spot_img

ताजा अपडेट

आमाको नामबाट पर्सामा ३३ जनाले लिए नागरिकता

काबिल सम्वाददाता
वीरगन्ज
जिल्ला प्रशासन कार्यालय पर्साले एक महिनामा आमाको नामबाट ३३ वटा नागरिकता जारी गरेको छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएलगत्तै जिल्ला प्रशासन कार्यालयले आमाको नामको आधारमा पनि नागरिकता जारी सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले ०८२ फागुन ५ गतेदेखि चैत ६ गतेसम्ममा  आमाको नामका आधारमा पनि ३३ नागरिकता वितरण गरेको पुष्टि गरेको छ । बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट पनि नागरिकता वितरण थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । नागरिकता ऐन चौथो संशोधन नियमावली २०८२ आएसँगै आमाको नामको आधारमा पनि उमेर पुगेका नागरिकलाई नागरिकता पाउने हकबाट बञ्चित नगरिएको उनको भनाइ छ ।
गएको फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट पनि नागरिकता दिन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिधकारी सुमन कार्कीले पनि बताए । नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड अनुसार उमेर पुगेका नागरिकलाई नागरिकता दिन थालेको उनको भनाइ छ । नागरिकता विहीन हुँदा आफ्नो अधिकारबाट वञ्चित महसुस गरिरहेका नागरिकहरुलाई यसले राहत मिलेको उनको तर्क छ । पर्सामा आमाको नागरिकता लिने मध्ये वीरगन्ज महानगरपालिका वडा नं.–११ का विजय कुमार साह र वीरगन्ज महानगरपालिका वडा नं.–१३ का जुबैर अन्सारी जस्तै अन्य ३१ जनाले नागरिकता लिएका छन् । नागरिकता नहुँदा विभिन्न काममा अवरोध भइरहेको समयमा आमाको नामबाट पनि नागरिकता पाएपछि हर्सित भएको उनीहरुले बताए ।
नागरिकता बनाउनका लागि निकै कठिन यात्रा पार गरेको उनीहरुको गुनासो छ । बल्ल आमाको नामको आधारमा नागरिकता पाएपछि पीडा मुक्त भइएको उनीहरुले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ