटना घटाएको पीडितले खुलासा गरेकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ