काबिल सम्वादाता
वीरगन्ज
फागुन २१ गते हुने भनिएको प्रतिनिध सभा सदस्य निर्वाचनको प्रचार प्रसार बन्द हुने अघिल्लो दिन बल्ल पर्साका पत्रकारहरुलाई निर्वाचन आचार संहिता र मतदाता शिक्षाको जिल्लागत अवस्थावारे आधिकारिक जानकारी गराइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साले आइतबार बल्ल आधिकारिक रुपमा यहाँका पत्रकारहरुलाई आचार संहिता र मतदाता शिक्षाको अवस्था बारे अवगत गराएको हो ।
फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन कार्यालय पर्साको समयसीमा रहेको खुलेको छ । आचार संहिता बारे पनि बल्ल केन्द्रित हुँदै जिल्ला निर्वाचन कार्यालय पर्साले पर्सेली पत्रकारहरुलाई निर्वाचन मतदाता शिक्षाको पनि जिल्लागत अवस्था जनाएको छ ।
पत्रकारहरुले निर्वाचन प्रचार प्रसारका समयमा कसरी आचार संहिता पालना गर्ने गराउने ? र समाचार सम्प्रेषण कसरी गर्ने ? भन्ने कुरा आधिकारिक रुपमा आइतबार मात्र अवगत गराइएको सहभागीहरुले व्यँगात्मक तरीकाले जनाए । पत्रकारलाई जानकारी दिन अलि छिटो भयो कि ? पत्रकार अनिल तिवारीले निर्वाचन कार्यालय तर्फ संकेत गर्दै व्यंग कसे । निर्वाचन आयोगले ढिलो स्वीकृति दिएकोले पर्साका पत्रकारहरुलाई महत्वपूर्ण जानकारी दिन ढिलो भएको निर्वाचन कार्यालय पर्साको प्रमुख अनामिका रौनियारले स्वीकारिन् ।
निर्वाचन आचार संहिता अनुसार के गर्न हुन्छ र हुँदैन ?
संचार प्रतिष्ठान वा पत्रकारले कुनै पनि राजनीतिक दल, उमेद्वार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन हुँदैन । कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म सम्प्रदाय, लिंग र क्षेत्रको सम्बन्धमा कुनै भेदभाव हुने गरी समाचार प्रकाशन प्रशारण गर्न नहुने र राजनीतिक दल, उमेद्वारको निर्वाचन प्रचार प्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रशारण या सम्प्रेषण गर्न नहुने निर्वाचन कार्यालय पर्साले आचार संहिताबारे जनाएको छ ।
मौन अधिमा झन पत्रकारले कुनै पनि उमेद्वार र राजनीतिक दलको पक्ष वा विपक्ष तथा समिक्षा लगायत कुनै प्रकारको समाचार, विज्ञापन सम्प्रेषण तथा प्रकाशन गर्न नहुने निर्वाचन आचार संहितामा उल्लेख भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि बताए । आचार संहिता कर्मचारी, पत्रकार, राजनीतिक दल तथा नेता कार्यकर्ता र नागरिकले समेत पालना गर्नुपर्ने उनको भनाइ छ । आचार संहितासँगै मतदाता शिक्षाको बारे सबैले राम्रो जानकारी लिएर बदर मत कम गर्नु सबैको दायित्व रहेको निर्वाचन कार्यालय पर्साका निर्वाचन फोकल पर्सन अरुण कुमार ठाकुरले पनि जनाए

