काबिल सम्वाददाता
वीरगन्ज
पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले सोमबार तीन बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । निर्णयको बुँदा नम्बर १ मा आईतबार वीरगन्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाश्रिघ सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले सहजीकरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ ।
बैठकले व्यक्तिगत घटना÷दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने÷दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउने भाषण प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय भएको पनि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । त्यसै गरी आगामी दिनमा, धार्मिक, सामाजिक सद्भाव कायम राख्न एवं बैठकमा उपस्थिति सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक एवं सम्पूर्ण जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने पनि तीन नम्बर बुँदामा बैठकले निर्णय गरेको उनको भनाइ छ । पर्साका प्रहरी प्रमुख एसपी नरेन्द्रराज सुवेदीले पनि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा विभिन्न पार्टीका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाको पनि उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहमति भएपछि वीरगन्जमा लगाइएको कफ्र्यु दिउसो ४.३० बजेबाट हटेको जनाइएको छ । तथापि निशेधाज्ञा भने बिहान ८ बजेसम्म जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ । घटना दुई युवाको झगडा र झडप पछि त्यो कारण फरक दुई समुदायसम्म बढेर गएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

