काबिल सम्वाददाता
वीरगन्ज
आपसी सद्भाव विग्रिने गरी फरक दुई समुदायका समर्थकको प्रदर्शन थालेपछि पुस २१ गते साँझ ६ बजेदेखि लगाइएको कफ्र्यू हटाइएको छ । दुवै पक्षका प्रदर्शनकारी प्रतिनिधिलगायत स्थानीय सुरक्षा समिति सहित सर्वदलीय र सर्वपक्षीय बैठकले विभिन्न ५ बुँदे सहमति गरेपछि स्थानीय प्रशासनले वीरगन्जमा लगाएको कफ्र्यू मंगलबार दिउसो ३.३० बजेबाट हटाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान ८ बजेदेखि सर्वदलीय सर्वपक्षिय बैठक बसेको थियो । मध्यान्ह साढे ३ बजे विभिन्न पाँच बुँदामा सहमति भएपछि मंगलबार साँझ ६ बजेसम्मका लागि लगाइएको कफ्र्यू अलि अगाडी नै हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

मधेश प्रदेशको धनुषास्थित धनुकमला नगरपालिका–६, सखुवा मरानको मुस्लिम टोलमा रहेको मस्जिदमा पुस १९ गते शनिबार अज्ञात समुहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको भन्दै सामाजिक सञ्जालमा आएको कुरालाई आधार बनाई वीरगन्जमा मुस्लिम समुदायका समर्थकले आईतबार बिहानैदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारी अझ उत्तेजक बन्न थालेपछि हिन्दु समुदायका पनि समर्थक त्यसको बिरोधमा यहाँ उत्रिएपछि आपसी सद्भाव विग्रिने खतरा बढेको थियो ।
हिन्दु र मुस्लिम समुदायका समर्थकले उत्तेजित प्रदर्शन गर्न थालेपछि सोमबार मध्यान्ह १ बजेबाट वीरगन्ज बजारका चार किल्ला तोकी ६ घण्टा निशेधाज्ञा र पछि साँझ ६ बजेबाट कफ्र्यू लगाइएको थियो । मंगलबार सर्वसाधारणको जनजीवनलाई दृष्टिगत गरी सहमति लगत्तै कफ्र्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सञ्जालले निम्त्यायो सकस
धनुषामा १९ गते शनिबार घटेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसको बाछिटोले मधेशको सूदूर पश्चिममा पर्ने जिल्ला पर्सालाई पनि छोएको थियो । दुवै पक्षका समर्थक प्रदर्शनमा उत्रिएपछि आपसी सद्भाव जोगाउन खटेको सुरक्षाकर्मी तर्फ वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी हवल्दार शशिकान्त चौधरी घाइते भएको थिए । संचारकर्मी तर्फ पनि भोजपुरी टाइम्सका पत्रकार श्रवन साहमाथि प्रदर्शनकारीहरुले मोवाइल खोस्ने र हातपात गर्ने गरेको प्रत्यक्षदर्शीले बताए । यो घटनाको नेपाल पत्रकार महासंघले निन्दा गर्दै विज्ञप्ती नै सार्वजनिक गरेको थियो । मंगलबारको सर्वपक्षीय बैठकले भने समस्याको किनारा लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
सर्वपक्षीय सर्वदलीय बैठकका निर्णयहरु ः


