काबिल सम्वाददाता
वीरगन्ज
नयाँ आयामका रुपमा वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ‘लेक्चर थिएटर’ कार्यक्रम गरेको छ । नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी कलेज परिषरमा गरिएको स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी नेशनल मेडिकल कलेजले लेक्चर थिएटर–१ गरेको हो ।
शैक्षिक सत्र २०८२÷०८३ को एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी प्रथम वर्षका नवप्रवेशी विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । नयाँ शैक्षिक यात्राको सुरुवातसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना तथा पेशागत दायित्वबारे जानकारी दिने उद्देश्यले लेक्चर थिएटर कार्यक्रमको सुरुवात गरिएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताए । यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुहुने कलेज प्रशासनलाई उनले धन्यवाद दिदै नवप्रवेशी विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको शुभकामना पनि समेत दिए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक तथा कर्मचारीबीच परिचयात्मक वातावरण निकै रोचक रहेको थियो । नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथिका रुपमा रहेका थिए । बर्षौ स्वास्थ्य शिक्षा र बिरामीको सेवामा अनवरत प्रा.डा.अन्सारीले मानिसको अनुशासन, आचरण र संस्कार जन्मदै नसिकिने र हरेक चरण–चरणमा सिक्दै र प्रयोग गर्दै जानु पर्ने नवप्रवेशी विद्यार्थी सामु सुझाव दिए ।
देश विदेशबाट अध्ययनका लागि आएका नवप्रवेशी छात्रछात्राहरु माझ नेपालको राष्ट्रिय गान गुन्जायमान गरी कार्यक्रम औपचारिक सुरुवात पानस बत्ती प्रज्वलन गरी भयो । लगत्तै नवप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय दिएर कार्यक्रमलाई अझ रोचक बनाइएको थियो । कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई प्रा. डा. रवि शंकर गुप्ताले कलेजको संस्कार र नियमलगायत सकारात्मक पक्षमा शपथ ग्रहण पनि गराएका छन् ।

अस्पतालका निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठलगायत विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनामा अब्बल हुन स्वास्थ्य शिक्षा तर्फ लाग्ने हरेकले समर्पण अग्रसरता र प्रेरणालाई शिरोपर राख्न सुझाव दिए । गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वमा निरन्तर योगदान दिंदै आएको वीरगन्जको नेशनल मेडिकल कलेजलेले विद्यार्थीहरुको लागि नयाँ–नयाँ आयामहरु थप्दै आएको छ ।

