काबिल सम्वाददाता
काठमाण्डौ
काठमाण्डौको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले पार्टी नेतृत्वविरुद्ध प्रदर्शन गरेका छन् । महाधिवेशनको बन्द सत्र हल अगाडि महाधिवेशन प्रतिनिधिहरुले संस्थापन पक्षसँगको वार्ता र परिणाम प्रति आक्रोश व्यक्ति गर्दै पार्टी नेतृत्व विरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘त्रिपक्षीय वार्ता धोका हो’, ‘समझदारी मान्दैनौं’, ‘झुटो वार्ता मान्दैनौं’ र ‘नेतृत्व फेर्न निर्वाचन गर’ जस्ता नारासमेत लगाएका छन् । विशेष महाधिवेशन पुस २७ गतेदेखि भृकुटीमण्डपमा जारी छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित बिशेष महाधिवेशनमा संस्थापन पक्षको असहयोगका बाबजुद पनि बहुमत प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेतृत्व परिवर्तनसम्मको मिसनमा तेस्रो दिनसम्म आइपुग्दा महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको समयमा संस्थापन पक्षले पार्टी जोगाउन भन्दै वार्ताबाट निकास खोज्दै आएको समयमा महाधिवेशन प्रतिनिधिहरुले भने षडयन्त्रको तूरुप भएको दावी गरिरहेका छन् ।
प्रदर्शनकारी प्रतिनिधिहरूले हाल चलिरहेको त्रिपक्षीय वार्तालाई ‘धोका’ र ‘झुटो’को संज्ञा समेत दिएका छन् । पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन, शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भइरहेको खुलेको छ ।

